काठमाडौं । आगामी ११ फागुनदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘गोर्खा वारियर’ अहिले चार भाषामा तयार भइरहेको छ । यो चलचित्रको नेपाली भर्सन तयार छ भने हिन्दी, अंग्रेजी र कोरियन भर्सन तयार गर्ने क्रम पनि अन्तिम चरणमा पुगेको निर्माणपक्षले जनाएको छ । चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, बिरूप घले, सारा राईलगायत कलाकारको मुख्य अभिनय छ ।
यसै क्रममा गोर्खा वारियरको हिन्दी संस्करणको स्वरांकन मुम्बईमा अन्तिम चरणमा पुगेको छ । यो चलचित्रको मुख्य नायक रितेस चाम्सको हिन्दी संस्करणको स्वरांकन भारतका चर्चित डविङ आर्टिष्ट सचिन गोलेले गरिरहनुभएको छ । सचिन ती कलाकार हुनुहुन्छ, जसले दक्षिण भारतीय फिल्म केजिएफका लागि अभिनेता यशको हिन्दी संस्करणको स्वरांकन गरिसक्नु भएको छ । केजिएफको च्याप्टर वान र टु हिन्दी संस्करणमा नायक यशको स्वरांकन सचिन गोलेले गरेका कारण हिन्दी संस्करणको स्वरांकन निकै प्रभावशाली बनेको थियो । तिनै कलाकारले यतिबेला अभिनेता रितेश चाम्सको हिन्दी भाषाको स्वरांकन गरेको यो चलचित्रका निर्देशक मिलन चाम्सले जानकारी दिनुभयो । यही चलचित्रबाट नायकको रूपमा रितेशले शीर्ष भूमिकामा डेब्यु गर्नुभएको हो ।
यो चलचित्रको हिन्दी संस्करणमा अरू कलाकारको स्वरांकन पनि डिज्नीलगायत विभिन्न हलिउड तथा दक्षिण भारतीय चलचित्रको स्वरांकन गर्ने भारतीय डविङ आर्टिष्टको स्वरमा डविङ गर्ने कार्य तीव्रगतिमा भइरहेको निर्देशक चाम्सले जानकारी गराउनुभयो । यो सिनेमाको हिन्दी भर्सनमा भारतीय गायक सानको स्वरमा गीतसमेत छ । यो चलचित्र लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो ।
हालैमात्र पहिलोपटक बेलायतमा ऐतिहासिक रेड कार्पेट प्रिमियर गरेपछि अन्तर्राष्ट्रिय जगत्मै चर्चा कमाएको छ । चलचित्र गोर्खा वारियरले ‘ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस’ (बाफ्टा) अवार्डका लागि हालै प्रारम्भिक चरणको सूचीमा प्रवेश पाएको छ । योसँगै गोर्खा वारियर अन्तर्राष्ट्रिय रूपमै लोकप्रिय हुँदैछ ।
यो चलचित्रको निर्मातामा सुमन राई, सुस्मिता वाइवा छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवं सहनिर्मातामा सुरेश राई रहनुभएको छ । चलचित्रमा निर्देशक मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, राजेन्द्र मोक्तानको रंग संयोजन छ ।
यो चलचित्रमा दोस्रो विश्व युद्धअन्तर्गत मलायाको युद्धमा गोर्खा सैनिकले वीरताका साथ लडेर हाँसिल गरेको सफलतासँगै उनीहरूको संघर्षको कथा समेटिएको छ । संसारमै शाहसिक भनेर चिनिने गोर्खाली योद्धाको संघर्षमा आधारित गोर्खा वारियरले उनीहरूको युद्धसँगै पारिवारिक कथालाई पर्दामार्फत विश्वका दर्शकमाझ पुर्याउने कथन निर्देशक मिलन चाम्सको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच