काठमाडौं । वैकल्पिक राजनीतिको उदयीमान शक्तिका रूपमा हेरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाममा भएको उपनिर्वाचनमा नराम्रोसँग पराजय व्यहोरेको छ । गत संसदीय निर्वाचनमा प्रतिनिधि सभातर्फ प्रत्यक्ष सात सिट जितेको रास्वपाले तनहुँ-१ को उपनिर्वाचन समेत जितेको थियो । गत वैशाखमा तनहुँ उपनिर्वाचन जितेपछि रास्वपाले ‘मिसन ८४’ को उद्घोष गरेको थियो । परम्परागत दल र राजनीतिविरुद्ध परिवर्तनको घण्टी बजाउने घोषणा रास्वपाका नेताहरूले गरे पनि इलाम उपनिर्वाचनमा घण्टी बजेन ।
इलाममा सोमबार राति अबेरसम्मको मतगणनाअनुसार रास्वपा उम्मेदवार मिलन योङहाङ लिम्बू चौथो स्थानमा हुनुहुन्छ । नेकपा एमालेका सुहाङ नेम्वाङ अग्र स्थानमा रहँदा कांग्रेसका डम्बर खड्का दोस्रो र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम तेस्रो स्थानमा रहनुभएको छ । मिलनले आफ्नै घर भएको माङ्सेबुङ गाउँपालिका-२ मा समेत एक सय मत पनि कटाउन सक्नुभएन । एक हजार ४०७ मत खसेको यस वडामा मिलनले जम्मा ९६ भोट पाउनुभयो ।
जबकि निर्वाचनअघि रास्वपाका केन्द्रीय सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्ले, उपसभापति एवं श्रममन्त्री डिपी अर्याल, शिक्षामन्त्री सुमना श्रेष्ठ, सांसदहरू तोसिमा कार्की, सोविता गौतम लगायतका नेता पटक-पटक इलाम पुगेर घरदैलो र सभा गरेका थिए । मत परिणामले रास्वपाका शीर्ष नेताहरूको चुनाव अघिको मिहिनेत बालुवामा पानी खन्याएसरह भएको छ ।
इलाम उपनिर्वाचनका लागि रास्वपाले ‘प्राइमरी इलेक्सन’ गराएको थिएन । पार्टीभित्रका आधा दर्जन आकांक्षीलाई केन्द्रीय नेतृत्वले सहमति गराउँदै पूर्वमाओवादी कार्यकर्ता मिलन लिम्बूलाई पार्टीको उम्मेदवार घोषणा गरेको थियो । रास्वपासँग वैचारिक सैद्धान्तिक मतभेद राख्दै स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरे पनि लिम्बू अन्तिम समयमा रास्वपाकै उम्मेदवार बन्नुभएको थियो । मतदानका लागि रास्वपाको चुनाव चिन्ह ‘घण्टी’ अंकित ब्याच लगाएर आचारसहिंता विपरीत बुथमा पुगेका कारण मिलनको आलोचना भएको थियो । सामाजिक सञ्जालमा विभिन्न रूपमा भएका सर्वेक्षणहरूमा रास्वपाले इलाममा कडा टक्कर दिने संकेत देखाएकै थिए । अघिल्लो उपनिर्वाचनमा झैँ यसपटक पनि ‘घण्टी’ बज्ने अपेक्षा रास्वपाको थियो । तर, मतगणनाको अन्तिम परिणामले उपनिर्वाचनमा रास्वपाले ‘घण्टी’ बजाउन नसकेको हो ।
२०७९ असारमा स्थापना भएको रास्वपाले वैकल्पिक राजनीतिक दलको रूपमा आफूलाई उभ्याउँदै आएको थियो । स्थापनाको छोटो समयमै राष्ट्रिय राजनीतिमा निर्णायक शक्ति बनेको रास्वपा दोस्रोपटक वर्तमान सरकारमा सहभागी छ । सभापति रवि लामिछाने एकपछि अर्को विवादमा मुछिँदै जाँदा रास्वपाको वैकल्पिक राजनीतिको गतिमा ‘ब्रेक लागेको’ विश्लेषकहरूको टिप्पणी छ ।
पछिल्लोपटक देशभरका विभिन्न सहकारी ठगी प्रकरणमा रास्वपा सभापति एवं गृहमन्त्री लामिछानेको नाम जोडिँदै आएको छ । विभिन्न सहकारीको ५० करोडभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अवैध लगानी भएको पाइएको छ । गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेविरुद्ध समेत छानविन हुनुपर्ने माग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निरन्तर उठाउँदै आएको छ । एकातिर रास्वपा नेतृत्वको विवादास्पद छवि, अर्कोतिर पूर्वमाओवादी कार्यकर्तालाई उम्मेदवार बनाएको लगायतका कारणले इलाममा ‘घण्टी नबजेको’ विश्लेषण गरिएको छ ।
रास्वपाकै नेताहरू भने परिवर्तन अपरिहार्य भए पनि परिवर्तन जटिल भएको बताउँछन् । रास्वपा केन्द्रीय सदस्य एवं सांसद गणेश पराजुली परिवर्तनको अपरिहार्यता इलामले नबुझेको वा आफूहरूले बुझाउन नसकेको बताउनुहुन्छ । ‘परिवर्तनका लागि लाभ वा डरको अवस्था हुनुपर्छ । हालको राजनीतिले डर वा लाभको अवस्था सिर्जना गर्न सकेन । यस्तै, राजनीतिक अभ्यासले लाभ केही परिवारलाई र डर लाखौँ परिवारलाई हुन्छ भन्ने कुरा इलामले अझै बुझेन या भनौँ हामी राजनीतिक अभियन्ताले बुझाउन सकेनौँ’, पराजुलीले हिमालय टाइम्ससँग भन्नुभयो । इलाममा चौथो स्थान सीमित रहेको रास्वपाले बझाङको प्रदेशसभा सदस्य निर्वाचनमा भने उम्मेदवारी दिएको थिएन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच