राजनीतिक उद्देश्यका निम्ति हत्तपत्त मन्त्रीहरूको राजीनामा माग्नु गलत : प्रधानमन्त्री

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल इटाली भ्रमण गरी स्वदेश फर्किनुभएको छ । शुक्रबार बिहान उहाँ इटालीको भ्रमण सकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं ओर्लिनुभएको हो । प्रधानमन्त्री दाहाललाई स्वागत गर्न विमानस्थलमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत अन्य मन्त्रीहरूसमेत विमानस्थल पुग्नुभएको थियो । प्रधानमन्त्री दाहाललाई विमानस्थलमा नेपाली सेनाको एक टुकडीले विमानस्थलमा सलामी अर्पण गरेको थियो ।

संयुक्त राष्ट्रसंघ, खाद्य तथा कृषि संगठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल साउन ६ गते इटाली प्रस्थान गर्नुभएको थियो । भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले ‘फुड सिस्टम समिट’लाई सम्बोधन गर्दै जलवायु परिवर्तन र अन्य प्रकोपसँग जुध्न तथा अनुकुलन क्षमता सुदृढ गर्न अतिकम विकसित देशहरूको कृषिमा लगानी बढाउनु जरुरी रहेको बताउनुभएको थियो । दाहालले ‘युनाइटेड नेसन्स फुड सिस्टम-२०२३ स्टकिङ मोमेन्ट’लाई पनि सम्बोधन गर्नुभएको थियो ।

देशको कृषि क्षेत्रको मार्गदर्शन भएको छ
प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक उद्देश्यका निम्ति मन्त्रीहरूको राजीनामा मागिहाल्ने संस्कृति राम्रो नभएको बताउनुभएको छ । शुक्रबार इटाली भ्रमण सकेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले राजनीतिक उद्देश्यको निम्ति हत्तपत्त प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार बस्नु राम्रो नभएको र मन्त्रीहरूलाई स्पष्टीकरण राख्न दिनुपर्ने बताउनुभएको हो । स्पष्टीकरणको मौका नदिइकन राजीनामा नदिए संसद चल्न दिन्नौँ भन्ने संस्कृति राम्रो नभएको उहाँको भनाइ छ । ‘राजनीतिक उद्देश्यको निम्ति हत्तपत्त प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीको राजीनामा मागिहाल्ने जो संस्कार बस्न खोजेको छ, त्यो राम्रो होइन । प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीलाई राम्रोसँग स्पष्टीकरण दिने मौका पनि नदिइ राजीनामा देऊ नत्र सदन चल्न दिँदैनौँ भनेर पहिल्यै घोषणा गर्ने यो राजनीतिक कल्चरले हामीलाई राम्रो ठाउँतिर लैजाँदैन,’ दाहालले भने । सुन प्रकरणका बारेमा उपप्रधानमन्त्रीहरू र मन्त्रीहरूसँग कुरा गरेपछि मात्र आफूले थप कुरा गर्ने पनि प्रधानमन्त्री दाहालले बताउनुभयो ।

संयुक्त राष्ट्रसंघ, खाद्य तथा कृषि संगठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुँदा देशको कृषि क्षेत्रको मार्ग दर्शन भएको प्रधानमन्त्री दाहालले बताउनुभयो । सम्मेलनका क्रममा बंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग भेट भएको र नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण सम्बन्ध, आपसी सहयोग, क्षेत्रीय सहयोग, अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाल र बंगलादेशबीचको सहकार्य जस्ता विषयहरू छलफल भएकोसमेत उहाँले बताउनुभयो । बंगलादेश सरकार नेपालमा उत्पादित जलविद्युत् खरिद गर्न इच्छुक रहेको र आर्थिक अन्तरनिर्भरताका लागि यो महत्त्वपूर्ण हुने उहाँको भनाइ छ । त्यस्तै प्रधानमन्त्री दाहालले लम्पी स्किनका बारेमा छलफल गरी धेरै हदसम्म नियन्त्रण र उपचारमा लागिसकेको बताउनुभयो । सरकारको लम्पी स्किनको निदानतर्फ सचेत रहेको पनि उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?