काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्षमा पुनः उपेन्द्र यादव निर्विरोध निर्वाचित हुनुभएको छ । पार्टी स्थापना कालदेखि नै नेतृत्वमा रहनुभएका यादव जनकपुरमा जारी राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित हुनुभएको हो । निर्वाचन प्रक्रियाअनुसार जसपा अध्यक्ष पदको लागि यादवको मात्र उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो । अर्थात् नेतृत्वमा उहाँलाई चुनौती दिने कोही देखिएन । डेढ दशकदेखि पार्टी नेतृत्वमा रहनुभएका यादवले आफैँलाई चुनौती दिने नेता उत्पादन गर्नै सक्नुभएन वा भएकाहरू पार्टीमा रहेनन् ।
गत वैशाख २३ गते अशोक राईले जसपा विभाजन गरेपछि भएको महाधिवेशनलाई ‘एकताको राष्ट्रिय महाधिवेशन’ भनिएको छ । तर, एकताको राष्ट्रिय महाधिवेशन भनिए पनि उपेन्द्रसँग एकता गरेकाहरू साथमा छैनन् ।
पार्टी विभाजनको चोट निको हुन नपाउँदै महाधिवेशन गरेर यादवले आफूलाई पुनः शक्तिमा फर्काउने कोसिस गर्नुभएको छ । २०६३ सालमा मधेसी जनअधिकार फोरमले राजनीतिक दलको रूप लिएसँगै २०६५ सालमा वीरगञ्जमा पहिलो महाधिवेशन भएको थियो । त्यसयता १६ वर्षपछि एकता महाधिवेशन भएको हो । वीरगञ्जमा पहिलो महाधिवेशन गरेर पार्टी नेतृत्वमा चुनिनुभएका यादवको दल त्यसयता टुट्दै, जुट्दै र फुट्दै गरिरहेको छ । तर, अध्यक्षमा यादव भने कतै छुट्नुभएको छैन ।
पहिलो संविधान सभामा चौथो दल अहिले जनमतभन्दा सानो
२०६२/०६३ को आन्दोलनपछि तराई-मधेशमा दुईवटा ठूला आन्दोलन भए । दुवै आन्दोलनका नायक हुनुहुन्थ्यो यादव । पहिलो मधेश आन्दोलनपछि उहाँको लोकप्रियता हृवात्तै बढेको थियो । उहाँ मधेश आन्दोलनका ‘मसिहा’ भनेरसमेत चिनिनुभएको थियो ।
पुष्पलाल समूहबाट राजनीति सुरु गर्नुभएका यादवले २०४८ सालमै नेकपा एमालेबाट संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्नुभएको थियो ।
त्यसपछि यादवले मधेशी जनअधिकार फोरमलाई राजनीतिक दल बनाएर २०६३ सालमा दर्ता गरेपछि उचाइ प्राप्त गर्नुभएको हो । उहाँको पार्टी २०६४ को पहिलो संविधान सभाको निर्वाचनमा ५२ सिट ल्याएर संसद्को चौथो शक्ति बनेको थियो । तर, अध्यक्ष यादवले आफ्नो त्यो लोकप्रियता र शक्ति लामो समयसम्म टिकाउन सक्नुभएन ।
उहाँको शक्ति क्रमशः कमजोर बन्दै र निरन्तर खिइँदै गएको छ । यतिबेला उहाँ पाँचजना सांसदका नेतामा सीमित हुनुभएको छ । उहाँको पार्टी भर्खरै उदाएको सिके राउतको जनमत पार्टीभन्दा सानो भएको छ । पहिलो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ ३० र समानुपातिकतर्फ २२ गरी ५२ सिट जितेको उहाँको पार्टीले २०७४ को संसदीय निर्वाचनमा यादवले नेतृत्व गरेको तत्कालीन संघीय समाजवादी फोरमले प्रत्यक्षतर्फ १० र समानुपातिकतर्फ ६ गरी १६ सिटमा सीमित भयो । २०७९ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा जसपाले १२ सिट ल्याएको थियो । त्यसको डेढ वर्षपछि जसपा फुटेर हाल पाँच सिटमा सीमित भएको छ । गत निर्वाचनमा उहाँ स्वयं पराजित हुनुभएको थियो । २०७९ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित हुनुभएका यादव २०८० को उपनिर्वाचनमा फेरि बाराबाट निर्वाचित हुनुभएको हो ।
कुनै बेला यादवको नेतृत्वमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, विजयकुमार गच्छदार अशोक राई, महन्थ ठाकुर, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ, रामकुमार शर्मालगायत नेताहरू हुनुहुन्थ्यो ।
यति मात्रै होइन, उहाँले २०५४ मा मधेसी जनअधिकार फोरम गठन गर्नुभएको थियो । फोरम सुरुमा संस्थाको रूपमा दर्ता गरिएको थियो । २०६३ सालमा फोरम पार्टीको रूपमा निर्वाचन आयोगमा दर्ता भएको थियो । त्यसपछि फोरमले पार्टीको मान्यता पायो र यादव निरन्तर अध्यक्ष भइरहनु भयो ।
२०३२ सालबाट राजनीति थालेको बताउने यादव नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ समूहको अनेरास्ववियु हुँदै २०३५ सालमा कम्युनिष्ट पार्टीको सदस्य हुनुभएको थियो । उहाँ २०३६ सालबाट राजनीतिमा सक्रिय भएको बताउनुहुन्छ । २०४८ सालमा माले र माक्र्सवादी मिलेर एमाले बनेपछि सुनसरी-४ बाट विजय गच्छदारविरुद्ध निर्वाचन लड्नुभएको थियो । तर, परजित हुनुभयो ।
२०५० सालपछि यादवको राजनीतिले अर्को मोड लियो । त्यसपछि उपेन्द्रले २०५४ सालमा गैरसरकारी संस्था मधेसी जनअधिकार फोरम नेपाल गठन गर्नुभयो । त्यही फोरमबाट २०६३/०६४ मा मधेश आन्दोलन सुरु भएको थियो ।
बारम्बार पार्टी परिवर्तन, निरन्तर टुटफुट
नेपाली राजनीतिमा सबैभन्दा बढी पार्टी परिवर्तन तथा विभाजन गर्ने नेता मध्येमा उपेन्द्रको नाम पनि आउँछ । २०६४ को पहिलो संविधान सभाको निर्वाचनपछि तत्कालीन फोरम फुट्ने र जुट्ने क्रम निरन्तर चल्यो । पहिलोपटक फोरमलाई गच्छदार, शरतसिंह भण्डारीलगायत नेताहरूले फुटाउनुभएको थियो । त्यसपछि राजकिशोर यादवले फुटाउनुभयो । फोरमलाई जतिपटक फुटाए पनि यादवले अर्को नयाँ पार्टीसँग एकीकरण गर्ने र पार्टीको नाम फेर्ने गरिरहनु भयो । यही बीचमा यादवले भट्टराईले नेतृत्व गरेको तत्कालीन नयाँ शक्ति पार्टीदेखि अशोक राईले नेतृत्व गरेको तत्कालीन संघीय समाजवादी पार्टीसम्म एकीकरण गर्नुभयो र अध्यक्ष पद भने कहिले छोड्नुभएन । तर, अझै पनि यादवको पार्टी फुट्न छुटेको छैन । जसपा नेपाल पछिल्लोपटक विभाजन भएको दुई महिना पनि पुगेको छैन । पछिल्लोपटक जसपा नेपालका शरतसिंह भण्डारीले पार्टी फुटाउनुभएको थियो ।
सधैँ सत्ता वरिपरि राजनीतिक दाउपेचका ‘चतुर’ खेलाडी
नेपाली राजनीतिमा उदाएदेखि नै यादव सत्ताकै वरिपरि रहनुभयो । २०६३ सालमा मधेसी जनअधिकार फोरमको नेतृत्वबाट राजनीतिमा चम्किनुभएका यादव त्यसयता सधैँ सत्ताकै वरिपरि रहिरहनु भएको छ । जुनसुकैको नेतृत्वमा सरकार बनोस् यादवको साथ छुट्दैन । अधिकांश समय उहाँ आफ्नै नेतृत्वमा सरकारमा जानुभएको छ । २०६५ मा प्रचण्ड नेतृत्वको शक्तिशाली सरकारमा उहाँ परराष्ट्रमन्त्री बन्नुभएको थियो । झलनाथ खनाल नेतृत्वको सरकारमा उपप्रधान तथा परराष्ट्रमन्त्री र केपी ओली नेतृत्वको सरकारमा उपप्रधान, स्वास्थ्य र कानुनमन्त्री हुनुभयो । यो क्रम पछिल्लो प्रचण्ड सरकारसम्म कायम रहृयो । प्रचण्ड सरकारमा उपप्रधान तथा स्वास्थ्यमन्त्री रहनुभएका यादव केही समयअघि मात्रै सरकारबाट बाहिरिनु भएको थियो । राजनीतिक दाउपेचका ‘चतुर’ खेलाडी उपेन्द्र यतिबेला प्रतिपक्षीको कित्तामा पुग्नुभएको छ ।
सत्तामा मात्रै होइन उहाँ संसदीय खेलाडी पनि हो । यादवले २०४८ मा एमालेबाट सुनसरी ४ मा प्रतिनिधिसभा चुनाव हार्नुभएको थियो । २०६४ को पहिलो संविधानसभा चुनावमा मोरङ ५ र सुनसरी ५ दुवैबाट जित्नुभयो । तर, संविधान सभाको दोस्रो चुनावमा मोरङमा हार्नुभएका उहाँले सुनसरीबाट झिनो मतले जित्नुभयो ।
२०७४ मा सप्तरी २ बाट निर्वाचन जित्नुभएका यादव २०७९ सालमा भने सप्तरी २ बाटै जनमतका डा. सिके राउतसँग हार्नुभयो । बारा क्षेत्र नम्बर २ बाट विजयी जसपा नेता रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएर यादव ०८० वैशाखमा भएको उपनिर्वाचन जितेर संसद्मा फर्किनुभएको हो ।
पृथकतावादी आन्दोलन त्यागेर मूलधारको राजनीतिमा आउनुभएका डा. सिके राउतले यादवलाई निरन्तर चुनौती दिँदै आउनुभएको छ । जनमत पार्टीको नेतृत्व गरिरहनु भएका राउत पछिल्लो समय यादवमाथि भारी पर्दै आउनुभएको छ । २०७९ सालको निर्वाचनबाट जनमत पार्टी मधेशमा नयाँ शक्तिका रूपमा देखापरेको छ । उपेन्द्रको शक्ति विस्तारै कमजोर भएको निष्कर्ष धेरैको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच