काठमाडौं । सत्ता गठबन्धनको प्रमुख घटक नेकपा एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुन अन्य राजनीतिक दलहरूलाई पनि आग्रह गरेको छ । शुक्रबार पार्टी मुख्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले नयाँ सत्ता समीकरणले मुलुक विद्यमान संकटलाई समाधान गर्न अनुकूलता प्रदान गरेको निष्कर्ष निकाल्दै त्यसलाई साथ र समर्थन गर्न अन्य राजनीतिक दलहरूलाई पनि आग्रह गरेको हो । बैठकपछि नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको पाँच राजनीतिक दलहरू सम्मिलित सरकारमा अन्य राजनीतिक दलहरूलाई साथ र समर्थन गर्नका लागि अनुरोध गर्ने निर्णय गरिएको जानकारी दिँदै भन्नुभयो, ‘नयाँ सहकार्य फलदायी बनाउनुपर्छ र देशको विकास, स्वाधीनता रक्षा र समृद्धिका लागि यसले अनुकूलता सिर्जना गरेको छ । प्रचण्ड नेतृत्वमा पाँच राजनीतिक दल (एमाले, माओवादी, रास्वपा, जसपा, एकीकृत समाजवादी) मा सामेल भएर सरकार निर्माणको प्रक्रियामा अघि बढेका छौँ । यो नयाँ प्रक्रियालाई साथ समर्थन गर्न अन्य राजनीति दललाई पनि अनुरोध गरेका छौँ ।’
सचिवालय बैठकले जनतामा रहेको निराशालाई आशामा बदल्ने, मुलुकको राष्ट्रिय हित र स्वाभिमानलाई उचो बनाउने, विकास र समृद्धिका कामहरूलाई तीव्रता दिने सन्दर्भमा नयाँ सहकार्य फलदायी बनाउनुपर्ने कुरामा पनि जोड दिएको महासचिव पोखरेलले जानकारी दिनुभयो । उहाँले मुलुकलाई सकारात्मक दिशामा अगाडि बढाउन, जनतामा आशा र विश्वास जगाउन, मुलुकको राजनीतिक स्थायित्व र विकासमा टेवा पु¥याउने हिसाबले सरकारलाई पार्टीको तर्फबाट सकारात्मक योगदान पुर्याउन पार्टीको तर्फबाट सक्दो योगदान गर्ने निर्णय पनि गरेको बताउनुभयो । त्यसैगरी, एमालेले आगामी वैशाख १० गते नेकपा स्थापना दिवस भव्य रूपमा मनाउन विशेष समारोह आयोजना गर्ने निर्णय पनि गरेको छ । एमालेको वार्षिक क्यालेण्डरमा नेकपा स्थापना दिवस विशेष समारोहबीच मनाउने तय गरिएको थियो । त्यसलाई सम्पन्न गर्ने विषयमा पनि विस्तृत छलफल गरिएको महासचिव पोखरेलले जानकारी दिनुभयो ।
जनतामा आशा फैलाउन अहिलेको सहकार्य फलदायी बनाउनुपर्ने
नेकपा एमालेले जनतामा रहेका निराशालाई आशामा बदल्नका लागि अहिले बनेको नयाँ सत्ता समीकरणलाई फलदायी बनाउनुपर्ने निष्कर्ष निकालेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको २९औँ सचिवालय बैठकले नयाँ सत्ता समीकरणलाई फलदायी बनाउनुपर्ने निष्कर्ष निकालेको पार्टी जानकारी दिँदै महासचिव शंकर पोखरेलले भन्नुभयो, ‘जनताको निराशालाई आशामा बदल्ने, विकास र समृद्धिका कामलाई तीव्रता दिने सन्दर्भमा नयाँ सहकार्य फलदायी बनाउनुपर्छ, यसले अनुकूलता सिर्जना गरेको छ भन्ने पार्टीको मान्यता रहेको छ । देशमा उत्पन्न निराशालाई चिर्ने र देशभित्रै केही हुनसक्छ भन्ने सकारात्मक भावना जगाउनेछ ।’
सचिवालय बैठकमा ओलीको ब्रिफिङ : ‘हाम्रै पहलमा नयाँ सरकार बनेको हो’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेकै पहलमा गत फागुन २१ गते नयाँ सत्ता समीकरण बनेकाले यसलाई जोगाउनुपर्ने बताउनुभएको छ । शुक्रबार बसेको पार्टी सचिवालयको बैठकमा नयाँ सत्ता गठबन्धनबारे ब्रिफिङ गर्दै अध्यक्ष ओलीले एमालेकै पहलकदमीमा यो गठबन्धन बनेकाले यसको विकल्पमा अन्य केही सोच्न नहुने बताउनुभएको हो । इमानदारीपूर्वक अहिलेको समीकरणमा सहभागी भएर काम गर्न नेताहरूलाई निर्देशन दिँदै ओलीले भन्नुभयो, ‘हाम्रो पहलकदमीमा यो समीकरण बनेको छ । यसलाई हामीले नै सफल बनाउनुपर्छ । आकस्मिक, गतिशील तरिकाले गठबन्धन बन्यो यो अहिलेका लागि राम्रो नै भयो । हाम्रै पहलमा बनेको समीकरणबाट केही नयाँ अनुभूति हुनेगरी काम गर्नु पर्नेछ । यसअघि सरकारमा हुनेले बिगारेका कामलाई पनि सुधारेर अघि बढ्नुपर्ने चुनौती हामीमाझ छ । हामी गठबन्धनप्रति इमानदार हुनुपर्छ, हामीले नै बनाएको गठबन्धनको भएकाले यसको विकल्पमा अर्को समीकरण खोज्दै हिँड्नुहुन्न ।’
स्थिरताका लागि एमाले-माओवादी गठबन्धन : उपाध्यक्ष थापा
नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले राजनीतिक स्थिरताका लागि एमाले–माओवादीलगायत दलको गठबन्धन बनेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले हालको गठबन्धनबाट राजनीतिक स्थायित्व कायम हुने दाबी गर्नुभयो । देशलाई आर्थिक संकटबाट मुक्त गराउने, सामाजिक अराजकता हटाउने र देशलाई समृद्धितर्फ उन्मुख गराउने नेकपा एमालेको योजना अब पूरा हुने उपाध्यक्ष थापाको जिकिर छ । यसअघिको कांग्रेस–माओवादी गठबन्धन सरकारका अर्थमन्त्री डा.प्रकाशशरण महतले देशमा थप आर्थिक संकट निम्त्याएकाले प्रधानमन्त्री प्रचण्डले गठबन्धन भत्काएर एमालेसँग सत्ता साझेदारी गरेको थापाको भनाइ छ । ढिलै भए पनि प्रधानमन्त्रीले एमालेसँगको गठबन्धनबाट देशमा समृद्धि हासिल गर्न सकिन्छ भन्ने बुझेको उहाँको जिकिर छ । कांग्रेसलाई पुँजीपतिको आरोप लगाउँदै थापाले गत वर्ष श्रमजीवीको गठबन्धन भत्काएको बताउँदै हाल पुरानै गठबन्धन बन्नु राजनीतिक रूपमा सफल भएको बताउनुभयो । अहिलेको वाम गठबन्धन भत्काउन विभिन्न प्रयास हुने भन्दै त्यसतर्फ सजग हुनुपर्ने उपाध्यक्ष थापाको भनाइ छ ।
महाधिवेशन प्रतिनिधि परिषद् बैठक आहृवान
एमालेले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाएको छ । शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाउने निर्णय गरेको हो । बैठकपछि एमाले महासचिव शंकर पोखरेलले वैशाख ८ र ९ गतेका लागि महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाएको जानकारी दिँदै भन्नुभयो, ‘महाधिवेशन प्रतिनिधि परिषद्को वैशाख ८ र ९ गते बैठक आयोजना गर्ने र वैशाख १० मा पार्टीको ७५ औँ स्थापना दिवसको विशेष समारोह आयोजना गर्ने निर्णय गरेका छौँ ।’
प्रचण्डले राजनीतिक अराजकता मच्चाएको अध्यक्ष केसीको टिप्पणी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री प्रचण्डले राजनीतिक अराजकता बढाएको आरोप लगाउनुभएको छ । अहिले पनि प्रतिगमनको खतरा कायमै हुँदा पनि प्रचण्डले सत्ता र शक्तिको लागि एमालेसँग काँध मिलाएको आरोप लगाउँदै केसीले भन्नुभयो, ‘प्रचण्डले सत्ता समीकरण फेर्नु राजनीतिक अराजकता हो । प्रतिगमनको खतरा त अहिले पनि छ नि । ओलीकै कारणले राप्रपाले अहिले १४ सिट ल्याएको हो नि । ०७४ सालमा त एउटा मात्रै सिट थियो । अहिले पनि प्रतिगमन हावी हुँदै छ । संविधान र व्यवस्थाको रक्षाको लागि अहिले पनि कांग्रेससहितको गठबन्धन आवश्यक थियो । तर, प्रचण्डलाई सत्ता र शक्तिबाहेक अरू केही नचाहिने । प्रचण्ड सत्ताकै लागि एक वर्षमा दुईपटक बालकोट दुईपटक बूढानीलकण्ठ पुगिसकेका छन् ।’ अध्यक्ष केसीले आफ्नो पार्टी अब प्रतिपक्षमा बस्ने जानकारी दिनुभयो ।
प्रचण्डले गैरराजनीतिक प्रवृत्ति देखाएको नेसपाको निष्कर्ष
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले प्रतिगमनविरोधी आन्दोलनको जगमा लोकतन्त्रको रक्षाका लागि बनेको गठबन्धन विघटन भएर नयाँ गठबन्धनसहित प्रचण्डको नेतृत्वमा पुनः नयाँ सरकार सकारात्मक रूपमा लिन नसक्ने बताएको छ । नेसपा केन्द्रीय कार्यालय प्रमुख रोशन पोखरेलले एक विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीले मुलुकमा राजनीतिक स्थिरतासहित सुशासन, दिगो विकास र समृद्धि खोजेको बताएका छन् । संसदीय राजनीतिको फोहोरी खेलमा लागेर कुर्सीको लागि राष्ट्र र जनताको हितलाई सौदाबाजी गर्ने, सरकारमा गएर राज्यको दोहन गर्ने, परिवारवाद, नातावाद, सत्ता लिप्सामा लाग्ने प्रवृत्तिले देशलाई राजनीतिक अस्थिरता, निराशा र पश्चगमनतर्फ धकेल्ने निश्चित भएको नेसपाले निष्कर्ष निकालेको छ । प्रचण्डले गैरराजनीतिक चरित्र देखाएको र जनताको हितलाई सौदाबाजी गर्ने काम भएकोले नेपाल समाजवादी पार्टी अलोकतान्त्रिक र गैरराजनीतिक प्रवृत्तिहरूको भण्डाफोर गर्दै वैकल्पिक राजनीतिक शक्ति निर्माणको दिशामा दृढतापूर्वक अगाडि बढ्ने विज्ञप्तिमा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच