![इन्टरटेन्मेन्ट टेबलटेनिस आज](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/Intertenment-tt.jpeg)
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका ३ मुसुङका लालबहादुर घर्ती यतिखेर खेतमा रोपाँइ गर्दै हुनुहुन्छ । खेतरोपाइँमा व्यस्त भए पनि उहाँका ध्यानभने पाखो र खेत नजिकैको खाली जग्गामा लगाएको टिम्मुरका बोटमा पुगेको देखिन्छ ।
घर्तीले आफ्नै बारीमा नर्सरी स्थापना गरेर टिम्मुरका बिरुवा उमारी बिक्रीसमेत गर्दै आउनुभएको छ । डिभिजन वन कार्यालय, उद्योग वाणिज्य संघलगायत संघसंस्थाको पहलमा प्राविधिक तालिम लिएर स्थापना गरिएको नर्सरीबाट रू २५ मा प्रतिबिरुवा बिक्री हुने गरेको घर्तीले जानकारी दिनुभयो ।
म्याग्दीमा टिम्मुर खेती व्यावसायिक बन्दै गएको छ । खेतबारीका कान्ला र बाँझो जग्गामा मात्रै होइन खेती योग्य जमिनमा समेत अरु खेती छोडेर यहाँका किसानले टिम्मुर खेती गर्न थालेका छन् ।
जिल्लाको बेनी नगरपालिकाको वडा नं ३ भकिम्ली, वडा नं ९ घतान, तोरीपानी र वडा नं १० पात्लेखेतसहित मालिका, मङ्गला र अन्नपूर्ण गाउँपालिकामा व्यवसायीकरुपमा टिम्मुर खेती गरिएको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ ।
अन्य अन्नबाली छोडेर खेतबारी, निजी तथा सामुदायिक वनमा समेत टिम्मुर खेती गर्न थालिएको कार्यालयका सहायक वन अधिकृत एवं टिम्मुरविज्ञ चन्द्रमणि सापकोटाले जानकारी दिनुभयो । एक दशकअघिसम्म त्यत्तिकै खेर गइरहेको टिम्मुरको पछिल्लो समय स्वदेश तथा विदेशबाट अत्यधिक माग हुन थालेपछि यहाँका कृषक टिम्मुर खेतीमा आकर्षित भएका उहाँको भनाइ छ ।
जिल्लामा २० समूह गठन गरी टिम्मुर खेती विस्तार भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ । टिम्मुरविज्ञ सापकोटाले सामुदायिक वनमा रहेको टिम्मुर आर्थिक अवस्था कमजोर भएका र एकल महिलाले सङ्कलन गरेर बिक्री गर्ने गरेका बताउनुभयो । पाँच वर्ष अघिसम्म ६० घरधुरीले टिम्मुर खेती गरेकोमा अहिले करीब १५० घरधुरीले टिम्मुर खेती गरिरहेका उहाँले जानकारी दिनुभयो ।
टिम्मुर खेतीलाई प्रोत्साहन गर्न जिल्लास्थित उद्योग संघले विभिन्न किसिमका औजारसहित तालिममा सहयोग गरिरहेको छ । ‘एक गाउँ एक उत्पादन’अन्तर्गत तोरीपानीसहित विभिन्न गाउँमा १९ हजार पाँच सय बिरुवासहित प्राविधिक सहयोग गरिएको संघले जनाएको छ ।
जिल्लामा कृषकले टिम्मुर प्रशोधन गर्ने औजार समेत ल्याएका छन् । तोरिपानीका निलपहरा सामुदायिक वन उपभोक्ता समूहले टिम्मुर सुकाउने, प्रशोधन गर्ने, तौलने, मसला बनाउने औजार खरिद गरेको छ । वन डिभिजन कार्यालयको रू १० लाख अनुदानमा ती औजार खरिद गरिएको स्थानीय टेकबहादुर चोखालले बताउनुभयो ।
तोरीपानी गाउँबाट वार्षिक छ हजारको हाराहारीमा बिरुवा जिल्ला बाहिर बिक्री हुने गरेको छ । एक कृषकले छ केजीदेखि माथि टिम्मुर उत्पादन गर्दै आइरहेका छन् ।
प्रशोधन औजारको प्रयोगसँगै मसला बनाई बजारमा बिक्री गर्न, मिसावट रोक्न, गाउँकै ब्राण्डलाई स्थापित गर्नलगायत बजारीकरणमा सहज भएको कृषक समूहले जनाएको छ । जिल्लामा वार्षिक पाँच हजार किलो टिम्मुरको माग भए पनि वार्षिक तीन हजार किलो मात्र उत्पादन हुने अनुमान गरिएको छ । यहाँको टिम्मुर विदेशमा समेत निर्यात हुने गरेको छ ।
। म्याग्दीका गाउँमा फलेको टिम्मुर स्वादिलो हुने भएकाले पनि व्यापारी गाउँमै पुग्ने गरेका बेनी नगरपालिका–३ मुसुङका अगुवा कृषक लालबहादुर घर्तीले बताउनुभयो । उहाँका अनुसार गाउँबाटै प्रतिकिलो रू. १ हजार ६०० सयदेखि रू. २ हजारसम्ममा बिक्री हुने गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच