काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री डा. मुकुल ढकाललाई ‘समीक्षा यात्रा’ मा देश दौडाहमा पठाएको थियो । पार्टीका नेता-कार्यकर्ता तथा सर्वसाधारणको अभिमत बुझ्न पार्टीको सचिवालयले नै ढकाललाई ग्रासरुटसम्म ‘समीक्षा यात्रा’ मा पठाएको थियो । तर, देश दौडाह गरेर फर्केपछि ढकालको निर्मम समीक्षाले रास्वपामा परकम्प नै गएको छ । प्रतिवेदन सार्वजनिक नहुँदै यसका केही अंशहरू मिडियामा आएपछि पार्टीमा तरंग उब्जेको हो ।
निर्मम विश्लेषण सहितको प्रतिवेदन ढकालले सभापति रवि लामिछानेलाई बुझाउनुभएको छ । तर, केही अंश भने सञ्चार माध्यममार्फत सार्वजनिक भएका छन् । प्रतिवेदनमा रास्वपाले गत चुनावमा हासिल गरेको जनमत धराशायी बनिसकेको तीतो निष्कर्ष प्रस्तुत गरिएको छ । रास्वपा अर्को विवेकशील बन्ने बाटोमा रहेको ढकालको विश्लेषण छ । आउँदो चुनावमा राष्ट्रिय पार्टी बन्नसमेत हम्मेहम्मे पर्नसक्ने उहाँले विश्लेषण गर्नुभएको छ । ‘आज नै चुनाव हुने हो भने पार्टी हम्मेहम्मे तरिकाले राष्ट्रिय पार्टी बन्ला र प्रत्यक्षमा एक-दुई सिट जित्ला । भोलिका दिनहरूमा आजकै स्थितिअनुसार अघि बढे पार्टीको हालत विवेकशील जस्तो हुनेछ,’ उहाँले समीक्षा प्रतिवेदनमा भन्नुभएको छ ।
बालेनसँग दूरी बढाउँदा क्षति
महामन्त्री ढकालले काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित हुनुभएका बालेन साहसँग सहकार्य गरेर अघि बढ्नुपर्ने प्रतिवेदन तयार गर्नुभएको छ । रास्वपाले बालेनसहित धनगढी उपमहानगरपालिकामा निर्वाचित मेयर गोपी हमालसँग पनि सहकार्य गर्नुपर्ने उहाँको निष्कर्ष छ । बालेन सँगको दूरी बढाउँदा रास्वपाले क्षति बेहोर्ने उहाँको धारणा छ । महामन्त्री ढकालले नेकपा एमाले र माओवादी केन्द्रसँग सम्झौता गर्नुको साटो बालेनसँग गर्नुपर्ने राय प्रतिवेदनमा राख्नुभएको छ । बालेनले २०८९ को चुनावताका मात्रै पार्टी खोल्नसक्ने प्रक्षेपण प्रतिवेदनमा गरिएको छ । पछिल्ला दिनमा पुराना दलसँगको सहकार्यले हिस्सेदारी खोज्ने अवस्थाले अराजनीतिकरणको मुद्दा बिर्सिएको प्रतिवेदनमा उल्लेख छ । ढकालले समीक्षा यात्राका क्रममा प्रदेश संरचना खारेज गर्नुपर्ने मतहरू पूर्वदेखि पश्चिमसम्म सुनिएको बताउनुभयो ।
सरकारमा रहनुको औचित्य पुष्टि गर्नुपर्छ
महामन्त्री ढकालले रास्वपाले सम्हालेका चार मन्त्रालयमा एकमा मात्रै सन्तोषजनक कार्य भएको उल्लेख गर्नुभएको छ । स्वयं सभापति लामिछानेले सम्हालेको गृह मन्त्रालयको कार्य प्रभावकारी नभएको प्रतिवेदनमा उल्लेख छ । सहमहामन्त्री सुमना श्रेष्ठले सम्हालेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भने प्रभावकारी भएको ढकालको बुझाइ छ । पार्टी सरकारमा रहनुपर्नुको औचित्य पुष्टि गर्नुपर्ने ढकालले तयार गरिएको प्रतिवेदनमा लेखिएको छ । २०७९ असार ७ गते स्थापना भएलगत्तै पाँच महिना पछिको चुनावमा २० सिट जितेर रास्वपाले परम्परागत दलविरुद्ध धावा बोलेको थियो । पार्टी स्थापनाको केही समयसम्म सभापति लामिछानेका विश्वास पात्र मानिने महामन्त्री एवं पार्टी प्रवक्ता डा. मुकुल ढकालले देशभर डुलेर सभापतिलाई बुझाएको प्रतिवेदनले असन्तुष्टि विस्फोटको संकेत गर्नुभएको छ । ‘पार्टी दुर्घटनाउन्मुख छ । नागरिकले यही भनिरहेका छन् । मैले त्यही कुरा बोलिदिएको हो,’ ढकालले प्रतिवेदनमा भन्नुभएको छ ।
ढकाललाई कारबाही गर्न चर्को दबाब
प्रतिवेदनको अंश सार्वजनिक भएसँगै महामन्त्री ढकाल नै संकटमा पर्नुभएको छ । धेरैले ढकाललाई ‘यथार्थको ऐना देखाउने साहस गरेको’ मा सराहना गरे पनि पार्टीपंक्तिमा भने तीव्र असन्तुष्टि बढेको छ । रास्वपाले प्रतिवेदनमाथि छलफल गर्न १९ गते बैठक बोलाएको छ । महामन्त्री डा. ढकाल रास्वपाका असन्तुष्ट नेता होइन । उहाँ पार्टी संस्थापनका एक मुख्य व्यक्ति हुनुहुन्छ । सभापति लामिछानेले सार्वजनिक रूपमा कुनै कडा प्रतिक्रिया नजनाए पनि महामन्त्री डा. ढकालप्रति माथिदेखि तल सम्मका नेता-कार्यकर्तामा असन्तुष्टि बढ्दो छ । अहिले महामन्त्रीलाई कारबाही गर्न उहाँमाथि चर्को दबाब छ । ढकालले प्रतिवेदनमा गम्भीर कुरा उठाउँदा महामन्त्री पदको पनि पर्वाह नगरेको बताउनुभएको छ । ‘मैले यसरी बोल्दा मसँग रिसाउने, मलाई हटाउने हुनसक्ला । सहदेवको जसरी मृत्यु हुनसक्छ । व्यक्तिको मृत्यु होला, महामन्त्री पदको पनि मृत्यु हुनसक्छ । म रहुँ वा नरहुँ, देश बाँच्नुपर्छ । म नरहे पनि पार्टी बाँच्नुपर्छ,’ ढकालले भन्नुभएको छ, ‘महामन्त्रीलाई पनि बोल्न आउँछ । प्रश्न मलाई मात्रै किन आउँछ ? प्रश्न सबैलाई गर्नुपर्छ । के प्रश्न उठाउनका लागि पार्टीमा म मात्र पात्र हुँ ?’
कोही व्यक्तिको अस्तित्व र गल्तीको भारीमा थिचिएर पार्टी सकिँदैन : गणेश कार्की
पार्टी विधि र विधानअनुसार नचलेको भन्दै सार्वजनिक रूपमै प्रश्न उठाउँदै आउनुभएका केन्द्रीय सदस्य गणेश कार्कीले भने महामन्त्री पनि आफ्नै बाटोमा आएको बताउनुभएको छ । महामन्त्री ढकालले उठाएका धेरै विषयमा आफ्नो सहमति रहेको उहाँको भनाइ छ । ‘पार्टीको हालको अवस्थाको बारेमा उहाँको समीक्षाको धेरै कुरामा सहमत छु । पार्टीको विधि, चरित्र र बाटोको बारेमा मैले उठाइरहेको विषयमा आइपुग्नु भएकोमा स्वागत छ । सँगसँगै प्रश्न छन्, यो अवस्थामा पुगियो कसरी ? पार्टीले आफ्नो चरित्र बिर्सिनुमा उहाँ स्वयंको योगदान कति रहृयो ?,’ कार्कीले प्रश्न गर्नुभएको छ, ‘संगठन अस्थिर र जथाभावी कसले बनायो ? आफ्नालाई अवसर दिन विधि मिचीमिची पार्टी कार्यालयमा नै आन्दोलनसमेत गर्न उक्सायो कसले ? एउटा सांसद पदका लागि विधि र चरित्रमा अतिक्रमण गर्न सुरु कसले गरायो ? यी र यस्ता धेरै प्रश्नको सही जवाफ खोज्न अब ढिला गर्नुहुन्न ।’ पार्टी कोही व्यक्तिको अस्तित्व र गल्तीको भारीमा थिचिएर नसकिने भन्दै कार्कीले गल्तीलाई सुधारेर पार्टी बन्ने दिशामा रास्वपा अगाडि बढ्नुपर्ने बताउनुभएको छ । ‘मलाई विश्वास छ, पार्टीले आफ्ना गल्ती सुधार्ने नै हो । पार्टी आफ्नो चरित्रमा फर्किने नै हो । पार्टी कोही व्यक्तिको अस्तित्व र गल्तीको भारीमा थिचिएर सकिँदैन । अनि प्रश्न गर्दैमा, आलोचना गर्दैमा रास्वपामा पददेखि घोक्र्याइँदैन भन्ने सबुत प्रमाण म छु । नाजायज काम गरेकाहरू मात्र विचारसँग डराउने हुन्,’ कार्कीले लेख्नुभएको छ ‘यदि कोही तपाईंसामु रास्वपा सकियो भनेर खुसी भइरहेको छ भने खुसी हुनुपर्दैन भन्नुहोला । पार्टी अब बन्दै छ, आफ्ना गल्तीहरू सुरुदेखि सुधार गरेर ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच