सुर्खेत । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १०औँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्नेमा जोड दिनुभएको छ । शनिबार सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालाको अनुगमनपछि उहाँले यस्तो भन्नुभएको हो । ‘१०औँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा सुर्खेतमा हुनुपर्छ, कुनै बहानामा पछि सार्न खोजियो भने हजारौँ खेलाडी र खेलप्रेमीका लागि घात हुनेछ,’ प्रचण्डले भन्नुभयो ।
उहाँले निर्माणको अन्तिम चरणमा रहेको रंगशाला पश्चिम नेपालको खेल क्षेत्रको केन्द्र बन्ने र खेलाडीको वृत्तिविकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । रंगशाला आधुनिक र अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसको अत्यधिक सदुपयोग गर्नुपर्ने बताउनुभयो । रंगशालामा विभिन्न राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकिने उहाँको भनाइ थियो ।
कर्णाली प्रदेशमा तय भएको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुने कि नहुने भन्ने अन्योल बढेको छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पूर्वनिर्धारित मितिमा नै राष्ट्रिय खेलकुदको १०औँ संस्करण आयोजना गर्न सम्भव नभएको बताउनुभएको छ । उहाँले प्रतियोगिताका लागि आवश्यक तयारी भइनसकेको र बाँकी रहेको समय पनि तयारीका लागि पर्याप्त नभएको भन्दै पूर्वनिर्धारित समयभन्दा केही पर सर्ने जानकारी दिनुभएको थियो ।
खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङलाई ध्यानाकर्षण पत्र बुझाउनुभएको थियो । संघले राष्ट्रिय खेलकुदका विषयमा खेलाडी र खेलकर्मीलाई प्रष्ट जानकारी दिन सरकारलाई आग्रह गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच