काठमाडौ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा बिहीबार भारतको राजधानी नयाँदिल्ली पुग्नुभएको छ । उहाँ युरोपका केही कार्यक्रममा सहभागी भई बुधबार जर्मनीको बर्लिनबाट नयाँ दिल्लीतर्फ प्रस्थान गर्नुभएको थियो । मन्त्री देउवाले आज (शुक्रबार) नयाँ दिल्लीमा आयोजना हुने नेपाल-भारत आर्थिक सम्मेलनलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि मन्त्री देउवाले नयाँ दिल्लीमा नियमित स्वास्थ्य परीक्षण गराउने उहाँका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिनुभयो । केही दिन भारतमा रहने राणाले समकक्षी डा. एस जयशंकर लगायतसँग भेटवार्ता गर्ने सम्भावित कार्यसूची रहेको बुझिएको छ ।
तर, भेटघाटको समय तालिका हालसम्म तय नभएको बताइएको छ । त्यसका लागि परराष्ट्र मन्त्रालयले नेपालस्थित भारतीय दूतावास र भारतस्थित नेपाली दूतावाससँग समन्वय गरिरहेको छ ।
प्रधानमन्त्री ओलीको भारत भ्रमण तय हुने आँकलन
प्रधानमन्त्री केपी शर्मा ओलीको पनि भारत भ्रमण हुने चर्चा चलिरहेको छ । यही बीचमा परराष्ट्रमन्त्री आरजुको भारत भ्रमण भएको हो । परराष्ट्रमन्त्री भएपछि आरजुको यो दोस्रो भारत भ्रमण हो । यसअघि पनि उहाँ स्वाथ्य जाँचका लागि दिल्ली जाने भनेपछि विदेशमन्त्री एस.जयशंकरले औपचारिक निमन्त्रणा नै दिनुभएको थियो । त्यसपछि औपचारिक निमन्त्रणामा उहाँ भारतको भ्रमणमा जानुभएको थियो । सो क्रममा उहाँले त्यतिबेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, सुरक्षा सल्लाहकार अजित डोभाल, विदेशमन्त्री एस.जयशंकर लगायतका उच्च तहका व्यक्तिहरूसँग भेटघाट गर्नुभएको थियो । त्यतिबेला मन्त्री आरजुले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको थियो । तर, आशा गरेबमोजिम भारतले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिएन । भारतले निम्तो नदिएपछि प्रधानमन्त्री ओली चीनको भ्रमण (मंसिर १७-२०) गर्नुभएको थियो । चीनबाट फर्केलगतै उहाँले आफू भारतको भ्रमण गर्ने धारणा सार्वजनिक गर्नुभएको थियो । तर, भारतले अझै निमन्त्रणा गरेको छैन । परराष्ट्रमन्त्री आरजुको भारत भ्रमणपछि प्रधानमन्त्री ओलीको पनि भ्रमण तय हुने धरैको आँकलन छ । परराष्ट्रमन्त्री आरजु बेल्जियम, नेदरल्याण्ड्स र लक्जेम्बर्गको भ्रमणपश्चात् जर्मनीको भ्रमण गर्नुभएको थियो । त्यहाँको यौनिक र लैंगिक अल्पसंख्यकहरूको अधिकारसम्बन्धी सम्मेलनलाई सम्बोधन गरेर दिल्लीका लागि प्रस्थान गर्नुभएको थियो ।
परराष्ट्रमन्त्री आरजु चीन भ्रमणबाट मंसिर २० गते फर्किनुभएको थियो र २२ गते युरोप भ्रमणका लागि निस्कनुभएको थियो । युरोपबाट पुस ५ गते नेपाल फर्किने कार्यक्रम तय थियो तर उहाँ अचानक युरोपबाट नै भारत जानुभयो । उहाँ आगामी सोमबार नेपाल फर्किने बताइएको छ । परराष्ट्रमन्त्री आरजुको भारत भ्रमणको विषयलाई लिएर नेपालस्थित भारतीय दूतावासका कार्यवाहक राजदूत प्रसन्न श्रीवास्तव र परराष्ट्र मन्त्रालयका निमित्त सचिव अमृतबहादुर राय बिच भेटघाट भएको थियो । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्त केही दिनदेखि दिल्लीमै हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच