काठमाडौं । नाइस फर माइस एण्ड मोर भन्ने नाराका साथ नेपालको पर्यटन राजधानी पोखरामा ऐतिहासिक नेपाल इण्डिया चाइना एक्स्पो (नाइस २०२५) कार्यक्रम आयोजना हुने भएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले नेपाल पर्यटन बोर्ड, उद्योग तथा पर्यटन मन्त्रालय (गण्डकी प्रदेश), पोखरा महानगरपालिका, पोखरा टुरिजम काउन्सिल र अन्य प्रमुख पर्यटन संघसंस्था र सरकारी एवं निजी क्षेत्रका विभिन्न साझेदार संस्थाहरूसँगको सहकार्यमा आगामी २०२५ फेब्रुअरी २४ देखि २६ सम्म पोखरास्थित पोखरा इभेन्ट सेन्टरमा नाइस २०२५ एक्स्पो हुने भएको हो । पाटा नेपाल च्याप्टर, पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्ले संयुक्तरूपमा पोखरा पत्रकार सम्मेलन गर्दै नाइस २०२५ को घोषणा गरेका हुन् ।
नाइस २०२५ का संयोजक र पाटा नेपाल च्याप्टरका कार्यसमिति सदस्य सुनील भट्टराईले पर्यटन क्षेत्रका सबै सरोकारवालालाई सक्रिय सहकार्य र समर्थनका लागि निमन्त्रणा गर्दै भन्नुभयो, ‘विश्व पर्यटन इतिहासमै पहिलोपटक तीनवटा मुलुक समावेश भई आयोजना गरिने ‘नाइस’ सम्भवतः पहिलो पर्यटन मेला हुनेछ, जुन नेपालको पर्यटन प्रवद्र्धन तथा विकासका लागि सबैभन्दा महत्वपूर्ण निकट छिमेकी पर्यटन स्रोतबजार (चीन र भारत) बाट पर्यटन सम्बद्ध व्यवसायी र निजी तथा सरकारी निकायका सरोकारवाला एवं संघ संस्था एकै थलोमा आमन्त्रण गरी आपसी व्यापार प्रवद्र्धन, सम्पर्क सञ्जाल विस्तार तथा त्रिदेशीय पर्यटनका नयाँ आयाम उजागर गराउन प्रेरणा प्रदान गर्ने महत्वपूर्ण मञ्च बन्ने विश्वास गरेका छौँ ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नाइस २०२५ नेपालकै पर्यटन राजधानी पोखरामा आयोजना हुन लागेकोमा खुसी र गर्व लागेका भन्दै नाइस २०२५ पोखरामा हालसम्मकै सबैभन्दा ठूलो कार्यक्रम हुने बताउनुभयो । जसले पोखराको पर्यटनलाई उल्लेखनीयरूपमा प्रवद्र्धन गर्ने उहाँको भनाइ थियो । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन बोर्ड र पाटा नेपालले पहिलोपटक विभिन्न स्थानीय, राष्ट्रिय तथा क्षेत्रीय संघसंस्थासँग मिलेर त्रिदेशीय एक्स्पो आयोजना गर्ने घोषणा गर्न पाउँदा आफू अत्यन्त उत्साहित भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो विशेष कार्यक्रमले विश्वकै दुर्ई ठूला आउटबाउन्ड बजारलाई नेपालमा ल्याएर कनेक्ट गर्नेछ । यो एक्स्पोले क्रेता र बिक्रेता जोड्ने लाभदायक व्यापार सम्झौता प्रोत्साहित गर्ने, ज्ञान आदानप्रदान गर्ने, विशिष्ट अनुभवात्मक यात्रा कार्यक्रम प्रदर्शन गर्ने र अन्तर्राष्ट्रिय खरिदकर्ता र प्रभावशाली व्यक्तिहरूलाई नेपालको जीवन्त पर्यटन गन्तव्य र गतिविधि अनुभव गर्न दिने प्लेटफर्मका रूपमा काम गर्नेछ ।’
पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बडालले ऐतिहासिक एक्स्पोमा सयभन्दा बढी क्रेता, ८० भन्दा बढी बिक्रेता, चीन र भारतका २५ भन्दा बढी सञ्चारकर्मी र विज्ञ वक्तालगायत पर्यटनसँग सम्बद्ध स्थानीय संघसंस्था, सरकारी निकाय तथा सरोकारवाला गरी हजारभन्दा बढीको सहभागिता रहने अपेक्षा रहेको बताउनुभयो । पत्रकार सम्मेलनमा पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयका प्रमुख नवीन पोखरेल, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीलगायतले पोखरा पर्यटन समुदायको सहयोग र सहकार्यले नाइस २०२५ लाई पोखराका लागि विशेष र प्रभावकारी कार्यक्रम बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच