✍️ प्रा.डा.तीर्थप्रसाद मिश्र
विसं २०७९ असार ६ गते नेपाल सरकारले जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गर्यो तर यस समाचारले उल्लेख्य प्रतिक्रिया पाएन । यस विषयमा खासै चासो, उत्साह, प्रतिक्रिया, समर्थन अथवा विरोधका स्वर गुञ्जिएनन् । राजनीतिक घटनाको विश्लेषण तथा ताली र गालीमा मात्र रमाउने छापाहरूले पनि यस विषयलाई अपेक्षित महत्व दिएनन् । बझाङी राजा जयपृथ्वीबहादुर सिंह (श्री ३ जंगबहादुरका छोरीका छोरा नाति तथा श्री ३ चन्द्रशमशेरका छोरीज्वाइँ) को जन्म ७ भदौ १९३४ मा बझाङको चैनपुरमा भएको थियो । आश्रित राज्यका रूपमा रहन स्वीकार गरेका कारण बझाङका राजालाई मानार्थ राजा दिने प्रचलन बहादुर शाहको नायवी कालदेखि नै चलेको थियो ।
बझाङका राजपरिवारसँग कालान्तरमा राणा र शाह शासकहरूसँग बिहेबारी सम्बन्धका कारण पनि यो परम्परा चल्दै थियो । पहिले धेरै राजा भएकोमा राजारजौटा उन्मुलन हुँदा पनि बझाङ, जाजरकोट, सल्यान र मुस्ताङमा पूर्ववर्ती शासकका सन्तानलाई राजा दिने प्रचलनले निरन्तरता पायो । अब त यो प्रथा खारेज भएकाले यो विषय इतिहासको विषय बन्न पुगेको छ । जयपृथ्वीबहादुर सिंह राणा शासककै नातेदार भएबाट मात्र चर्चित भएका थिएनन् । उनी एक सिद्धहस्त लेखक, मानवताका हिमायती, शान्तिका दूत, शिक्षाप्रेमी, समाज सुधारक, कुशल पत्रकार, सक्षम कूटनीतिज्ञ तथा स्वाभिमानी व्यक्ति थिए ।
नेपाललाई विश्व समुदायमा चिनाउने व्यक्ति सिंहले आफ्नै ससुरा चन्द्रशमशेरसँग पनि आत्मसम्मान र आत्मविश्वासका कारण टक्कर लिए । मानवताका सरल पात्र जयपृथ्वीबहादुर सिंहको बहुआयामिक व्यक्तित्वका विषयमा चर्चा गर्ने उद्देश्य यस आलेखको नभएकाले उनको विस्तृत परिचय र योगदानतर्फ लागिएन तर यस्ता ऐतिहासिक व्यक्तित्वलाई राष्ट्रिय विभूतिको सम्मान घोषणा गर्दा स्वयं सरकार नै सम्मानित हुन पुगेको छ । यस सम्मानबाट उत्साहित भई नेपालका राष्ट्रिय विभूतिका विषयमा चिन्तन गर्नु नै यस लेखको उद्देश्य हो ।
श्री ५ महेन्द्रको राज्यकालमा पहिलो पटक मरणोपरान्त राष्ट्रिय विभूति सम्मान प्रदान गर्न सुझाव दिनेगरी बालकृष्ण समको अध्यक्षतामा एक समिति गठन भयो । उक्त समितिको सुझावका आधारमा १३ जना व्यक्तित्वलाई राष्ट्रिय विभूति घोषणा गरियो ।
मुलुकमा उल्लेख्य योगदान गरेका व्यक्तित्वलाई मरणोपरान्त सम्मान गर्ने परिपाटी विश्वका विभिन्न राष्ट्रले अनुसरण गर्दै आएका दृष्टान्त पाइन्छन् । इतिहासको कालखण्डमा विविध क्षेत्रमा उल्लेखनीय र प्रशंसनीय कार्य गर्ने व्यक्तित्वलाई सम्मान गर्नु समाजको सुन्दर पक्ष पनि हो । यस्ता महामानवप्रति सदैव स्मरण गरी भावी पुस्तालाई पनि उनीहरूको योगदान बलिदान आदिको परिचय गराउन पनि यो परम्परा उपयुक्त मानिन्छ । हाम्रो देश नेपाल गौरवपूर्ण अतीत भएको मुलुक हो । यस देशको गरिमा बढाउन विभिन्न व्यक्तित्वले योगदान गरेका छन् । त्यस्ता व्यक्तित्वको कार्यको स्मरण गर्नैपर्ने हुन्छ ।
श्री ५ महेन्द्रको राज्यकालमा पहिलो पटक मरणोपरान्त राष्ट्रिय विभूति सम्मान प्रदान गर्न सुझाव दिने गरी बालकृष्ण समको अध्यक्षतामा एक समिति गठन भयो । उक्त समितिको सुझावका आधारमा १३ जना व्यक्तित्वलाई राष्ट्रिय विभूति घोषणा गरियो । यसरी विभूति घोषणा गर्दा देशको रक्षाका लागि बलिदानी गर्ने, बहादुरी प्रदर्शन गर्ने व्यक्तिका साथै आर्थिक, सामाजिक तथा साहित्यिक क्षेत्रमा प्रशंसनीय कार्य गर्ने, प्रजातन्त्र प्राप्तिका लागि संघर्ष गर्ने र विदेशमा नेपालको छवि उजिल्याउने व्यक्तित्वहरू समावेश गरिएको टिप्पणी आएको थियो । ती १३ जना राष्ट्रिय विभूतिमा गौतम बुद्ध, जनक, सीता, अंशुबर्मा, अरनिको, रामशाह, पृथ्वीनारायण शाह, अमरसिंह थापा, भीमसेन थापा, भानुभक्त आचार्य, बलभद्र कुँवर, मोतीराम भट्ट तथा त्रिभुवन थिए ।
यसका अतिरिक्त विसं २०५६ मा शंखधर साख्वा, २०५९ मा पासाङ ल्हामु शेर्पा २०६६ मा महागुरु फाल्गुनन्द, २०७८ मा भक्तिथापा र २०७९ मा जयपृथ्वीबहादुर सिंह गरी हाल १८ जना राष्ट्रिय विभूति घोषणा गरिएको छ । राष्ट्रिय विभूतिका रूपमा कस्ता-कस्ता व्यक्तित्वलाई सम्मान भयो त भन्ने विषयमा समीक्षा गर्न सान्दर्भिक र समय सापेक्ष नै होला । यी १८ जना राष्ट्रिय विभूतिमध्ये जनक, अंशुवर्मा, रामशाह, पृथ्वीनारायण शाह तथा त्रिभुवन गरी पाँचजना राजाहरू समावेश भएका छन् । पौराणिक कालका जनक, लिच्छवि कालका अंशुवर्मा तथा शाहकालका रामशाह, पृथ्वीनारायण शाह र त्रिभुवन नेपालको राष्ट्रिय विभूति बनेका छन् ।
यिनको योगदान नभएको त होइन तर किन अन्य उल्लेख्य योगदान गरेका राजा छैनन् त भन्ने प्रश्न टड्कारै र ठूलै स्वरमा सुनिन थालेको छ । राजा जनकका विषयमा अनुश्रुतिबाहेक अन्य कुनै प्रमाण छैन । लिच्छवि कालका अंशुवर्मालाई महत्व दिँदा मानदेव, नरेन्द्रदेव र उद्धवदेवको अवमूल्यन भएन र ? मध्यकालीन काठमाडौं उपत्यका खसिया मल्लका बाइसी चौबीसी कुनै पनि राजा किन परेनन् ? काठमाडौं उपत्यकाका सिद्धिनरसिंह मल्ल, यक्ष मल्ल, प्रताप मल्ल तथा भूपतिन्द्र मल्ल जस्ता राजाहरूको कार्य र योगदान नभएकै हो त ? खसिया मल्लमा पुण्य मल्ल, पृथ्वी मल्ल, जितारी मल्ल, कर्नाटक वंशी नान्यदेव तथा पाल्पाली राजा मुकुन्द सेन पनि बिर्सनै नहुने राजाहरू हुन् ।
यस्ता अहम् सबाललाई नजरअन्दाज गर्न सकिँदैन । प्रधानमन्त्रीमा किन भीमसेन थापा मात्र परे ? जंगबहादुर, चन्द्रशमशेर, देवशमशेर, पद्मशमशेर, बीपी कोइराला, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई तथा सुशील कोइरालाले मुलुकका लागि गरेका महत्वपूर्ण कार्यको वस्तुनिष्ठ मूल्यांकन भयो त ? भन्ने प्रश्नको समुचित उत्तर पाउन सकिँदैन । नेपालको इतिहासमा सीताको योगदानका विषयमा प्रामाणिक दस्तावेज छैन । भृकुटीले बौद्ध धर्म प्रचारप्रसारमा योगदानमात्र गरेकी होइनन् चीन र तिब्बतसँग नेपालको संस्थागत सम्बन्ध स्थापना गराउने कार्यमा कोसेढुंगाको काम गरेकी थिइन् ।
उनकै कारणले पनि तिब्बतमा नेपालको बलियो उपस्थिति सम्भव भयो । यसरी हेर्दा अरनिकोको योगदानभन्दा भृकुटीको योगदान बीसको उन्नाइस थिएन । राणा कालमा नारी आन्दोलन, जागरण र कूरीतिविरुद्ध आवाज बुलन्द पार्ने योगमायालाई इतिहासले बिर्सिएको हो त ?नेपाल-अंग्रेज युद्धमा बहादुरी देखाउने अमरसिंह थापा, बलभद्र कुँवर तथा भक्ति थापा विभूति घोषणा हुँदा प्रहृलाद गुरुङ किन परेनन् ? भन्ने चर्चा परिचर्चा भएकै हो । लक्ष्मीप्रसाद देवकोटा, नारायणगोपाल, बाबुराम आचार्य तथा नयराज पन्त जस्ता व्यक्तित्व राष्ट्रिय विभूति हुन योग्य छैनन् ? भन्ने कुराको बहस चल्न थालेको छ ।
तत्कालीन राजनीतिको प्रत्यक्ष वा परोक्ष प्रभाव विभिन्न क्षेत्रमा पर्दछ । यो तथ्य ध्रुवसत्य हो । तत्कालीन परिस्थिति परिवेश आदिका आधारमा पनि कतिपय महत्वपूर्ण निर्णय लिइन्छ, लिनु पनि पर्छ तर अति राजनीतिकरण भने समाजलाई सुपाच्य हुँदैन ।
तत्कालीन राजनीतिको प्रत्यक्ष वा परोक्ष प्रभाव विभिन्न क्षेत्रमा पर्दछ । यो तथ्य ध्रुवसत्य हो । तत्कालीन परिस्थिति परिवेश आदिका आधारमा पनि कतिपय महत्वपूर्ण निर्णय लिइन्छ, लिनु पनि पर्छ तर अति राजनीतिकरण भने समाजलाई सुपाच्य हुँदैन । राष्ट्रिय विभूति घोषणा गर्दा तुष्टीकरणको नीति अवलम्बन गरिनु हुँदैन र पूर्वाग्रह पनि राख्नु हुँदैन । काठमाडौं वा नेवार समुदायले शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्न जोडदार माग र पहल नभएको भए उनी विभूति घोषणा हुने नै थिएनन् । यसै गरी भक्ति थापा स्मृति प्रतिष्ठानको पहल पैरबी र लामो रस्साकस्सी नभएको भए भक्ति थापा राष्ट्रिय विभूति घोषणा हुने स्थिति नै थिएन ।
किरातीहरूले जोडदार माग नउठाएको भए फाल्गुनन्द पनि राष्ट्रिय विभूति घोषणा हुने थिएनन् । यस पृष्ठभूमिलाई हेर्दा जयपृथ्वीबहादुर सिंह पनि कतैबाट भएको पहल र तुष्टीकरण नीतिकै कारण विभूति घोषित भएका हुन सक्छन् । राष्ट्रिय विभूति घोषणा गर्दा लिने तुष्टीकरणको नीतिले मुलुकलाई नै कालान्तरमा प्रत्युत्पादक हुनसक्छ भन्ने हेक्का राख्नु जरुरी छ । प्रस्ट नीति, कार्यविधि र आधारविना नै राष्ट्रिय विभूति घोषणा गर्ने हालको प्रचलनबाट इतिहासका कालखण्डमा सम्बन्धित क्षेत्रमा विशेष योगदान दिएका व्यक्ति समाविष्ट हुन नसक्दा राष्ट्रिय विभूतिको गरिमा, महिमा र मर्यादामा नै आँच पुग्न गएको टिप्पणी सुन्ने बेला आएको छ ।
राष्ट्रिय विभूति एकपटक घोषणा भइसकेपछि रद्द वा फिर्ता लिने कुरा होइन तर यस्ता दीर्घकालीन प्रभाव पार्ने खालका विषयमा पटके निर्णय र घोषणा गर्न नहुनेतर्फ सचेत हुन जरुरी छ । त्यसैले खास मापदण्ड तयार पारी सोको आधारमा राष्ट्रिय विभूति घोषणा गर्ने कार्य प्रारम्भ गरी राष्ट्रिय विभूतिको सम्मान गर्न राष्ट्रिय स्तरमा बहस, अध्ययन र विचार विमर्श अपेक्षित छ । यत्रतत्र सर्वत्र राजनीतिक मुद्दाले सर्वाधिक प्राथमिकता पाउने वर्तमान सन्दर्भमा यो आवाज अरण्य रोदनमात्र हुन सक्छ । अस्तु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच