एमाले कैलालीका अध्यक्ष थापा निष्काशित

हिमालय टाइम्स
Read Time = 4 mins

-गोविन्द बीसी

टीकापुर । नेकपा एमाले कैलाली जिल्ला कमिटी अध्यक्ष रतन थापा पार्टीबाट निष्कासित हुनुभएको छ । एमाले सुदूरपश्चिम प्रदेश कमिटीको सोमबार बसेको बैठकले थापालाई अध्यक्षको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो ।

थापालाई जिल्ला सचिवालयको निर्णय, जिल्ला इन्चार्ज नारदमुनि रानाको सिफारिसअनुसार एमाले सुदूरपश्चिम कमिटीले पार्टीबाट निष्काशित गरेको बताइएको छ ।

स्थानीय तहको निर्वाचनमा पार्टीभित्र अन्तर्घात गरेको अध्यक्ष थापामाथि आरोप लगाइएको थियो । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा थापाले पार्टीकै उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै यसअघि स्पष्टीकरण सोधिएको थियो ।

एमाले कैलालीका इन्चार्ज नारदमुनि रानाले सोधेको २३ बुँदे स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नआएपछि अध्यक्ष  थापालाई निष्काशित गरिएको हो । पार्टीको हित, सिद्धान्त र नीति विपरित कार्य गरेको भन्दै उहाँलाई जिम्मेवारीबाट हटाइएको बताइएको छ । थापाले एमालेको विधानको धारा ८० अन्तर्गत उपधारा १, २, ३, ४, ५, ६ र १२ उलंघन गरेको ठहर प्रदेश कमिटीले गरेको छ ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव धर्मराज पाठककाअनुसार थापालाई जिल्ला सचिवालयको निर्णय, जिल्ला इन्चार्ज रानाको सिफारिस तथा केन्द्रीय सदस्यहरूको रायका आधारमा अध्यक्ष पदबाट निष्काशित गर्ने निर्णय गरिएको छ ।

उहाँले साउन १५ गतेभित्र जिल्ला अधिवेशन प्रतिनिधि परिषदको बैठक आयोजना गरेर जिल्ला अध्यक्ष चयन गर्न जिल्ला कमिटीलाई निर्देशन पनि दिइएको समेत बताउनुभयो ।

थापालाई निष्काशित गरिएपछि जिल्ला उपाध्यक्ष दुर्गा जोशीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णयसमेत गरिएको छ ।

थापाले लम्की चुहा नगरपालिकाको प्रमुख पदका उम्मेदवार महादेव बजगाईं र उपप्रमुख पदका उम्मेदवार जुना चौधरीसहित वडाअध्यक्षलाई हराउने योजना बनाई अन्तर्घात गरेको आरोप लगाइएको छ ।

दैनिक रुपमा पार्टी सञ्चालन नगरेको, अध्यक्ष ओलीलाई ‘अपुतो’जस्तो तुच्छ शब्द बोलेको, जिल्ला निर्वाचन मूल परिचालन समितिको एउटा पनि बैठक नगरेको, स्थानीय तहको निर्वाचन लक्षित कुनैपनि योजना र चुनावी अभियान नबनाएको, पार्टीविरुद्ध कुप्रचार गरेको, पार्टीकै तर्फबाटका उम्मेदवारलाई हराउँछु भन्दै अभिव्यक्ति दिएको लगायत आरोप लगाइएको थियो ।

नेकपा एमालेको गत पुस २७ मा सम्पन्न आठौँ अधिवेशनबाट थापा कैलाली जिल्ला अध्यक्षका निर्वाचित भएका थिए । प्रतिस्पर्धीलाई ४ मतले हराउँदै अध्यक्षमा थापा विजयी भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?