भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको तेस्रो चरणको कार्यकाल सुरु भएको छ । सन् २०१४ यता भारतीय राजनीतिमाथि दरो नियन्त्रण राख्दै आउनुभएका मोदीलाई यो पटकको महानिर्वाचनले भने दुईटा बलिया वैशाखीको सहारामा टिक्नुपर्ने बाध्यता सिर्जित भएको छ । इसवार चार सौका पार भन्ने एकसूत्रीय नारा र मोदीको एकल व्यक्तित्वको प्रस्तुति जुनरूपमा भयो त्यो अतिमहत्वाकांक्षाको द्योतक प्रमाणित भयो । भारतीय जनता पार्टीका सबै नेता र उम्मेदवारहरूको एउटै बोली थियो : मोदीमा भर र विश्वास । मोदीमाथि भर गरेमा भारतको र भारतीय जनताको उत्थान र विकास हुनेछ ।
यहाँनेर भारतीय जनता पार्टी र अरू कुनै पनि नेता वा उम्मेदवार एकप्रकारले अस्तित्वविहीन जस्ता भएका थिए । तीन महिनायता भारत मोदीमय बनेको थियो । अर्थात् एकल मोदीको सत्ताबाहेक भारतमा अरू सबै भ्रमजस्तो चर्चा थियो । सम्भवतः दश वर्षको शासन र मोदीको साहस, चातुर्य र सक्रियताको त्रिवेणीजन्य चिन्तन हुनुपर्छ एकल मोदीमय भारतको परिकल्पना । तर, नागरिकको मूड केही फरक देखियो र भारतीय जनता पार्टीको एकल मोदीमय रथलाई कसिलो लगामको प्रबन्ध गरिदियो । लोकतन्त्रको सौन्दर्य चेत यसैलाई भनिन्छ ।
(क) लोकतन्त्रमा मात्र हुने अग्निपरीक्षा :
चीनमा सि जिङ पेङको एकछत्र राज छ, रुसमा पुटिनको एकछत्र चलिरहेको छ । किनभने चीनमा कहिल्यै जनतासम्म पुग्दैन शासक र उसले जनमतको अग्निपरीक्षा पार गर्नुपरेको छैन । रुसमा जनतासम्म पुगेको नाटक मात्रै चल्ने गरेको छ । उनीहरूमथि कुनै नियन्त्रण छैन । निर्वाचनमा नागरिक निर्णायक हुने सार्वभौम सिद्धान्तको प्रयोगकै कारण मोदीको एकल यात्रालाई नियन्त्रण गर्दै भारतीय जनताले चन्द्रबाबु नायडू र नितीशकुमार जस्ता वैशाखीहरूमा उभिनुपर्ने बाध्यता खडा गरे । जतिसुकै राम्रो काम गरे पनि जनतासँग जोडिन सकेन भने त्यसको अर्थ अनुभव हुँदैन भन्ने दृष्टान्त पनि हो अप्रिल १९ देखि जुन १ सम्म सम्पन्न भारतीय निर्वाचन र यसको परिणाम ।
(ख) किन असफल मोदी अभियान :
भारतीय राष्ट्रवादका लागि सदा पिलोजस्तो भएको कस्मीरलाई भारतीय झण्डा ओढाउन सफल मोदीको पार्टी त्यही भूमिको एक स्थानमा पराजित भयो । पाँच सय वर्षदेखि सदा जातीय र धार्मिक यन्त्रणा र वैमनष्यको कुरुक्षेत्र भएर रहेको अयोध्यामा राम मन्दिरको निर्माण, रामसीताको मूर्तिमा प्राण प्रतिष्ठापन र विशालकाय मन्दिरको उद्घाटन गरे पनि भारतीय जनता पार्टीले अयोध्याको सिट गुमायो । सन्तमहन्त साधुहरूले समाज र राजनीतिलाई शुद्ध गराउने अभियान थालेको उत्तरप्रदेशमा सशक्त सन्न्यासी आदित्यनाथ योगी मुख्यमन्त्री भए पनि मोदीको रथलाई बढाउन असफल हुनुभयो ।
मोदीका परिवार राजनीतिमा छैनन् । उहाँको पनि कुनै भिन्न परिवार छैन । आदित्यनाथ योगी त पूरा सन्न्यासी नै भए । यी दुवैका लागि आर्थिक भ्रष्टाचारको अभियोग छैन । कमाउनै नपर्ने भएपछि आर्थिक अनियमतिताको प्रश्न भएन ।
कालो धन सरकारी ढिकुटीमा जम्मा गर्ने योजना तहत हजारका नोट प्रतिबन्ध गर्ने र अर्थतन्त्रमा सुधार गर्ने बलियो योजनाले पनि २०२४ को निर्वाचनमा समर्थन पाएन । महिलाहरूलाई सहयोग गर्ने नाराका साथ घरघरमा एक सिलेन्डरदेखि करिब पच्चीस करोड विपन्नलाई निःशुल्क भोजनको अभियानले समेत भारतीय जनता पार्टीका पक्षमा मत तान्न सकेन । चन्द्रयानको अभूतपूर्व सफलता र पाकिस्तान दीक्षित भनिएका आतंककारी जत्थाको ढाड भाँच्न सफल मोदीप्रति जनता विगतमा भन्दा किन निराश भए ? उत्तरप्रदेशमा डनहरूको सफाया अभियान थियो तर सत्ताले निरन्तर आरोपित डनहरूकै नातागोता विपक्षमा विजयी भए ।
करिब १४ प्रतिशत मुस्लिम धर्मावलम्बी छन् भारतमा । मुस्लिम महिलाहरू माथि भारतमा मात्रै होइन सरियत कानुनका नाममा हुने शोषण सदा विवादको विषय हुने गर्छ मानव अधिकारको प्रसंगमा । खासगरी तीन तलाकको विषय । भारतमा मोदी सरकारकै समयमा तीन तलाकको ज्यादतीमुक्त हुने कानुन बन्यो तर पनि त्यसरी अधिकार पाएका मुस्लिम महिलाहरूको विश्वास जित्न सकेन भारतीय जनता पार्टीले । सडक सञ्जालको विस्तारमा अमेरिकालाई समेत अर्को पाँच वर्षमा उछिन्ने र विश्वको पाँचौं अर्थतन्त्रबाट तेस्रोमा पुग्ने महत्वाकांक्षी योजनाप्रति पनि भारतीय जनता आस्वस्त हुनसकेनन् किन होला ? केही स्थान र केही प्रदेशलाई अपवाद मान्ने हो भने मत प्रतिशतको आँकडा २०१९ को निर्वाचनमा भन्दा निकै तल झरेको छ भारतीय जनता पार्टीको ।
(घ) परिवारवादी व्यूहका अभिमन्यु :
मोदीका परिवार राजनीतिमा छैनन् । उहाँको पनि कुनै भिन्न परिवार छैन । आदित्यनाथ योगी त पूरा सन्न्यासी नै भए । यी दुवैका लागि आर्थिक भ्रष्टाचारको अभियोग छैन । कमाउनै नपर्ने भएपछि आर्थिक अनियमतिताको प्रश्न भएन । प्लेटोको कल्पनाका आदर्श शासकहरू जस्तै देखिन्छन् मोदी र योगी । तर सन् २०१४ र २०१९ माभन्दा किन कमजोर भयो भारतीय जनता पार्टी ? यो प्रश्न लोकतन्त्रको जग बसेको भारतमा मात्रै होइन जग नबसिसकेका देशलाई पनि महत्वपूर्ण हुनसक्छ । भारतीय राजनीतिमा स्थापित परिवारवादको व्यूहलाई तोड्ने संकल्प गरेको भारतीय जनता पार्टीका नेताहरू अन्ततः परिवारवादको व्यूहभित्र अभिमन्यु जस्ता किन हुन पुगे ? करिब आठ दशक पार गरेको दक्षिण एसियाली लोकतन्त्रमा परिवारव्यूह मजबुत रहेको छ ।
खास परिवारको व्यूहमा लोकतन्त्र फन्को मारिरहेको छ । पाकिस्तान, श्रीलंका, बंगलादेश, नेपाल पनि परिवारवादको व्यूहमा घुमिरहेका देखिन्छन् । भारतीय लोकतन्त्र त सदा परिवारको फेरोमा अल्झिरहेको छ । सन् १९४७ देखि नेहरू पछि पुत्री इन्दिरा गान्धी र उहाँका परिवार सदा शीर्ष नेतृत्वमा पुगेका छन् । इन्दिरा गान्धीका दुवै छोराहरू राजीव र सञ्जय, दुवै पुत्रवधुहरू सोनिया र मनेका, तीनजना नातिनातिनाहरू वरुण, राहुल र प्रियंका राजनीतिको निर्णायक स्थानमा रहेकै छन् । अहिले महाराष्ट्र, उत्तरप्रदेश र विहारबाट परिवारवादको जरो अर्कै रूपमा पलाएको छ । लालु यादवका छोरा तेजस्वी यादव र मुलायम सिंहका पुत्र अखिलेश यादवका रूपमा । ठाकरे परिवार, नेहरू परिवार, लालु परिवार र मुलायम परिवारको व्यूहलाई तोड्ने सामथ्र्य भारतीय जनता पार्टीको देखिएन । जबकि यस पटकको बुलन्द नारा मानिएको थियो : परिवारवाद ।
(ङ) धार्मिक सांस्कृतिक पक्षको पुनर्जीवन :
तपोभूमि नेपालदेखि समग्र दक्षिण एसिया क्षेत्र पूर्वीय आध्यात्मिक दर्शन, त्यसबाट निःसृत धर्म र धर्मले विकास गरेको संस्कृतिले परिपूर्ण स्थान हो । तर फारसीहरूको र पछि युरोपीयनहरूको शासकीय सत्ताले वैदिक सनातन सभ्यतालाई क्षतविक्षत पारेको हुनाले यो क्षेत्र बहुधार्मिक, बहुसांस्कृतिक हुन पुग्यो । सायद जातजातिको विकासका चरणहरू पनि फरक समयका फरक प्रयोगहरूसँगै र बसाइँसराइ वा विजयको आधारमा विस्तार भएका होलान् । सोह्रौं शताब्दीको आरम्भबाट भारतीय क्षेत्रमा प्रविष्ठ अंग्रेजहरूले छरपष्ट भारतीय राजारजौटाहरूमाथि विजय हासिल गर्दै इसाई सांस्कृतिक रूपान्तरणको जग बसाले । यसअघि स्थापित फारसी सत्ताको अवशेष पनि विस्तारित थियो ।
यी दुवै धार्मिक सांस्कृतिक सभ्यताको चेपुवामा परेको सनातन संस्कृतिलाई एक्काईसौं शताब्दीमा नरेन्द्र मोदीको नेतृत्वले राजनीतिमार्फत भारतीय भूमिमा पुनर्जीवन प्रदान गरेको छ । नेपालमा तत्कालीन राजा महेन्द्रले हिन्दूअधिराज्यको घोषणा गरेर शासकीय स्वार्थको घेरामा धर्म र संसकृतिलाई आबद्ध गराउने काम गरेका थिए । राजा महेन्द्रले जनताको अधिकारलाई नियन्त्रण गर्दै धर्मसंस्कृतिको विषय उठाएका थिए भने मोदीले जनतामा भर गरेर उठाएका छन् । जनतारूपी अग्निमा प्रवेश गर्दै परीक्षा दिनुपर्ने लोकतन्त्रमा जनताको इच्छाविपरीत कोही पनि सफल हुने सम्भावना रहँदैन ।
संसारमा कम्युनिष्ट सत्ता र सैनिक सत्ताबाहेक अरू सबै देशमा कमोबेस धर्मको नियन्त्रण र प्रभाव देखिन्छ । संसारमा इसाई, इस्लाम र बुद्ध धर्म अवलम्बा गर्ने राष्ट्रको संख्या ठूलो छ । बौद्ध धर्म भएका देश ६ छन् भने इस्लाम सापेक्ष ५७ देश छन् । वल्र्ड पपुलेसन रिभ्युअनुसार इसाई धर्मसापेक्ष मान्ने देशहरू २१ रहेका छन् । आठ अर्ब मानिसमध्ये करिब एक अर्ब जनसंख्या भएको सनातनहिन्दु धर्मसंस्कृति धारकहरूको भने कुनै पनि धार्मिक सांस्कृतिक राष्ट्रिय पहिचान छैन । प्रजातन्त्रको जननी बेलायतदेखि विकसित प्रजातन्त्रको अभ्यास गर्ने अमेरिकासमेत धर्ममुक्त राज्य हुनसकेका छैनन् ।
अहिले पनि त्यहाँका शासकहरू बाइबल बोकेर सत्तारोहण गर्ने प्रचलन छ । इस्लामिक गणतन्त्र भएका देशहरू त थुप्रै छन् । जापान, थाइल्याण्डजस्ता देशहरू बुद्धमार्गी हुन् । तर सबैभन्दा प्राचीन दर्शन, धर्म र संस्कृति भएको भूमिमा भने कुनै धर्मसंस्कृतिको परिचय राज्य र राजनीतिले पाएको छैन । सायद यहीकारण धर्मसंस्कृतिको पक्षपोषण गर्दै पहिचानका साथ राजनीति गर्ने प्रयास भारतमा नरेन्द्र मोदी र भारतीय जनता पार्टीको हुनुपर्छ । प्राचीन संस्कृतिको उन्नयनको सदीक्षाले पनि काम गरेको देखिन्छ ।
(च) उपेक्षित पक्ष र मुस्लिम मत :
मोदीले धर्म र संस्कृतिको मुद्दालाई केन्द्रमा राख्दै गर्दा केही महत्वपूर्ण पक्षलाई ध्यान नदिएको देखियो । पहिलो भारतीय जनता पार्टीले निर्वाचन प्रचारक्रममा निरन्तर मुस्लिम समुदायका विपक्षमा आफ्नो परिचय बनायो । आरक्षणको विषय विपन्न, दलित, सीमान्तकृत ओविसी वर्गलाई मात्रै हो र मुस्लिमलाई होइन भन्दै संविधानको प्रतिरक्षा गरेको देखाउने प्रयास गर्यो । विपक्षी गठबन्धनले मात्रै मुस्लिम आरक्षण गर्नेछ भन्ने सन्देश पनि भारतीय जनता पार्टीले दिएको हुनाले मुस्लिम समुदाय सिंगै विपक्षी गठबन्धप्रति आशान्वित हुन पुग्यो ।
मुस्लिम महिलाको मत अपेक्षा गरेर बसेको भारतीय जनता पार्टीको तीन तलाकको न्यायभन्दा समुदायको हित र प्रश्नलाई मुस्लिम महिलाहरूले महत्वपूर्ण मानेको देखियो । उत्तरप्रदेश र पश्चिम बंगालमा भारतीय जनता पार्टीको मत घट्नुमा यो प्रमुख कारण बन्यो । पाकिस्तान र बंगलादेशबाट लखेटिएका वा टिक्न नसकी भागेर आएका अल्पसंख्यक हिन्दुहरूका लागि नागरिकता प्रदान गर्ने विषय र बंगलादेशबाट पश्चिम बंगालमा प्रवेशगरी बसेका मुस्लिमहरूलाई नागरिकता नदिने निर्णयले पनि मुस्लिम समुदाय भारतीय जनता पार्टीविरुद्ध गोलबद्ध भएको देखियो ।
(छ) पारिवारिक विरासतको दबाब :
विपक्षी महागठबन्धन जसलाई छोटकरीमा इण्डिया (आइ.एन्.डि.ए.) भनिन्छ त्यसको नेतृत्वमा पारिवारिक विरासत भएका जोश र जाँगर देखाउनसक्ने तीसदेखि पचास वर्षससम्मका सशक्त वयका अनुहारहरू थिए । दक्षिणमा उद्धव ठाकुरेदेखि उत्तरप्रदेशमा अखिलेश यादव, प्रियन्का गान्धी, राहुल गान्धी र विहारमा तेजस्वी यादवको आक्रामक जोडीप्रति नागरिकहरूको भरोसा कम देखिएन । बंगालकी सिंहिनी ममता वनर्जी पनि कम भइनन् ।
नेपाल जस्तो रणनीतिक महत्वको छिमेकीसँग मोदीको नेतृत्वले कस्तो सम्बन्ध राख्ला भन्ने विषय हाम्रो मूल चासो हो । हिजोको जस्तो विश्वव्यवस्था आज छैन । यसमा अनेक आयामहरू परिवर्तन भएका छन् र हुँदैछन् पनि । नेपालले जतिसुकै भने पनि भारतसँगको सम्बन्धलाई फरक रूपमा बुझ्नैपर्ने हुन्छ ।
उत्तर प्रदेशका दलितहरूको मत मायावतीको खाता र अखिलेशको झोलीमा पुगेपछि भारतीय जनता पार्टीको शक्ति घट्नु स्वाभाविक थियो । सबैभन्दा बढी धार्मिकस्थल, मठमन्दिर रहेको र शाकाहारी धार्मिकहरूको प्रभुत्व रहेको दक्षिणको प्रमुख राज्य तमिलनाडुमा भारतीय जनता पार्टीको प्रवेश नै हुनसकेको छैन । सत्ताईसवटा पार्टी सम्मिलित महागठबन्धनले मोदीविरुद्ध सबैभन्दा तीखो अस्त्र संविधानको रक्षा भन्ने नारामार्फत प्रहार गरेको थियो । मोदीको अति विश्वास चिर्ने सफलता यिनै आधारहरूले विपक्षीलाई प्रदान गरेका हुन् ।
(ज) छिमेकीसँग मोदी सरकारको अवस्था :
मोदीको शासनकालमा सबैभन्दा निकट र हरप्रकारले विशेष रहेको नेपालसँग मात्रै होइन, माल्दिब्स, श्रीलंकासँग समेत सुमधुर सम्बन्ध देखिँदैन । पाकिस्तानसँग त असी वर्षयता नै दुश्मनीको झण्डा फहराइरहेकै छ । भुटान र बंगलादेश मात्रै भारतका प्रिय अवस्थामा छन् । चीनसँग घृणा र प्रेमसम्बन्ध छ भारतको । माओ र नेहरूको कालदेखि नै यस्तै चलिरहेको छ । रुससँगको सम्बन्ध इन्दिरा गान्धीकालकै हो भने युरोप र अमेरिकासँग समयबोधी चेतमा देखिन्छ । अफ्रिकी देशहरू भारतका लागि महत्वपूर्ण छन् आर्थिक र व्यवसायिक प्रश्नमा । खाडी क्षेत्रलाई भारतले सन्तुलनमा नै राखेको देखिन्छ ।
(झ) कमजोर भए पनि मोदी रथ रोकिएन :
सिट संख्या घटे पनि र मत संख्या कम भए पनि भारतीय जनता पार्टी नेतृत्वको नेसल डेमोक्रेटिक एलायन्स (एन.डी.ए.)ले बहुमतका साथ सरकार गठन गरेको छ । ५४३ संख्या रहेको लोकसभामा बहुमतका लागि चाहिने २७२ भन्दा बढी स्थान एन्डिएले जितेको छ । विपक्षी गठबन्धनका लागि भारतीय जनता पार्टीलाई एकल बहुमतमा पुग्न रोक्नु नै विजय मानिएको छ । उनीहरू मोदीको नेतृत्वलाई रोक्न प्रयासरत थिए । भारतको लोकतन्त्रको इतिहासमा तीन पटक प्रधानमन्त्री हुने जवाहरलाल नेहरूको रेकर्ड अरू कसैले नतोडोस् भन्नेमा नेहरू परिवार दृढ थियो भने गठबन्धनमा सहभागी अरू दलहरू आफ्नो राज्यमा भारतीय जनता पार्टीको हैसियत घटाउन प्रतिबद्ध थिए । सिट घटाउने सफलता पश्चिम बंगाल र उत्तर प्रदेशमा उनीहरूले पाए पनि मोदी नेतृत्वलाई रोक्न सकेनन् र नेहरूको रेकर्ड समान हुनपुग्यो मोदी सत्ताको तेस्रो चरण ।
(ञ) नेपालको हित र चासो :
मोदीको कार्यकाल भारतको आन्तरिक राजनीति, अर्थतन्त्र, विकास र समुदायबीच सद्भावको ग्राफ कुन रूपमा रहने हो अहिले नै विश्लेषण हतार हुनेछ । तर, नेपालजस्तो रणनीतिक महत्वको छिमेकीसँग मोदीको नेतृत्वले कस्तो सम्बन्ध राख्ला भन्ने विषय हाम्रो मूल चासो हो । हिजोको जस्तो विश्वव्यवस्था छैन । यसमा अनेक आयामहरू परिवर्तन भएका छन् र हुँदैछन् पनि । नेपालले जतिसुकै भने पनि भारतसँगको सम्बन्धलाई फरक रूपमा बुझ्नै पर्ने हुन्छ । अनि भारतले पनि उत्तरछिमेकी चीन र पश्चिमका पनि अनेक स्वार्थहरूका कारण नेपाल रणनीतिक भूगोलको केन्द्रमा छ भन्ने बिर्सनु हुँदैन ।
हो, नेपालले मोदी र भारतीय जनता पार्टीको नेतृत्वसँगको सम्बन्धको आधारलाई परम्परागत भौगोलिक, व्यापारिक, आर्थिक र सांस्कृतिक कूटनीतिमा मात्रै परिभाषित गर्नुभन्दा सांस्कृतिक र धार्मिक कूटनीतिलाई समेत जोड्न सक्नुपर्दछ । सन् २०१४ मा पहिलो पटक प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा रहँदा भन्नुभएको थियो ः जनकपुर, पशुपतिनाथ, मुक्तिनाथ र लुम्बिनीको धार्मिक कोरिडर जोड्न र विकास गर्न सके नेपालको विकासमा महत्वपूर्ण हुनेछ । यो अवधारणाप्रति नेपाल गम्भीर हुनुपर्ने अवस्था छ ।
हुन त प्रधानमन्त्री मोदीको शपथग्रहण समारोह जुन ९ का दिन सहभागी भएर फर्किँदै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निकै उत्साहित देखिनुभएको छ । उहाँको उत्साहका कारण के के हुन् थाहा हुँदै जाला तर नेपालले आफ्नो हित प्रबद्र्धनका पक्षमा मजबुत सोचका साथ सम्बन्धलाई बुझाउनु जति जरुरी छ त्यति नै भारतीय नेतृत्वबाट तदनुरूप व्यवहारको अपेक्षा गर्नु अन्यथा हुने छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच