आफूलाई मधेसी मसिहा ठान्दै आएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, आफ्नो राजनीतिक जीवनको सर्वाधिक कठिन एवं चुनौतीपूर्ण परिस्थितिको सामना गरिरहेका छन् । वामपन्थी पृष्ठभूमिका उपेन्द्र यादवलाई नेपालका वामपन्थी नेताहरू माथि नै बढी विश्वास रहिआएको छ । विगत १६ वर्षमा उनको पार्टी नेकपा माओवादी केन्द्र र नेकपा एमालेका नेताकै नेतृत्वमा बनेका सरकारहरूमा नै बढी सहभागी रहिआएको छ । मधेसी दलहरू, नेपाली कांग्रेस र वामपन्थी दलहरूमध्ये उनले बढी पत्याएका राजनीतिक संगठन नेपालका वामपन्थी दलहरू नै हुन् ।
नेकपा माओवादी केन्द्र र नेकपा एमाले सम्मिलित सरकारमा सहभागी हुँदा उनी एक दर्जन सांसद लिएर प्रवेश गरेका थिए तर फर्किने बेला झण्डै दुई तिहाइ सांसद गुमाएर फर्किएका छन् । मधेसी दलहरू लोसपा र जनमतको विश्वास त जसपा नेपालले गुमाई नै सकेको छ । नेपाली कांग्रेस पनि यसमाथि पत्यार गर्न तयार छैन । जसपा नेपालको कुनै ठूला दलसित गठबन्धन भएन भने विसं २०८४ सालको आमनिर्वाचनमा पार्टीलाई एक सिट जित्न पनि गाह्रो हुनेछ । विगतमा पार्टीमा पटक पटक विभाजन आए पनि आयातित नेताहरूले नै पार्टी फुटाएका कारण विभाजनको असर कार्यकर्ता पंक्तिमा देखिएको थिएन तर यस पटकको विभाजनले सम्भवतः पार्टीका सबैभन्दा बलियो जनाधार भूमि पर्सा, वीरगञ्ज र नेपालगञ्जबाट उपेन्द्र यादवलाई रित्तो हात बस्न बाध्य पारेको छ ।
वामपन्थी पृष्ठभूमिका उपेन्द्र यादवले लोकतान्त्रिक पृष्ठभूमिका विजयकुमार गच्छेदार, जयप्रकाश गुप्ता र शरदसिंह भण्डारीहरूलाई पार्टीमा ल्याउन त ल्याए तर नियन्त्रणमा राख्न सकेनन् । स्वयं उपेन्द्र यादवको वामपन्थी दलप्रतिको अत्यधिक आशक्तिले नै उनलाई लोकतन्त्रवादीहरूसित टाढा पारेको थियो ।
पर्साको प्रभाव बारा र रौतहटमा पनि पर्ने निश्चित छ । सप्तरी र सिरहामा पनि पार्टीले ठूलो क्षति व्यहोर्नुपर्नेछ । कोशी प्रदेशबाट झण्डै सफाया भई नै सकेको छ । उपेन्द्र यादवको राजनीति ओरालो लाग्दैछ, भन्दा अतिशयोक्ति नहोला । उपेन्द्र यादवको नेतृत्वको पार्टीमात्रै होइन अन्य मधेसी दलहरूको अवस्था पनि दयनीय नै छ । विसं २०७९ सालको आमनिर्वाचनमा देशको छैटौं दलको रूपमा उदाएको जसपा नेपाल अब नवौंं स्थानमा पुगेको छ । विसं २०६४ सालको संविधानसभाको निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपालले मधेस आन्दोलनको प्रभावका कारण तराई मधेसमा राम्रो प्रदर्शन गरेको थियो । पूर्व मोरङदेखि लिएर पश्चिम कैलालीसम्म यसका उम्मेदवारहरू विजयी भएका थिए । पार्टीले ६.३२ प्रतिशत मतसहित ५२ सिट जितेको थियो ।
यो प्रदर्शन अप्रत्याशित र अनपेक्षित पनि थियो तर पार्टीले यस जनाधारलाई जोगाउन सकेन । वामपन्थी पृष्ठभूमिका उपेन्द्र यादवले लोकतान्त्रिक पृष्ठभूमिका विजयकुमार गच्छेदार, जयप्रकाश गुप्ता र शरदसिंह भण्डारीलाई पार्टीमा ल्याउन त ल्याए तर नियन्त्रणमा राख्न सकेनन् । स्वयं उपेन्द्र यादवको वामपन्थी दलप्रतिको अत्यधिक आशक्तिले नै उनलाई लोकतन्त्रवादीहरूसित टाढा पारेको थियो । २०६५ सालमा उनको पार्टीले प्रचण्ड सरकारमा सहभागिता जनाएपछि पार्टीभित्र असन्तुष्टि बढ्न थाल्यो । तात्कालीन प्रधानसेनापति रुक्मांगत कटुवालको ठाउँमा नयाँ प्रधानसेनाप्रति नियुक्त गर्ने तत्कालीन प्रधानमन्त्री प्रचण्डको निर्णयमा उनले सहमति जनाएपछि पार्टीका लोकतान्त्रिक पृष्ठभूमिका नेताहरूले विजयकुमार गच्छदारको नेतृत्वमा मधेसी जनअधिकार फोरममा विभाजन ल्याई नयाँ दल मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) को गठन गरे ।
पार्टीमा आएको त्यस विभाजनबाट पनि उपेन्द्र यादवको कार्यशैलीमा परिवर्तन आएन र उनी नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल नेतृत्वको गठबन्धनको सरकारमा सहभागी भएका थिए । उनको यो निर्णय पनि कतिपयलाई मन परेन र पार्टीका वरिष्ठ नेता जयप्रकाश गुप्ताको नेतृत्वमा राजकिशोर यादवहरूले मिलेर पार्टीमा अर्को विभाजन ल्याए । मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) नामक नयाँ दल अस्तित्वमा आयो । जयप्रकाश गुप्ताले नेतृत्वमा पार्टीको गठन त भयो तर भ्रष्टाचारको आरोपमा जयप्रकाश गुप्ता जेल गएपछि राजकिशोर यादवले उनलाई अध्यक्ष पदबाट हटाई आफैं पार्टी अध्यक्ष बने ।
केही समयपछि पार्टीका लोकतान्त्रिक पृष्ठभूमिका वरिष्ठ नेता शरतसिंह भण्डारीले पनि पार्टीमा विभाजन ल्याई राष्ट्रिय मधेस समाजवादी पार्टीको गठन गरे । यसरी पाँच वर्षको अवधिमा पार्टीमा पाँच पटक विभाजनको अवस्था पनि आयो । उपेन्द्र यादवले विभाजनको दुःखद् अवस्थाका कारण कमजोर मानसिकताका साथ २०७० को संविधानसभा चुनावमा गएका थिए । उनको पार्टीले त्यस पटक २.६६ प्रतिशत मतसहित जाबो १० सिटमात्र जित्न सक्यो । मोरङबाट उनी स्वयं पराजित पनि भएका थिए । त्यस चुनावमा पार्टीले विगतको चुनावको तुलनामा ४.०४ प्रतिशत मत र ४२ स्थान गुमाउनु परेको थियो ।
मधेसी दलहरूमा जनमत र जसपा नेपालबीचको द्वन्द्व जगजाहेर छ । उपेन्द्र यादवमाथि विश्वास गर्न महन्त ठाकुर, राजेन्द्र महतो र अन्य मधेसी नेताहरू पनि तयार छैनन् । यस्तो अवस्थामा उपेन्द्र यादवको विश्वसनीयतामाथि पनि प्रश्न चिहृन उठ्नेछ ।
विभिन्न टुक्रामा विभाजित भएर चुनाव लड्दाको दुःखद् परिणाम हेरिसकेका उपेन्द्र यादव वि.सं. २०७४ सालको आमनिर्वाचनमा ६ जना अध्यक्ष रहेका राष्ट्रिय जनता पार्टीसित चुनावी गठबन्धन गरे । यस चुनावमा पार्टीले ४.९३ प्रतिशत मत र १६ सिट जित्न सफल भएको थियो । तर, विसं २०७९ को आमनिर्वाचनमा पार्टीले मधेसी दलहरूसित गठबन्धन नगरी नेकपा एमालेसित गठबन्धन ग¥यो । पार्टीले ३.९९ प्रतिशत मतसहित १२ सिट जित्न सफल भएको थियो । विसं २०७४ सालको आमनिर्वाचनमा भन्दा झण्डै यो एक प्रतिशत कम मत थियो । अब पुनः पार्टीमा विभाजन आएको छ र पार्टीका झण्डै दुई तिहाई सांसदहरूले पार्टी परित्याग गरी अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टीको गठन गरेका छन् । यस विभाजनले उपेन्द्र यादवलाई ठूलो क्षति पुर्याउनेछ ।
विगतका विभाजनहरूको तुलनामा यो विभाजन बढी हानीकारक सावित हुनेछ किनभने उपेन्द्र यादवले पहाडका जनजातिहरूको आन्दोलनलाई पहिचानको पक्षमा बाताउँदै उनीहरूप्रति ऐक्यबद्धता जनाउँदै आएका थिए । अशोक राई र राजेन्द्र श्रेष्ठको नेतृत्वमा नेकपमा एमालेबाट छुट्टिएर आएकाहरूलाई उनले आफ्नो संगठनमा उच्च स्थान र महत्व पनि दिएका थिए । अशोक राई संघीय समाजवादी फोरममा आउँदा त केवल पहाडका जनजाति नेताहरूलाई लिएरमात्रै आएका थिए तर पार्टीमा विभाजन ल्याई नयाँ दलको गठन गर्दा पार्टीका तराई–मधेसका जनाधारवाला केही नेताहरूलाई समेत आफूसँग लिएर निस्केका छन् ।
यस विभाजनको मधेस प्रदेशको पर्सा वीरगञ्जमा पार्टीलाई ठूलो क्षति पुग्नेछ किनभने पार्टी परित्याग गर्ने स्थानीय सांसद र वीरगञ्जका मेयरको लोकप्रियता त्यहाँका अन्य दलका नेताहरूको भन्दा बढी छ । वीरगञ्जका सांसदले लगातार दुई पटक चुनावमात्रै जितेका छैनन् अपितु वीरगञ्ज महानगरपालिकामा पार्टीको वर्चस्व कायम गर्नमा पनि उनले ठूलो भूमिकाको निर्वाह गरेका छन् । विभाजित अवस्थामा चुनाव लड्दा आउँदो चुनावमा जसपा र जसपा नेपाल दुवैलाई पर्सामा ठूलो क्षति हुन सक्दछ । भविष्यमा जसपा र जसपा नेपाल दुवैले आफ्नो क्षमतामा एक्लै चुनाव लड्ने साहस गर्न सक्ने छैनन् । उपरोक्त दुवै दल कुनै ठूलो दलमा आफूलाई विलय गराउने अथवा मोर्चा बनाएर चुनाव लड्ने निश्चित छ ।
यस विभाजनको असर बारा, सिरहा, सप्तरीलगायत ठाउँमा पर्ने निश्चित छ जहाँबाट निरन्तर रूपमा जसपा नेपाललाई बलियो समर्थन प्राप्त हुँदै आएको थियो । पार्टी विभाजनका कारण पार्टीका कतिपय नेताहरू आगामी दिनमा अन्य ठूला दलहरूमा अथवा कुनै मधेसी दलमा पलायन हुने सम्भावनालाई पनि अस्वीकार गर्न सकिँदैन । जसपा नेपाललाई विगत १५-१६ वर्षदेखि नेपालगञ्जले पनि समर्थन गर्दै आएको थियो तर पार्टीका एक वरिष्ठ नेता पार्टी परित्याग गरी नयाँ दलमा सामेल भएपछि जसपा नेपालले पश्चिममा पनि ठूलो क्षति व्यहोर्ने निश्चित छ । कोशी प्रदेश लगायत देशभरिका जनजातिहरूले क्रमशः जसपा नेपालबाट टाढिँदै जाने निश्चित छ ।
मधेसी दलहरूमा जनमत र जसपा नेपालबीचको द्वन्द्व जगजाहेर छ । उपेन्द्र यादवमाथि विश्वास गर्न महन्त ठाकुर, राजेन्द्र महतो र अन्य मधेसी नेताहरू तयार छैनन् । यस्तो अवस्थामा उपेन्द्र यादवको विश्वसनीयतामाथि पनि प्रश्न चिहृन उठ्नेछ । कोशी प्रदेश र लुम्बिनी प्रदेश मात्रै होइन मधेस प्रदेशको सरकारमा पनि जसपा नेपालको सहभागिता र नेतृत्व आशंकाको घेरामा आएको छ । यो विभाजनले उपेन्द्र यादवको राजनीतिक यात्रालाई ओरालोतिर लाने निश्चित छ । विसं २०६३ सालको मधेस आन्दोलनका उनी एकमात्र नायक थिए तर आफ्नो त्यस छविलाई कायम राख्न सकेनन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच