काठमाडौं । गत अक्टोबर ७ मा चरमपन्थी समूह हमासले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेका नेपाली विद्यार्थी विपिन जोशी सम्पर्कविहीन नै रहेको र खोजी कार्य जारी रहेको इजरायलस्थित नेपाली दूतावासले जानकारी दिएको छ । दूतावासले सोमबार जारी गरेको विज्ञप्तिमा किबुज-अलमिममा बन्धक बनाएर गाजातर्फ लगेकाहरू मध्येमा नेपाली विद्यार्थी जोशी पनि रहेको इजरायल डिफेन्स फोर्स (आइडिएफ) का प्रवक्ताले जानकारी दिएको उल्लेख छ । ‘जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको, निज हालसम्म पनि सम्पर्कविहीन नै रहेको र खोजी कार्य जारी रहेको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’ दूतावासले भनेको छ ।
आइडिएफले अक्टोबर ७ मा हमासले अस्पताल लैजाँदै गरेका दुई व्यक्ति एक नेपाली र एक थाई नागरिक भएको समेत दाबी गरेको छ । तर, उक्त भिडियोको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन । आइडिएफका प्रवक्ता ड्यानियल हगारीले हमासद्वारा बन्धक बनाइएका सबैलाई सकुशल मुक्त गर्ने प्रयास भइरहेको जनाउनुभएको छ । सिसिटिभी फुटेजमा बन्धक बनाइएकालाई गाजाका अस्पतालमा राखिएको पनि पुष्टि भएको आइडिएफले जनाएको छ । इजरायली सेनाले घाइतेहरूलाई हमासले अस्पताल लैजाँदै गरेको फुटेजहरू सार्वजनिकसमेत गरेको छ । हमासले करिब २४० जनालाई बन्धक बनाएको इजरायली सरकारले बताएको छ ।
फरक-फरक सूचनाले परिवारजन अन्योलमा
प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा गरेको आक्रमणपछि बेपत्ता हुनुभएका विपिन जोशीबारे परराष्ट्र मन्त्रालय र इजरायलस्थित नेपाली राजदूतावासले प्रवाह गरेको फरक-फरक सूचनापछि उहाँको परिवारजन अन्योलमा परेको छ । यसअघि परराष्ट्र मन्त्री एनपी साउदका स्वकीय सचिव दीपक जोशीले इजरायलस्थित नेपाली दूतावासले उहाँ हमास समूहको नियन्त्रणमा सुरक्षित रहेको रिपोर्टिङ परराष्ट्र मन्त्रालयलाई गरेको बताउनुभएको थियो । परराष्ट्र मन्त्री एनपी साउदले आइतबार राति विपिनका परिवारलाई टेलिफोन सम्पर्क गर्दै विपिन इजरायलमा सुरक्षित रहेको खबर प्राप्त भएको बताउनुभएको थियो । तर, इजरायलस्थित नेपाली दूतावासले भने सोमबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै विपिनको अवस्था प्रष्ट हुन नसकेको उल्लेख गरेपछि उहाँको परिवार अलमलमा परेको छ । हमासको नियन्त्रणबाट छुटेर विपिन घर फर्किने विश्वास नटुटेको परिवारले जनाएको छ । बुवाआमा विपिन सकुशल घर फर्किने आशमा बाटो कुरेर बसिरहनुभएको छ ।
जोशीको सकुशल उद्धारको माग गर्दै केही दिन अगाडि उहाँका आमाबुबाले परराष्ट्रमन्त्री साउदसँग भेट गर्नुभएको थियो । मन्त्री साउदलाई गत शनिबार महेन्द्रनगरमा नगरमा भेटेर विपिनका बुबा महानन्द जोशी तथा आमा पद्मा जोशीले सो आग्रह गर्नुभएको हो । ‘चाँडोभन्दा चाँडो छोराको रिहाइका लागि नेपाल सरकारले पहल गरिदिनु प¥यो,’ मन्त्री साउदलाई विपिनका बुबाआमाले भन्नुभएको थियोे, ‘छोराको चिन्ताले हामीलाई दिनरात सताइरहेको छ, जसरी पनि सरकारले सकुशल ल्याइदिनु प¥यो ।’ विपिनका बुबाआमाले त्यसअघि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीमार्फत मन्त्री साउदलाई ज्ञापनपत्र पठाउनुभएको थियो । भेटमा मन्त्री साउदले विपिनको सकुशल रिहाइका लागि नेपाल सरकारले सक्दो पहल गरिरहेको जानकारी दिनुभएको थियो । ‘कूटनीतिक माध्यमबाट विपिनको सकुशल रिहाइका लागि पहल जारी राखेका छौँ, हामी पनि यो घटनाबाट चिन्तित छौँ,’ मन्त्री साउदको भनाइ थियो ।
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायमा अध्ययनरत जोशी ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ २७ गते इजरायल जानुभएको थियो । सुदूरपश्चिम विश्वविद्यालयबाट उहाँसहित ४९ विद्यार्थी त्यहाँ गएका थिए । गत असोज २० गते हमास समूहले इजरायलमाथि आक्रमण गर्दा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो । विपिनलाई भने हमासले कब्जामा लिएको थियो । कब्जामा लिएयता उहाँको कुनै खबर प्राप्त हुन सकेको छैन ।
गत अक्टोबर ७ मा हमासले इजरायली भूमिमा आक्रमण गरेयता इजरायलले निरन्तर गाजा क्षेत्रमा आक्रमण गर्दै आएको छ । हमासको आक्रमणमा करिब १२ सयको मृत्यु भएको इजरायलले जनाएको छ । त्यस्तै, इजरायलको आक्रमणमा परी १२ हजारभन्दा बढीको मृत्यु भएको बिबिसीले जनाएको छ । मारिनेमा चार हजार पाँच सयभन्दा बढी बालबालिका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच