बागलुङ । एक दशक अगाडिसम्म बागलुङको बरेङ गाउँपालिका–३ बाटाकाचौर साग्दीमा रहेको सत्यवती मन्दिर जीर्ण र अव्यवस्थित थियो । देशभरबाट भक्तजनहरु आउँदा पूजाआजा गर्नलाई सहज थिएन । भौतिक पूर्वधारका निर्माण भएका थिएनन् । पछिल्लो समय बरेङ गाउँपालिकाले लगानी गर्दै गएपछि व्यवस्थित बनेको छ । धार्मिक महत्व बोकेको यस मन्दिरमा परम्परादेखि नै पूजाआज गर्दै आएको पाइन्छ । यहाँ ठूलो स्वरले चिच्याएर वरसमेत माग्ने गरिन्छ । यसरी चिच्याएर वर माग्दा मनोकांक्षा पूरा हुनु जनविश्वा रहेको छ । वर्षौँ पहिलेदेखि यस मन्दिरमा भक्तजनको भिड लाग्ने गरे पनि पूर्वधार अभावमा पूजाआजा गर्न समस्था थियो ।
पाँच वर्ष यता बरेङ गाउँपालिकासँगै गण्डकी प्रदेश सरकारले पनि बजेट विनियोजन गरेर पूर्वधार निर्माणमा जोड दिएको छ । गाउँपालिकाले मन्दिर व्यवस्थापन, खानेपानी शौचालय, भक्तजन बस्ने भवन, फनपर्क निर्माण गरेको छ भने मन्दिरसम्म आउने सडकलाई पनि बाह्रै महिना संचालन हुने गरि व्यवस्थित बनाएको छ । मंसिरको दिवाली पूर्णिममा यस मन्दिरमा ठूलो मेला लाग्ने गर्छ भने हरेक महिना करिब दुई हजार धार्मिक पर्यटक यहाँ आउने गर्छन् । धार्मिक पर्यटकका लागि महत्वपूण तिर्थस्थल मानिने सत्यवतीमा भौतिक पूर्वाधार निर्माणका लागि गण्डकी प्रदेश पर्यटन मन्त्रलायले चालु आर्थिक वर्षमा १० लाख र बरेङ गाउँपालिकाले १३ लाख रुपैयाँ विनियोजन गरेका छन् ।
विनियोजित बजेटबाट पदमार्ग र मन्दिर परिसरमा भवन निर्माण गर्न थालिएको छ । दक्षिण बागलुङको मुख्य धार्मिक स्थल भएको हुँदा यहाँ हालसम्म पालिकाले एक करोड बढी लगानी गरि सकेको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । पहिले मन्दिर परिसर निकै साँघुरो हुँदा भक्ताजनले सास्ती खेप्नु परेको भन्दै अहिले चारै तिर फराकिलो र व्यवस्थित बनाएको उहाँको भनाइ छ । देशभरबाट भक्तजन आउने तर यहाँको सडक अव्यवस्थित हुँदा दुःख पाएको हुँदा अहिले सडकलाई कच्ची भए पनि बाह्रै महिना संचालन हुने बनाएको अध्यक्ष शर्माले बताउनुभयो ।
“यो मन्दिर यस क्षेत्रकै ऐतिहासिक धरोहर हो, पहिले सामान्य मन्दिर थियो, यद्यपी भक्तजनहरुको उपस्थिती भने निकै बाक्लो हुन्थ्यो, पछि हामीहरु निर्वाचित भएर आएपछि अघिल्लो कार्यकालदेखि निरन्तर लगानी गर्दै आएका छौँ, भक्तजनहरुलाई लक्षित गरि बस्ने भवन, खानेपानी, शौचालयको व्यवस्थापन गर्नुका साथै मन्दिरलाई केही व्यवस्थित ग¥यौँ” अध्यक्ष शर्माले भन्नुभयो – “सडकलाई पनि कच्ची भए पनि बाह्रै महिना चलाउने गरि निर्माण गरेका छौँ, मंसिरको दिवाली पूर्णिमामा देशभरबाट हजारौँ भक्तजन आउने गर्छन् भने महिनामा दुई हजार धार्मिक पर्यटक आएको पाइन्छ ।”
गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रकमबाट चालु आर्थिक वर्षमा मन्दिरदेखि मैदानसम्मको करिब ११२ मिटर पक्की पदमार्ग निर्माण गरेको पदमार्ग निर्माण समितिका अध्यक्ष होमबहादुर श्रीसले बताउनुभयो । उद्योग तथा पर्यटन कार्यालय बागलुङसँग सम्झौता गरेर मंसिर अन्तिम सातानै पदमार्ग निर्माण गरि सकेको उहाँको भनाइ छ । भौतिक संरचना थपिएपछि सत्यवती मन्दिरको मुहारनै फेरिएको श्रीसले बताउनुहुन्छ । मन्दिर व्यवस्थित भएपछि भक्तजन आगमनमा वृद्धि भएको उहाँको भनाइ छ ।
विषेशगरी गैडाकोट, पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, पाल्पा, बुटवल, म्याग्दी, काठमाण्डौ, धनकुटा, नेपालगञ्ज र बागलुङको विभिन्न स्थानहरु लगाएतका ठाउँहरुबाट तिर्थयात्रीहरु आउँने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो – “अहिले मन्दिरसँगै यो क्षेत्रमा धेरै सुधार आएको छ, पहिले मन्दिरमा पूजाआज गर्न आउने मान्छे साँघुरो ठाउँ हुँदा लड्ने, लामो लाइन बस्नु पर्ने बाध्यता थियो, तर अहिले ठाउँ फराकिलो बनेको छ, पहिलेको जस्तो लाइन बस्नु पनि पर्दैन, अहिले त साग्दी क्षेत्रनै पवित्र बनेको छ, बाहिरबाट आउने मान्छेहरुले गाउँको अवलोकन गर्ने गर्छन्, बाटोघाटो अप्ठ्यारो थियो, एक पटक आएको मान्छे अर्को पटक आउँदैनथे, अहिले त पटक–पटक आएर पूजाआज गर्ने गर्छन् ।”
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच