भदौरे झरी राहत भन्दा आहत

Read Time = 10 mins

-विवेक खड्का
दाङ । गएको शुक्रबार परेको वर्षातले धेरै किसानलाई राहत दिएको छ । मानो रोपेर मुरी फलाउने समयमा खडेरी परेपछि धान खेती पर्याप्त मात्रामा गर्न नपाएका किसानलाई शुक्रबार भारी वर्षा भएपछि राहत भएको हो ।

लामो समयसम्म खडेरी परेका अधिकांश ठाउँमा धानखेती सुक्न थालेको थियो तर शुक्रबार परेको वर्षाले धान खेतीलाई सिचाइँ सुविधा पुगेको तुलसीपुर–७ का बिमला परियारले बताउनुभयो । ‘धेरै ठाउँमा रोप्न नपाए पनि थोरै ठाउँमा रोपेको धान पनि सुक्न थालेको थियो तर शुक्रबार भारी वर्षात भएपछि धानखेतीमा सिचाइँ पुगेको छ’ उहाँले भन्नुभयो–‘अब त बाँचिन्छ कि भन्ने आशा पनि पलायो यस्तै अनुभूति भएको छ ।’
यसवर्ष भदौको दोस्रो साता लागिसक्दा पनि पर्याप्त वर्षात नहुँदा अधिकांश किसान धान बाली राम्रो नहुने चिन्तामा थिए । धानखेती सुक्ने अवस्थामा पुगेको बेला भदौरे झरी लागेपछि किसानले राहतको महसुस गरेका हुन् । मल अभावमा धानखेती गरेका किसान पानी पनि नपरेपछि अधिकांश किसान धान उत्पादन घट्ने चिन्तामा थिए । तर शुक्रबार परेको ठूलो वर्षातले धान उत्पादन बढ्ने आशा पलाएको तुलसीपुर–११ मोतिपुरका किसान जागुराम चौधरीले बताउनुभयो ।

‘साउन सकिदा पनि पानी परेन्, भदौ पनि लाग्यो अझै पानी परेन्, खेतमा धान सुक्न थालेको थियो, अब त यसवर्ष धान खेतीको उत्पादन पनि खान नपाइने भइयो भन्ने चिन्ता थियो’ उहाँले भन्नुभयो–‘शुक्रबार बिहानैदेखि पानी परेपछि धेरै राहतको महशुस गरेका छौँ ।’ जागुराम जस्तै धेरै किसानलाई शुक्रबारको वर्षातले राहत भएको छ । आकाशे पानीको भरमा खेती गर्दै आएका तुलसीपुर–१३ बखरियाका भूपेन्द्र वलीले शुक्रबार पानी परेपछि सुकेको खेतले शितलता पाएको बताउनुभयो ।

‘पानी लामो समयसम्म नपर्दा खेत चिराचिरा पर्न थालेको थियो’ उहाँले भन्नुभयो– ‘पानी परेपछि थोरै भएपनि राहत महशुस गरेको छु ।’ यसवर्ष समयमै वर्षात नहुँदा करिब दुई कट्ठा खेतमा धान रोप्न नपाएको उहाँले वताउनुभयो । ‘सिचाइँको सुविधा छैन्, खेतमा धान रोप्नलाई आकाशबाट पर्याप्त पानी परेन’ उहाँले भन्नुभयो– ‘डिपबोरिङको पानीले सबै खेतमा नपुगेपछि करिब दुई कट्ठा जग्गा खाली नै छ ।’ उहाँले अहिलेको पानीले पहिले रोपेको धानलाई राम्रो बनाएपनि नयाँ रोप्न नमिल्ने बताउनुभयो । बखरिया, फुलबारीसहित तुई दाङका अधिकांश किसानले आकासको पानीले धान खेती गर्दै आएका छन् ।

सिचाइँ सुविधा नहुँदा वर्षेनी आकाशकै भर पर्नुपर्ने अवस्था रहेको तुलसीपुर–१३ फुलबारीका देवी महताराले बताउनुभयो । ‘आकाशबाट परेको पानीले खेती गरिरहेका हामीलाई शुक्रबारको पानीले धेरै राहत दिएको छ’ उहाँले भन्नुभयो–‘भदौको दोस्रो हप्ता लाग्दा पनि पानी नपर्दा हामी चिन्तामा थियौँ, तर ढिलै भएपनि पानी परेको छ ।’ शुक्रबार परेको वर्षातले केही बस्तीमा क्षति पुगेपनि अधिकांश किसानलाई शितलता महशुस दिएको छ ।

छ घर डुबानमा

वर्षातले खोला किनाराका बस्तीका नागरिकलाई सास्ती दिएको छ भने निकास नभएका ठाउँमा कतिपय घर डुबानमा परेका थिए । अबिरल वर्षाको कारण तुलसीपुर–८ का ५ घर डुबानमा परेका थिए भने तुलसीपुर–५ विशाल नगरमा एउटा घर डुबानमा परेको थियो ।
यस्तै बाघमारे सडकखण्डअन्तर्गत चिमिखोला र गहतेखोलाले सडक कटान गर्दा सवारी साधन सञ्चालन हुन सकेनन् । गहतेखोलाले बाटो कटान गरेपछि जोखिम बढेको वडा सदस्य तुलप्रसाद खरालले बताउनुभयो । बाटो, कल्भर्ट बीचबाट भत्किएपछि सवारी आवागमनमा समस्या भएको छ । अब सोही सडकमा सवारी साधन चलाउन निकै जोखिम भएको उहाँले जानकारी दिनुभयो ।

चिमिखोला आसपासका बस्तीमा बाढी पसेपछि स्थानीयलाई शुक्रबार बिहान अन्यत्र सारिएको थियो । पानीको बहाव घटेसँगै स्थानीय अहिले पुनः घरमा बसेका छन् । तुलसीपुर बजारभित्रै वडा नम्बर ५ को विशालनगरका केही घर पानीले जलमग्न भएको हो ।
ढलको उचित निकास नहुँदा घरमा पानी परेको स्थानीयले बताएका छन् । बसपार्क क्षेत्रमा गौरीगाउँले कुलो, गोलौरा कुलोको उचित प्रबन्ध नहुँदा सानो वर्षातमा पनि केही घरहरू डुबानमा पर्ने गरेको तुलसीपुर उपमहानगरपालिका विपद् व्यवस्थापन समितिका संयोजक दुजमान भण्डारीले बताउभयो ।

‘शुक्रबारको वर्षातका कारण केही बस्तीमा पानी पस्यो, त्यो खोलाको भन्दा कुलाको पानीले हो ।’ उहाँले भन्नुभयो– ‘वर्षातले केही भौतिक क्षति पुगेको हो, शुक्रबारको वर्षातले धेरै आहतभन्दा पनि राहत दिएको छ ।’ वर्षातको समयमा तुलसीपुरको बसपार्क क्षेत्र अर्थात् पातुखोला आसपासका बस्तीहरूमा बाढीको जोखिम हुन्छ ।

बाढी र पहिरोले सवारी आवागमनमा अवरोध

शुक्रबारको वर्षातले ग्रामीण सडक छियाँछियाँ भएका छन् । कतिपय ठाउँमा पहिरोले ग्रामीण सडक अवरूद्ध छन् । दाङ–सल्यान सडकखण्डअन्तर्गत तुलसीपुर–३ साततलेमा पहिरो जाँदा अवरूद्ध सडक करिब साढे ९ घण्टापछि सञ्चालनमा आएको थियो । वर्षातको समयमा सधैजसो अवरूद्ध हुने राप्ती राजमार्ग पनि साढे ९ घण्टा जाम भयो ।
बिहान ६ बजेतिर अवरूद्ध सडक दिउँसो ३ बजेतिर सञ्चालनमा आएको हो । वर्षातले पहिरो गएपछि सडक अवरूद्ध भएपछि शुक्रबार बिहानैदेखि साततलेमा सवारी सवारी रोकिएका थिए । नौ घण्टापछि सडकको पहिरो हटाएपछि यातायात सुचारू भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिनुभयो ।

‘राप्ती राजमार्गमा शुक्रबार बिहानैदेखि दिउँसो ३ बजेसम्म सवारी आवागमन बन्द भयो ।’ उहाँले भन्नुभयो– ‘वर्षातका कारण ग्रामीण सडकहरू पनि अवरूद्ध भएका छन्, कतिपय सञ्चालनमा आए होलान्, तर कतिपय सडकको ठाउँ–ठाउँमा पहिरो खसेकाले सञ्चालन हुन ढिलाइ हुने देखिएको छ । यस्तै वर्षातका कारण शुक्रबार खोलामा बाढी आएपछि घोराही–तुलसीपुर सडकखण्ड पनि तीन घण्टा अवरूद्ध भयो । कालाखोला, हापुरखोला र सेवारखोलामा आएको बाढीका कारण ३ घण्टा सडकमा सवारी साधन सञ्चालनमा आउन सकेका थिएनन् । घोराही–तुलसीपुर सडकमा वर्षायामको समयमा सधैँ सास्ती पाउने गरेको तुलसीपुर–१० का देवेन्द्र चौधरीले बताउनुभयो ।

दाङमा चट्याङ लागेर दुई महिलाको मृत्यु

दाङमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ । गए राति तीजको अवसरमा नाचगान भइरहेको समयमा घोराही उपमहानगरपालिका–१२ गुरौमा चट्याङ लागेर उनीहरुको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार चट्याङ लागेर १२ महिला घाइते भएका छन् । उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर छ । घटनास्थल टेलिफोनको समस्या भएकाले थप जानकारी प्राप्त हुन नसकेको प्रवक्ता गौतमले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?