काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू वामपन्थी एकताको प्रक्रियातिर अघि बढिसकेको दाबी गर्नुभएको छ । शुक्रबार काठमाडौंमा भएको जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरू लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले बामपन्थी एकताको कुरा गर्नुभएको हो । ‘नकारात्मक भाष्य चिर्ने र जनताको पक्षमा अझ राम्रा कामहरू गरेर जनतामा आशा र भरोसा जगाउनेतिर केन्द्रित हुनुपर्छ । हामी एकताको प्रक्रियातिर अघि बढी नै सकेका छौँ । यसलाई सफल पार्न हामी सबैले आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।
क्रान्ति र परिवर्तनका उपलब्धिहरू संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकारले अहिले सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा राखेर अघि बढिरहेको दाबी गर्नुभयो । सरकारको यस प्रयासमा नेपालका सबै वामपन्थी लोकतान्त्रिक एवं प्रगतिशील शक्तिको साथ र सहयोग आवश्यक रहेको उहाँको धारणा थियो । ‘क्रान्ति र परिवर्तनलाई यी उपलब्धिहरू संस्थागत गर्दै समाजवादको आधार तयार पार्न यतिबेला सरकार सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा राखेर अघि बढिरहेको छ । सरकारको यस प्रयासमा नेपालका सबै वामपन्थी लोकतान्त्रिक एवं प्रगतिशील शक्तिको साथ र सहयोग रहने विश्वास व्यक्त गर्न चाहन्छु’ उहाँले भन्नुभयोे, ‘देशमा केही पनि भएको छैन, भन्ने भाषा गलत हो । धेरै भएको छ । तर, जनताको आशा र अपेक्षाअनुसार अझै भएको छैन, त्यो पनि सत्य हो । तर यहाँ एउटा प्रवृत्ति अली बढी नै नकारात्मक मात्रै कुरा गर्न रमाउने प्रवृत्ति कहीँ कतै यसलाई अघि बढाउन खोजिएको छ । हामी कम्युनिष्टहरूको आवश्यकता सबै लोकतान्त्रिक शक्तिहरूको पनि आवश्यकता के हो भने हामी एकताबद्ध भएर त्यो भाष्य चिर्नतिर लाग्नुपर्ने हुन्छ ।’
मदन-आश्रितको हत्यारा पत्ता लाग्छ : ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी र जीवराज आश्रितको हत्यारा पत्ता लाग्ने बताउनुभएको छ । शुक्रबार परेको जननेता स्वर्गीय मदनकुमार भण्डारीको ७३औँ जन्मजयन्तीको अवसरमा राष्ट्रिय समाचार समितिलाई अन्तर्वार्ता दिँदै अध्यक्ष ओलीले सत्यहरूलाई शक्तिले लुकाए पनि समयक्रममा बाहिर आउने धारणा राख्नुभएको हो । ‘कतिपय यस्ता घटना-दुर्घटनाका सत्यतथ्य सार्वजनिक हुन समय लाग्छ । सत्यहरूलाई शक्तिले लुकाउँछन् नै तर त्यो प्रयत्न सधैँ सफल हुँदैन । समयक्रममा सत्य त बाहिर आइहाल्छ नै,’ ओलीले भन्नुभयो, ‘समय लाग्छ, दासढुंगा हत्याकाण्डको पनि सत्यतथ्य बाहिर आउँछ । मदन-आश्रितको हत्यारा पत्ता लाग्छ ।’
मदन-आश्रितको दासढुंगा दुर्घटनामा भएको मृत्युलाई एमालेले सुरुदेखि नै हत्या हो भन्दै आएको छ । एमाले पनि पटक-पटक सरकारको नेतृत्वमा पुग्यो तर त्यसको अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउन सकेन भनेर मानिसहरू प्रश्न गर्ने गर्छन् नि ? भन्ने प्रश्नमा जवाफ दिएका ओलीले भन्नुभयो, ‘जब सत्ता र शक्ति बाधक हुन्छ, कुनै कुनै सत्य प्रकट हुनबाट रोकिन्छ । नेपालमा दुई ठूला घटना मदन-आश्रितको हत्या र दरबार हत्याकाण्डका दोषी अझै पत्ता लागेका छैनन् । यसको रहस्य पनि खुल्छ कुनै दिन ।’
दासढुंगा दुर्घटना पनि त्यस्तै रहस्यकै गर्भमा रहेको उहाँले बताउनुभयो । ‘तत्कालीन सरकारले दुर्घटना हो भन्यो, छानविन आयोगसमेत गठन गर्न मानेन । छानविनको माग राखी आन्दोलन गर्ने क्रममा कम्तीमा २२ जनाको ज्यान नै गयो । हामीले तत्कालै छानविन आयोगको माग गर्यौँ । अहिले कस्ता कस्ता कुरामा पनि छानविन आयोग या समिति गठन गर्ने गरिएको छ, यहाँहरूले पनि देख्नुभएकै छ तर त्यस्तो घटनामा छानविनका लागि समिति गठन भएन,’ अध्यक्ष ओलीले भन्नुभयो । दासढुंगा घटनामा गाडी नदीमा पुगेको र नेताहरू डुबे पनि चालक सकुशल बाँचेको अवस्था रहेको उहाँले बताउनुभयो । ‘हामीले अनेक बाधा र व्यवधानका बीच पार्टीका तर्फबाट मेरो नेतृत्वमा छानविन समितिको प्रतिवेदन तयार गरेर पार्टीका तत्कालीन महासचिव माधवकुमार नेपाललाई दिएका पनि थियौँ । त्यो प्रतिवेदन उहाँले सार्वजनिक नै गर्नुभएन पछि मैले नै त्यो प्रतिवेदनको सार सार्वजनिक गरेको थिएँ । पार्टीले त्यसबेला प्रतिवेदन सार्वजनिक गरेन र अहिले त्यो प्रतिवेदन उपलब्ध पनि छैन,’ उहाँले भन्नुभयो ।
‘जबज स्वार्थपूर्ति गर्ने माध्याम होइन’
अध्यक्ष ओलीले जनताको बहुदलीय जनवाद स्वार्थपूर्ति गर्ने माध्यम नभएको बताउनुभएको छ । शुक्रबार नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा मदन भण्डारीको ७३औँ जन्मजयन्तीको अवसरमा आयोजित मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो स्वार्थ पूरा गर्दा जबज कार्यक्रम, सिद्धान्त, मार्गदर्शक सिद्धान्त हुने र स्वार्थपूर्ति नहुँदा कार्यक्रम नै नहुने कुरा नभएको बताउनुभयो । उहाँले जनताको बहुदलीय जनवाद ओठेभक्ति नभएको पनि बताउनुभयो । अध्यक्ष ओलीले जबज मौकाप्रस्थको माध्यम नभएको भन्दै जनताको बहुदलीय जनवादले अहिले पनि आफूहरूलाई प्रभावकारी रूपमा अघि बढाइरहेको बताउनुभयो । जबजले अहिले पनि मार्गदर्शन गरिरहेको उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, ‘जनताको बहुदलीय जनवादले हामीलाई लगातार अझ बढी प्रभावकारी ढंगले अघि लगेको छ । जनताको बहुदलीय जनवादले हामीलाई मार्गदर्शन गरिरहेको छ । हामी जनताको बहुदलीय जनवादप्रति ओठेभक्ति होइन । आफ्नो स्वार्थ पूरा गर्नका लागि होइन । मौका मिले जबज कार्यक्रम हो, मौका नमिले होइन । अझ राम्रै मौका मिल्ने भयो भने सिद्धान्त हो, मौका नमिले होइन । अझै राम्रो मौका मिल्ने हो भने मार्गदर्शक सिद्धान्तै हो ल जा । स्वार्थ पूरा नगर्ने भए केही पनि होइन ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच