![‘मुच्र्छना’को विमर्श](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/Murchana-ko-bimarsha.jpg)
काठमाडौं । पूर्वसांसद देवशंकर पौडेलले संस्मरण संग्रह ‘लिखुसँग आत्मसमर्पण’ पाठकमाझ ल्याउनुभएको छ । नेपाल एक्सप्लोर्स मिडिया प्रालिले प्रकाशन गरेको यो कृति शुक्रबार काठमाडौंमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लोकार्पण गर्नुभएको हो । जसमा लेखकका गृहजिल्ला रामेछापसँग जोडिएका ११९ वटा आलेख संग्रहित छन् । प्रत्येक लेखका शीर्षक हेर्दा बित्तिकै पढ्न मन लागिहाल्ने पूर्वप्रधानमन्त्री नेपालले बताउनुभयो ।
नेपालले लेखक पौडेलको सामाजिक, राजनीतिक व्यक्तित्वको चर्चा गर्दै उनको सादगीपन, इमानदारी, सज्जनताबाट सबैले धेरै प्रेरणा प्राप्त गर्न सकिने बताउनुभयो । ‘उहाँले आफ्नो जन्मथलो रामेछाप, त्यहीं जीवन पनि बिताउनुभयो । राजनीतिक यात्रा पनि प्रारम्भ गर्नुभयो । थुप्रै–थुप्रै चुनौतीको सामना गर्नुभयो । आफ्ना प्रतिद्वन्द्वीहरूलाई पराजित गर्ने काम पनि गर्नुभयो । रामेछाप जिल्लामा एउटा बलियो खम्बाका रूपमा उहाँले आफ्नो व्यक्तित्वलाई स्थापित पनि गर्नुभयो’, उहाँले भन्नुभयो, ‘त्यसैले रामेछाप भन्नेबित्तिकै देवशंकर पौडेलको नाम ठ्याक्कै जोडिन्छ ।’
पत्रकार कपिल काफ्लेले पौडेलको लेखन वस्तुवादी रहेको टिप्पणी गर्नुभयो । कुनै पनि विषयको गहिराइसम्म पुगेर लेख्ने गरेको उहाँको भनाइ थियो । सञ्चारकर्मी आनन्दकुमार श्रेष्ठले छोटा-छोटा आलेख पढ्न चाखलाग्दो रहेको बताउनुभयो ।
पत्रकार सचित राईले आत्मसमर्पण भन्नाले पराजय भन्ने बुझाइ रहे पनि लेखकले भने विजय प्राप्त गरेको यथार्थ कृतिमा रहेको उल्लेख गर्नुभयो । ‘मलाई किताबको नामले नै लोभ्याइहाल्यो । उहाँ राजनीतिज्ञ भएको हुँदा पञ्चायतविरुद्धको आन्दोलन या सशस्त्र द्वन्द्वकालको मुठभेडको घटना होला भन्ने लागेको थियो’, उहाँले भन्नुभयो, ‘तर, लिखु नदी पौडिएर तर्दा आत्मसमर्पण गर्नुपरेको क्षणको संस्मरण रहेछ । उहाँले त्यति बेला आत्मसमर्पण गर्दा पुनर्जीवन पाउनुभएको रहेछ ।’
पौडेलले कोरोनाको बेला घरमा थुनिँदा यो किताब तयार गरेको सुनाउनुभयो । ‘हाम्रा कुरा मामुली हुन् । यहाँ धेरै गतिला कुरा छैनन् । मामुली कुरा छन् । त्यही मामुली कुरा नै मैले लेख्या हुँ । तर, हाम्रा चिज पनि इतिहास हुन्’, एकीकृत समाजवादीका नेतासमेत रहेका पौडेलले भन्नुभयो, ‘हामीले राणाको इतिहास दरै भन्छौं । अनि आफ्नो बाउ, हजुरबाउ कसैको नाउचाहिँ जान्दैनौं । मल्लको खुरुखुरु गर्छाैं । आफ्नै बाउको जान्दैनौं । मल्लको नाम लेख्ने हो भने नम्बर आयो । हाम्रो बाउको लेख्यौं भने नम्बर आएन । नम्बर आउने पढ्ने हुँदा हामीले हाम्रो बाउ बिस्र्यौं । नम्बर आउने खोज्ने हुँदा हामीले हाम्रै इतिहास भुल्यौं । त्यसकारण यहाँबाट थालनी गर्या हो ।’
नेपाल एक्सप्लोर्स मिडियाका सञ्चालक श्रीहरि श्रेष्ठले पौडेलका अरू पनि कृति प्रकाशनको तयारीमा रहेको बताए । यही कम्पनीले अघिल्लो कृति ‘थातथलाका कथाहरू’ प्रकाशन गरेको थियो । लेखकको अर्को किताब ‘स्थान नामकोश’ प्रकाशित छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच