प्रकाश नेपाल/सुरेश धामी/हिटा
इलाम, बझाङ । प्रतिनिधिसभाको इलाम क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार सुहाङ नेम्बाङको जित निश्चित देखिएको छ । यो समाचार तयार पार्दासम्म १५ हजारको हाराहारीमा मतगणना बाँकी छ तर सुहाङले कांग्रेस उम्मेदवार डम्बर खड्काभन्दा पाँच हजारभन्दा बढी अन्तरले अग्रता कायम गरिरहनुभएको छ । अघिल्लोपटक ११४ मतको झिनो मतान्तरले कांग्रेसका तत्कालीन उम्मेदवार डम्बर खड्का पराजित भए पनि अहिले उहाँको मत निकै कम देखिएको छ । गत भदौ २६ गते संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि वैशाख १५ गते शनिवार भएको उपनिर्वाचन भएको हो । निर्वाचनमा नेम्वाङका छोरा सुहाङले पुरानै प्रतिस्पर्धी खड्कासँगै प्रतिस्पर्धा गर्दा फेरि कडा टक्कर दिने अनुमान थियो । पहिचानवादीले धेरै एमालेको भोट काट्ने र ऊसमेत प्रतिस्पर्धा हुँदाको चार पक्षीय भिडन्तमा आफूले बाजी मार्ने कांग्रेसको योजनाले पनि इलाममा काम गर्न सकेन । बरु बलिया नेताको विरासत छोरामा सार्न खोज्दा पनि युवा उम्मेदवार सुहाङलाई इलामले यसपटक पत्याएको छ । जारी मतगणना प्रारम्भिकदेखि आधा गणना नाघिसक्दाको रुझानमा पनि एमाले उम्मेदवार सुहाङ बलियो देखिनुभएको छ । बलियो सांगठनिक शक्तिसहित चुनावी मैदानमा उत्रिएको एमालेले फेरि इलाममा बाजी मार्ने देखिएको छ । माइ र इलाम नगरपालिकाको मतगणनाबाट कांग्रेसले अप्रत्याशित नतिजा ल्याउने मतगणनाको रुझानले देखाएको छैन ।
इलाम बजार क्षेत्र पनि भएकोले गणना गर्न बाँकी मत कांग्रेसलाई मात्रै जाने देखिएको छैन । रास्वपाले पनि बजारबाट केही भोट बढाउन सक्ने र पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बूले पनि बजार क्षेत्रबाट केही भोट ल्याउँदा कांग्रेसले सुहाङलाई पाँच हजार बढी अन्तरलाई घटाउने गरी मत ल्याउन सक्ने देखिएको छैन । माङसेबुङ ५ नम्बर वडामा पहिचानवादीका थेगिमसँग एक हजार मतान्तरले पछाडि पर्नुबाहेक जारी मतगणनामा एमालेका उम्मेदवारलाई कुनै पनि दलले अहिलेसम्म टक्कर दिन सकेका छैनन् ।
गणना भइसकेका २६ वडामा एमालेले सबैभन्दा बढी १८ वटामा पहिलो बढी मत पाएको स्थिति छ । यसले पनि ४२ वटा वडासम्मैको गणनामा एमालेले सहजै जीतसम्म पुग्ने देखिएको हो । कांग्रेसको बलियो प्रभाव, रास्वपाले चुनाव जित्न सबै शीर्ष नेतालाई लामो समय इलाम खटाएर गरेको मेहनत र पूर्वको पनि इलाममा पहिचानवादीबाट उल्लेख्य मत काट्न सक्ने आकलनलाई एमाले गलत सावित गरिदिने बाटोमा अगाडि बढेको छ ।
अघिल्लोपटक एमालेका नेम्वाङ यही क्षेत्रबाट ३० हजार २० मत ल्याएर विजयी हुँदा कांग्रेसका डम्बरले २९ हजार ९०६ मत प्राप्त गर्नुभएको थियो । अहिलेकै अनुपातमा मत आए अघिल्लोको भन्दा आधा हाराहारी मत ल्याउने देखिएको छ । एमालेको पहिलो जति नै ३० हजार मत नआए पनि त्यसकै हाराहारी आउने देखिएको छ । एमालेले आफ्नो मत जोगाएर निर्वाचन जित्दा कांग्रेसको मत पनि आधा हुने देखिएको हो ।
बझाङमा एमाले उम्मेदवार भण्डारी विजयी
बझाङमा नेकपा एमालेका दमन भण्डारी ११ हजार ६१३ मतसहित विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २६७ मतले पछि पार्दै उहाँ विजयी हुनुभएको हो । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले भण्डारीले ११ हजार ६१२ मत प्राप्त गरी विजयी हुनुभएको जानकारी दिनुभयो । लामिछानेका अनुसार भण्डारीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार ३४६ मत प्राप्त गर्नुभयो ।
यस्तै, माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले तीन हजार ८३१ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले दुई हजार ५१४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत लामिछानेले जानकारी दिनुभयो । अन्य आठ दलले १० मत पनि मत पाउन सकेनन् । ६१ हजार ७६८ मतदातामध्ये ३० हजार ३३७ जना मतदाता मतदानमा सहभागी भएका थिए । खसेको जम्मा मत मध्ये २९ हजार ७०५ मत सदर भएको थियो । एकीकृत समाजवादीसहित आठ जना उम्मेदवारको धरौटी जफत भएको छ । जमानत बचाउन उम्मेदवारले १० प्रतिशत मत कटाउनुपर्ने हुन्छ । जसका लागि कम्तीमा दुई हजार ९७० मत ल्याउनुपर्ने थियो । ११ दलका उम्मेदवार मध्ये विजयी भएको एमाले दोस्रो भएको कांग्रेस र तेस्रो स्थानमा रहेको माओवादीबाहेक सबैको जमानत जफत भएको छ ।
भण्डारीको राजनीतिक यात्रा
वि.सं. २०२४ जेठ १४ गते छबिसपाथिभेरा गाउँपालिका-१ भण्डारी गाउँमा जन्मिनुभएका भण्डारीले २०४१ सालमा एसएलसी दिएर काठमाडौं जाँदा अनेरास्ववियुबाट विद्यार्थी राजनीति सुरु गर्नुभएको थियो । उहाँ नेपाल ल क्याम्पसबाट २०४२ सालमा अनेरास्ववियुमा आबद्ध हुनुभएको थियो । उहाँले नेपाल ल क्याम्पसबाट बिएल गरेपछि बझाङ फर्किएर थुप्रै समाज सुधारका काम गर्नुभएको थियो । २०५४ सालमा उहाँ नेकपा मटेला गाविसका अध्यक्ष निर्वाचित हुनुभयो । २०५५ सालमा नेकपा जिल्ला कमिटी सदस्य हुँदै २०५६ सालमा गाविस राष्ट्रिय महासंघका जिल्ला अध्यक्षमा निर्वाचित हुनुभयो । त्यसपछि उहाँ युवा संघ नेपालका सेती अञ्चल सचिवसमेत बन्नुभयो । नेकपा एमालेभित्र राम्रो काम गर्दै जानुभएका भण्डारी २०६९ सालमा जिल्ला कमिटी सचिवका रुपमा निर्वाचित हुनुभएको थियो । भण्डारी २०७८ सालदेखि हालसम्म नेकपा एमाले बझाङ जिल्ला कमिटी अध्यक्ष हुनुहुन्छ । उहाँका श्रीमति र एक छोरी हुनुहुन्छ । उहाँले यसअघि बझाङमा लैंगिक हिंसाविरुद्ध अभियान पनि चलाउनुभएको थियो । उहाँलाई एमालेभित्र इमान्दार, भद्र र शालीन पात्रका रूपमा चिनिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच