विकट चेपाङ बस्तीमा शैक्षिक सकस

विद्यार्थी लिन घरमै पुग्छन् शिक्षक

भुलभुले आधारभूत विद्यालयको भवन ।

होमनाथ सापकोटा चितवन, संवाददाता
Read Time = 6 mins

चितवन । आइतबार बिहान साढे १० बजे इच्छाकामना गाउँपालिकाको विकट पहाडी क्षेत्रमा पर्ने भुलभुले आधारभूत विद्यालयमा पुग्दा कार्यालय सहयोगी मदनबहादुर चेपाङले कक्षा कोठा सफा गर्दै हुनुहुन्थ्यो । त्यति बेलासम्म वडा नं २, तोबाङमा रहेको सो विद्यालयमा विद्यार्थी र शिक्षक कोही पनि आइपुगेका थिएनन् । सरकारी नियमअनुसार १० बजे विद्यालय खुलिसक्नु पर्छ । पौने ११ बज्दै गर्दा माथिल्लो डाँडाबाट विद्यार्थी आउन सुरु गरे । विद्यार्थीहरू हातमा पानीको बोतल र कापी बोकेर विद्यालय आउने क्रम सुरु भयो ।

२०/२५ जना विद्यार्थीहरू आइपुगेपछि हस्याङफस्याङ गर्दै एकजना शिशु शिक्षिका विद्यालय आइपुगिन् । शिशु कक्षामा पढाउने उनी एक मात्र शिक्षिका हुनुहँुदो रहेछ । त्यति बेलासम्म विद्यालयका प्रधानाध्यापक विद्यालय आइपुग्नु भएको थिएन । ११ बजेर १५ मिनेट जाँदा प्रधानाध्यापक विष्णु अधिकारी विद्यालय आइपुग्नुभयो । प्रधानाध्यापक आएको केही समयपछि अर्की एकजना शिक्षिकाको पनि विद्यालयमा प्रवेश भयो । शिक्षक शिक्षिका समयमै विद्यालयमा नआउनुको कारण अनौठो लाग्यो ∕ विद्यार्थी लिन घरघरमै पुग्नुपर्ने भएका कारण शिक्षकहरू समयमै विद्यालय आउन नसकेका रहेछन् ।

प्रधानाध्यापकसहित तीनजना शिक्षकको दरबन्दी रहेको सो विद्यालयमा शिशुदेखि कक्षा ३ सम्म पढाइ हुन्छ । घरमा लिन नगई विद्यार्थी आउँदैनन् । भुलभुलेका शिक्षकहरू विद्यार्थी लिन घरमै जाने गरेका छन् । विद्यालयको सेवा क्षेत्रभित्र पर्ने कोटारी र थाइतेसबाट विद्यालयसम्म विद्यार्थी आइपुग्न डेढ घण्टा लाग्छ । कतिपय विद्यार्थीहरू थकाइ लागेर बाटोमै निदाउँछन् । कोटारी र थाइतेसबाट आउने विद्यार्थीहरू हिँड्न नसकेर बीच बाटोबाटै घर फर्किने गरेका छन् । ‘विद्यार्थीलाई स्कुलमा ल्याउन गाह्रो छ’, प्रधानाध्यापक अधिकारीले भन्नुभयो, ‘आएका विद्यार्थीहरू पनि थकाइ लागेर कक्षा कोठामै निदाउँछन् ।’ हरेक दिन विद्यार्थी लिन घरघरमै पुग्नुपर्ने भन्दै उहाँले लिन नगएको दिन कक्षा कोठा खाली हुने बताउनुभयो ।

सो विद्यालयमा शिशुदेखि ३ कक्षासम्म ७० जना विद्यार्थीहरू अध्ययनरत छन् । कुनै पनि दिन पूरा विद्यार्थी विद्यालय आउँदैनन् । शिशुमा २१ जना, कक्षा १ मा २१ जना, कक्षा २ मा १३ जना र कक्षा ३ मा १५ जना मात्रै विद्यार्थी भर्ना भएका छन् । ‘६१ जनासम्म विद्यार्थी विद्यालय आएका छन्, प्रधानाध्यापक अधिकारीले भन्नुभयो, ‘त्यो दिन हामी खुसी भएका थियौँ ।’ सरदर ४० देखि ४५ जना विद्यार्थीहरू मात्र विद्यालयमा आउने गरेका छन् । विद्यालय आएका विद्यार्थीहरूसँग किताब–कापी साथमा हुँदैन । भोको पेट विद्यालय आउनुपर्ने उनीहरूको बाध्यता हो । आर्थिक अभावका कारण चेपाङ विद्यार्थीहरू पेटभरी खाएर विद्यालय आउन पाउँदैनन् । कापी-कलमको अभाव हुने गरेको छ । ‘चेपाङको अवस्था दयनीय छ’, उहाँले भन्नुभयो, ‘विद्यार्थीले राम्ररी खान पाउँदैनन्, कसरी विद्यालय आउन मन लाग्छ ।’

विद्यालय आएका अधिकांश विद्यार्थीले स्कुल पोसाक लगाएका थिएनन् । घरमा बस्दा लगाउने कपडा लगाएर उनीहरू विद्यालय आउने गरेको प्रधानाध्यापक अधिकारीले बताउनुभयो । चेपाङ विद्यार्थीको दयनीय अवस्था देखेपछि सपना भिलेज सोसल इम्प्याक्टले सो विद्यालयमा खाना कार्यक्रम सुरु गरेको छ । विद्यालय निरन्तरताका लागि खाजाका रूपमा भात खुवाउने गरी सो विद्यालयमा खाना कार्यक्रम लागू गरिएको छ । त्यसका लागि इम्याक्टले भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीसहित खाद्यान्न पनि उपलब्ध गराएको छ । खाना कार्यक्रम सुरु भएपछि नजिकका विद्यार्थीहरू नियमित रूपमा आउने गरेको भए पनि टाढाका विद्यार्थीलाई भने घरमै लिन जानुपर्ने प्रधानाध्यापक अधिकारीले बताउनुभयो ।

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले भौगोलिक विकटताका कारण शिक्षामा देखापरेको सकस अन्त्यको लागि आवश्यक काम सुरु गरिएको बताउनभयो । विकटका बस्तीमा रहेका विद्यालयको भौतिक पूर्वाधार निर्माण तथा विद्यालय र घरको दूरी टाढा रहेका विद्यार्थीहरूलाई आवासीय सुविधासहित पढाउने गरी छात्रावास निर्माण गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?