कांग्रेस–एमाले गठबन्धनको नयाँ सरकारसँगै शेयर बजार निरन्तर रूपमा बढिरहेको छ । अर्थतन्त्रको ऐनका रूपमा हेरिने शेयर बजारले पछिल्लो समय दैनिकजसो नयाँ रेकर्ड बनाइरहेको छ । बुधबार २१ अर्ब ९१ करोड १५ लाख तीन हजार एक सय ६१ रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसअघि ३१ साउन २०७८ मा शेयर बजारले २१ अर्ब ५३ करोड रुपैयाँबराबरको रेकर्ड कायम गरेको थियो । बुधबार शेयर बजारको परिसूचक नेप्से ६४.२५ अंकले बढेको हो । सो अंकको वृद्धिपछि नेप्से २७६०.९० अंकमा कायम भएको थियो । सो दिन एक सय ९१ कम्पनीको मूल्य बढेकोमा ४४ कम्पनीको घटेको थियो भने सात कम्पनीको स्थिर रहेको थियो । सबै क्षेत्रका सूचक बढेकामा बैंकिङ एक, विकास बैंक ३.२, फाइनान्स आठ, होटल तथा पर्यटन २. ९, हाइड्रोपावर २.१, लगानी ६.८, जीवन बीमा २.१, उत्पादन १.८, माइक्रोफाइनान्स ०.६३, निर्जीवन बीमा १.८७, अन्य ३.९ तथा व्यापार समूह २.७ प्रतिशत बढेका हुन् ।
तर, यस साताको अन्तिम कारोबार दिन भने शेयर बजार करेक्सन भएको छ । बिहीबार नेप्से ५.२४ अंकले घटेर २७५५.६२ अंकमा झरेको छ । कारोबार रकम भने बुधबारकै हाराहारी अर्थात् २१ अर्ब ७१ करोड पुगेको छ । यसदिन तीन सय ३२ कम्पनीका २१ अर्ब ७१ करोड रुपैयाँबराबरको कारोबार भएका हुन् । हुन त नेप्सेमा १७ असारदेखि वृद्धिको शृंखला सुरु भए पनि शेयर कारोबार उकालो लाग्न थालेको भने २४ असारदेखिमात्रै हो । २४ असारमा चार अर्ब ५७ करोडको शेयर कारोबार भएकोमा २५ असारमा पाँच अर्ब आठ करोडको कारोबार भएको थियो । त्यसअघि निरन्तर बढिरहे पनि नेप्से परिसूचक २४ असारपछि नै २१ सय अंकभन्दा माथि जान थालेको हो । २४ असारपछि नै शेयर बजारमा परिसूचक र कारोबार सँगसँगै उकालो लागिरहेका छन् । असार मसान्तसम्म पुग्दा नेप्से २२४०.४१ अंकमा पुगेको थियो भने कारोबार आठ अर्ब ७३ करोड पुगेको थियो । साउन लागेपछि नेप्से २३ सय अंकबाट निरन्तर उकालो लाग्न थाल्यो भने कारोबार पनि १० अर्ब नाग्दै गयो । साउन लागेपछि नेप्से ५२०.४९ अंकले बढिसकेको छ । कारोबार पनि ३१ असारभन्दा १३ अर्ब १८ करोड रुपैयाँले बढी देखिन्छ ।
नयाँ सरकारसँगै उकालो लाग्न थालेको शेयर बजार नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिपछि झनै उच्च अंकले बढ्न थालेको छ । खुकुलो मौद्रिक नीतिसँगै नीतिले शेयर बजारलाई पनि सम्बोधन गरेका कारण लगानीकर्ता हौसिएका देखिन्छ । आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले संस्थागत लगानीकर्ताका लागि बैंक तथा वित्तीय संस्थाले मार्जिन प्रकृतिको शेयर धितोमा प्रवाह गर्ने कर्जाको २० करोड रुपैयाँको सीमा खारेज गरिदिएकाले पनि शेयर बजारका लगानीकर्तामा मनोवैज्ञनिक प्रभाव देखिएको हुनसक्छ, तथापि २० करोडको सीमा खारेजीले साना लगानीकर्तालाई खासै प्रभाव पार्ने देखिँदैन । त्यसको लाभ सीमित व्यक्तिले मात्रै लिन सक्ने अवस्था छ । नेपालमा संस्थागत लगानीकर्ताको नाममा सीमित व्यक्तिका समूहले बजारमा चलखेल गर्दै आएका छन् । त्यसैले संस्थागत लगानीकर्ताको उपस्थितिबिना बजारमा स्थायित्व कायम हुन पनि सक्दैन ।
२० करोडको सीमा खारेजीभन्दा पनि केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत अर्थतन्त्र चलायमान बनाउने व्यवस्था गरेकाले शेयर बजारमा त्यसको प्रतिबिम्बन देखापरेको बुझ्न सकिन्छ । राष्ट्र बैंकले कोरोनाकालबाहेक विगत वर्षको तुलनामा यसपटक निकै लचिलो मौद्रिक नीति ल्याएको छ । जसलाई निजीका छाता संगठन र शेयर लगानीकर्ताले समेत सकारात्मकरूपमा ग्रहण गरेको देखिन्छ ।
बैंक तथा वित्तीय संस्थामा करिब छ खर्ब रुपैयाँ लगानीयोग्य पुँजी थुप्रिएर बसेको अवस्थामा बजारमा कर्जा प्रवाह हुनसक्ने गरी केन्द्रीय बैंकले खुकुलो नीति लिएकाले लगानीकर्तामा विश्वास बढेको देखिन्छ । त्यस्तै शेयर बजारसँग बैंकले मुद्दती निक्षेपमा दिने ब्याजदरको सम्बन्ध हुन्छ । पछिल्लो समय बैंकहरूको ब्याजदर घटिरहेकाले पनि शेयर बजारमा लगानी बढ्दै गएको हुनसक्छ भने सुनको मूल्य पनि आकासिएका कारण तत्कालका लागि शेयर बजार लगानीको उपयुक्त विकल्पका रूपमा देखापरेको हो । निक्षेपको ब्याजदर बढ्दा शेयर बजार घट्ने र ब्याजदर घट्दा शेयर बजार बढ्ने गरेको छ ।
शेयर मूल्य उचाल्दै लैजाने र एकमुष्ट बेचेर बजारबाट रकम लैजाने ‘पम्प एण्ड डम्प’ प्रवृत्तिबाट लगानीकर्ता सचेत हुनुपर्ने देखिन्छ । किनभने बजारमा खराब कम्पनी अर्थात् नन पर्फमिङ कम्पनीहरूको समेत शेयर मूल्य बढिरहेको छ । शेयर बजारमा धेरैजसो लगानी साना लगानीकर्ताको रहेको छ । शेयर बजारमा अधिकतम २० प्रतिशतमात्रै वित्तीय साक्षर रहेको बताइन्छ । जसमध्ये धेरैजसो हल्लाका भरमा शेयरमा लगानी गरिरहेका छन् । उनीहरूमा आफूले शेयर खरिद वा बिक्री गरेको कम्पनीले के काम गर्छ भन्नेसमेत जानकारी नरहेको अवस्था छ । कम्पनीको आर्थिक अवस्था कस्तो छ ? लाभांश वितरण गर्नसक्ने अवस्थाको कम्पनी हो कि होइन, कृत्रिम मुनाफा देखाएर लगानीकर्तालाई फसाउन खोजिरहेको पो छ कि ? यस्ता विषयमा लगानीकर्ताले ध्यान दिनुपर्ने हुन्छ । त्यत्तिमात्र नभई नियामक निकायले लिने अस्थिर नीति र विवेकशील नहुँदा पनि बजारमा अस्वाभाविक उतारचढाव देखिने गरेका छन् । त्यसतर्फ पनि सचेत हुनुपर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच