भ्रष्टाचार, विकृति र विसङ्गतिको अन्त्य आजकाे आवश्यकता : अध्यक्ष नेपाल

Read Time = 3 mins

भक्तपुर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा विद्यमान भ्रष्टाचार, विकृति र विसङ्गतिको अन्त्य गर्नु आजको आवश्यकता रहेको बताउनुभएको छ ।

आज भक्तपुरको गठ्ठाघरस्थित सिभिएम सेकेण्डरी स्कुलको २५औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा बोल्दै उहाँले देशलाई अब सुशासन र विकासतर्फ अगाडि लैजानुपर्ने बताउनुभएको हो । सरकारले शिक्षाको गुणस्तरमा जोड दिनुपर्ने औल्याउँदै उहाँले शिक्षाले विवेक जागृत हुने ज्ञान दिन सक्नुपर्ने बताउनुभयो । उहाँले शिक्षा क्षेत्रले असल, इमानदार र कर्तव्यनिष्ठ विद्यार्थी उत्पादन गर्नुपर्ने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले समाजमा बस्ने सबैमा एक अर्कामा सम्मान र आदरको भावना विकास गर्नुपर्ने बताउँदै सुसंस्कृति, समृद्धि र प्रगतिको दिशामा लम्कनुपर्ने भनाइ राख्नुभयो ।

“हामी सबैसँग मित्रता चाहन्छौँ, हाम्रो भूमिलाई पनि कसैले समस्यमा नपारिदिउन् भन्ने चाहन्छौँ, म नेपाली हुँ भन्ने भावना सबैमा हुनुपर्छ, नेपाली पहिचान, भाषा, संस्कृति, इतिहास र असल परम्पराको संरक्षण गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य डा राजेन्द्रमान श्रेष्ठले अबको शिक्षा विश्वमा प्रतिष्पर्धा गर्न सक्ने खालको हुनुपर्ने बताउनुभयो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले विद्यार्थीहरुको चाहना भविष्यमा डाक्टर तथा इञ्जिनियरका साथै असल शिक्षक समेत बन्छु भन्ने हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा विद्यालयका अध्यक्ष श्यामसुन्दर बस्नेत, प्रिन्सिपल तेजकृष्ण श्रेष्ठ र कार्यकारी निर्देशक पुरुषोत्तम बुढाथोकीले विद्यालयले संस्कारयुक्त शिक्षालाई जोड दिएको बताउननुभयो । त्यस अवसरमा विद्यार्थीले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुका साथै उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?