काठमाडौं । नेपाली वाङ्मयका क्षेत्रमा महत्वपूर्ण र विशिष्ट योगदान पुर्याउनुभएका शताब्दी पुरुष सत्यमोहन जोशीको महाप्रस्थान भएको छ । स्व. जोशीलाई राजकीय सम्मानका साथ अन्तिम बिदाइ गरिएको छ । ललितपुर महानगरपालिका परिसरमै राष्ट्रिय सम्मानस्वरूप नेपाल प्रहरीको एक टुकडीले सलामी चढाएको थियो । शोक सलामीपछि जोशीको पार्थिव शरीर ललितपुरस्थित किष्ट अस्पताललाई हस्तान्तरण गरिएको थियो ।
यसअघि ललितपुर महानगरको प्रांगणमा उहाँको पार्थिव शरीरमा प्रधानमन्त्री शेरबहादुर देउवालगायत विशिष्ट व्यक्तिहरूले फूलमाला अर्पण गरेर सम्मान प्रकट गर्नुभएको थियो । उहाँले जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउनुभएको थियो । पुरातत्वविद् जोशीप्रति श्रद्धाञ्जलि अर्पण गर्न अग्निप्रसाद सापकोटा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ त्यहाँ पुग्नुभएको थियो । अन्तिम श्रद्धाञ्जलि दिन सर्वसाधारणको समेत ठूलो उपस्थिति थियो ।
आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएपछि उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि पहिला किष्ट अस्पतालमा राखिएको थियो । अस्पताल परिसरमा उहाँको पार्थिव शरीरलाई १०ः४५ देखि ११ः३० बजेसम्म अन्तिम श्रद्धाञ्जलि दिएपछि ललितपुर महानगर ल्याइएका थियो ।
अपरान्ह ४ बजेसम्म महानगरपालिकाको प्रांगणमा अन्तिम श्रद्धाञ्जलिका लागि राखेर पुनः किष्ट अस्पतालमा लगिएको थियो । मृत्युपर्यन्त मेडिकल साइन्सका विद्यार्थीहरूलाई आफ्नो शरीर अध्ययनका लागि हस्तान्तरण गर्ने जोशीको प्रणअनुसार किष्ट मेडिकल कलेजलाई पार्थिव शरीर हस्तान्तरण गरिएको हो । जोशीको पार्थिव शरीर अध्ययनका लागि राखिएको छ । उहाँको उपचारको क्रममा ललितपुरस्थित किष्ट अस्पतालमै १०३ वर्षको उमेरमा निधन भएको थियो ।
परिवारले भने उहाँको जन्मकुण्डलीको अन्त्येष्टि गरेको छ । जोशीको जन्मकुण्डली शंखमुलस्थित बागमती नदी घाटमा आइतबार साँझ जेठा छोरा अनुराज र कान्छा छोरा डा. पूर्णराज जोशीले जलाउनुभएको हो । जोशीले आफ्नो शरीर अस्पताललाई दान दिएका कारण छोराहरूले पिता (सत्यमोहन जोशी) को इच्छाबमोजिम जन्मकुण्डलीको अन्त्येष्टि गरेका हुन् ।
ज्ञान र अनुभवले भरिपूर्ण उहाँ सधैँसरल र विनम्र हुनुहुन्थ्यो । जोशीले नेपाली साहित्य र संस्कृतिका क्षेत्रमा पुर्याएको योगदान अतुलनीय छ । वि.सं. २०१३ सालमा उहाँको कृति ‘लोक संस्कृति’ले पहिलोपटक मदन पुरस्कार पाएको थियो । ‘नेपाल राष्ट्रिय मुद्रा’का लागि उहाँले ०१७ सालमा दोस्रोपटक मदन पुरस्कार प्राप्त गर्नुभयो । ०२८ सालमा ‘कर्णाली लोक संस्कृति’ पुस्तकमार्फत उहाँले तेस्रोपटक मदन पुरस्कार प्राप्त गर्नुभएको थियो । तीनपटक यो पुरस्कार प्राप्त गर्ने उहाँ एक्लो व्यक्तित्व हुनुहुन्छ ।
संस्कृतिबाहेक उहाँका अरू पनि थुप्रै कृतिहरू प्रकाशित छन् । जोशीका नाट्यकृतिहरू पनि प्रकाशित छन् । केही कथासंग्रहसमेत प्रकाशित छन् । पुरातत्व विभागको पहिलो निर्देशकका रूपमा कार्यभार सम्हाल्नुभएका जोशीले नियात्रा विधामा पनि कलम चलाउनुभएको छ ।
माता राजकुमारी र पिता शंकरराज जोशीका ज्येष्ठ सुपुत्र सत्यमोहनको जन्म वि.सं. १९७७ साल वैशाखमा ललितपुरको बखुम्बहालमा भएको थियो । १०० वर्षको उमेरमा पनि उहाँको साहित्य र संस्कृतिप्रतिको उत्साह उत्तिकै लोभलाग्दो थियो । देहत्याग गर्नुभन्दा केही साताअघि सम्मसमेत उहाँले साहित्यकारहरूलाई प्रत्यक्ष रूपमा प्रेरणा दिँदै आउनुभएको थियो । थुप्रै पुरस्कार तथा प्रसिद्ध पदकहरूबाट सम्मानित जोशीलाई काठमाडौं विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि प्राप्त थियो ।
बहुआयामिक विधामा योगदान
नेपालको साहित्यिक उन्नयनमा जोशीको विशेष योगदान रही आएको छ । शताब्दी पुरुष जोशी सरकारी सेवामा रहेर आफैँ सम्पदा हुनुभयो । उहाँले ०१५ सालमा पहिलोपटक खुलेको पुरातत्व विभागको निर्देशक भएर धेरै प्राचीन मूर्तिहरू सार्वजनिक स्थलहरूबाट संग्र्रहालयमा स्थानान्तरण गर्नुभयो । सांस्कृतिक सम्पदाको संरक्षण र प्रचारप्रसार गरेर उहाँले मानिसहरूलाई सांस्कृतिक सम्पदाको महत्व बुझाउन सफल हुनुभयो । बहुआयामिक विधामा उहाँको योगदान स्तुत्य रहँदै आएको छ ।
शताब्दी पुरुष जोशीका जयप्रकाश र श्वेत चैत्य महाकाव्य कृति छन् । यस्तै, कलाकार अरनिको, चारुमती, सुनकेशरी, बाघभैरव, नेपाली कलाको रूपरेखा, नेपाली धर्ममूर्तिको विकासक्रम लगायतका पुस्तक प्रकाशनमा आएपछि त्यस सम्बन्धमा नयाँ तथ्यहरू उजागर भएका थिए । नेपाली वाङ्मयका हरेक क्षेत्रमा योगदान पुर्याउनुभएका अग्रणी व्यक्तित्व जोशीले नेपाल प्रज्ञा प्रतिष्ठानबाट त्रिभुवन प्रज्ञा पुरस्कार, भूपालमानसिंह प्रज्ञा पुरस्कार, श्रेष्ठ शिल्पा, काठमाडौं विश्वविद्यालयबाट मानार्थ विद्यावारिधिलगायत सयौँ पुरस्कार तथा अभिनन्दन ग्रहण गर्नुभएको छ । जोशीलाई विसं २०६९ मा ‘पद्मश्री साधना सम्मान पुरस्कार’ प्रदान गरिएको थियो ।
जोशीको एक सय वर्षको जन्मोत्सवमा नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाले वाङ्मय शताब्दी पुरुष जोशीको तस्बिर अंकित चाँदीको सिक्का निष्कासन गरेको थियो । रु दुई हजार पाँच सयका २५ हजार थान, रु एक हजारका २५ हजार थान र रु एक सयका १० हजार थान सिक्कामा एकातिर जोशीको तस्बिर छ भने अर्कोतिर सगरमाथाको तस्बिर रहेको छ ।
शताब्दी पुरुष जोशी नेपालका सच्चा सपूत, असली रत्न, नेपाली ज्ञानोदयका सूत्रधार, नेपाल राष्ट्रका गौरव र अजम्मरी राष्ट्रिय सम्पदाका रूपमा रहनुभयो । अत्यन्त लगनशील, सिर्जनशील र ओजस्वी व्यक्तित्वको उहाँको छवि थियो । जोशी समाजका सबै वर्ग समुदाय तथा तह र तप्का प्रेरणाका स्रोत हुनुहुन्थ्यो ।
जीवित रहँदै हुलाक टिकट
शताब्दी पुरुष जोशीले बाँचेकै बेला आफ्नो तस्बिर अंकित हुलाक टिकट देख्न पाउनुभयो । राजपरिवार बाहिरका कुनै पनि नेपालीको यसरी जीवित अवस्थामै टिकट प्रकाशित भएको त्यो पहिलो घटना थियो । उहाँको चित्र अंकित हुलाक टिकट ऐतिहासिक बन्न पुग्यो । ललितपुर महानगरपालिकाले पहल सुरु गरेअनुसार २०७६ चैत ९ गतेको मन्त्रिपरिषद् बैठकले टिकट प्रकाशनको निर्णय गरेको थियो । टिकटमा २०७७ माघ २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले टाँचा लगाउनुभएको थियो ।
धेरै कुराका सुरुवातकर्ता
शताब्दी पुरुष जोशीले आफ्नो जीवनकालमा थुप्रै ऐतिहासिक काम गर्नुभयो । उहाँ विसं २०१६ सालमा स्थापना भएको पुरातत्व तथा संस्कृति विभागको पहिलो निर्देशक हुनुभयो । यस्तै, चीनमा गएर अरनिकोले गरेको योगदानबारे विस्तृत अध्ययन गर्ने पनि उहाँ पहिलो नेपाली हुनुहुन्थ्यो ।
त्यसैगरी, नेपालमा सर्वाधिक तीनपटक मदन पुरस्कार प्राप्त गर्ने उहाँ पहिलो व्यक्तित्व हुनुहुन्छ । उहाँले विसं २०१३, २०१७ र २०२८ मा मदन पुरस्कार प्राप्त गर्नुभएको थियो । यस्तै, ई-पासपोर्ट पनि पहिलोपल्ट उहाँलाई नै प्रदान गरिएको थियो । उहाँलाई १ मंसिर २०७८ मा परराष्ट्रमन्त्री नारायण खड्काले ई-पासपोर्ट प्रदान गर्नुभएको थियो ।
राष्ट्रपति भण्डारी, प्रधानमन्त्री देउवा र शीर्ष नेताद्वारा दुःख व्यक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट पीडाबोध भएको बताउनुभएको छ । जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको भन्दै उहाँले जोशीको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको स्रोत भएको समेत उल्लेख गर्नुभएको छ ।
त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले जोशीको निधनमा श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । उहाँले जोशीको निधनको खबरले दुःखित तुल्याएको बताउँदै नेपाली संस्कृतिको क्षेत्रमा जोशीले गरेको योगदान राज्यले सधैँ सम्झिरहने बताउनुभएको छ । उहाँले जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउनुभएको थियो । ललितपुर महानगरपालिका परिसरमा पुगेर प्रधानमन्त्री देउवाले जोशीलाई श्रद्धाञ्जलि दिँदै राष्ट्रिय झण्डा ओढाउनुभएको हो ।
त्यस्तै, एमालेका अध्यक्ष केपी शर्मा ओलीले जोशीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उहाँको निधनले बितेको शताब्दीसँग अहिलेको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमेको उल्लेख गर्नुभएको छ ।
त्यसैगरी, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि शताब्दी पुरुष जोशीको निधनबाट स्तब्ध भएको बताउनुभयो छ । जोशीलाई श्रद्धाञ्जलि अर्पण गर्दै उहाँले नेपाल सरकार, नेपाली जनताले उहाँको योगदान र क्रियाशीलताको सदा उच्च सम्मान गरिरहने विश्वाससमेत व्यक्त गर्नुभयो ।
यस्तै, नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पनि शोक वक्तव्य जारी गर्नुभएको छ भने साहित्यकार तथा महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम दाहालले संस्कृति र इतिहासका मूर्धन्य शताब्दी पुरुष जोशीको पार्थिव अवशानले अपूरणीय रिक्तता भएको बताउनुभएको छ । उहाँलाई महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानले निधि राष्ट्रिय पुरस्कारद्वारा सम्मानितसमेत गरेको थियो ।
तीन दर्जन बढी साहित्यक संघ/संस्थाद्वारा शोक वक्तव्य
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा तीन दर्जनभन्दा बढी साहित्यिक संघ/संस्थाले शोक व्यक्तव्य जारी गरेका छन् । यसरी शोक व्यक्तव्य जारी गर्ने संघ संस्थामा साहित्यिक पत्रकार संघ, शंकर लामिछाने प्रतिष्ठान, नेपाल स्रष्टा समाज, दायित्व वाङ्मय प्रतिष्ठान, वासुशशी स्मृति परिषद्, लघुकथा समाज नेपाल, गुञ्जन, भूगोल साहित्य समाज, ललितपुर कला संस्कृति प्रतिष्ठान, नेपाल भारत–साहित्य प्रतिष्ठान, नेपाल मुक्तक प्रतिष्ठान, शब्दपथ, नारी साहित्य प्रतिष्ठान, शिवपुरी साहित्य समाज, उपन्यास समाज नेपाल, नियात्रा समाज नेपाल, चेतन कार्की प्रतिष्ठान, सर्वदा वाङ्मय प्रतिष्ठान, सञ्चार मञ्च रहेका छन् । यस्तै, नेपाली कला साहित्य डटकम,. अनेसास नेपाल च्याप्टर, उर्वरा फाउन्डेसन, सखी प्रतिष्ठान, जनमत मासिक, नारी स्रष्टा समाज, नेपाली साहित्य मन्दिर, नारीस्वर, महिला गीतकार संघ नेपाल, डा. हर्षबहादुर बुढामगर स्मृति प्रतिष्ठान, मदन दीपबिम स्मृति परिषद्, घुम्ती मुक्तक नेपाल, एपेक नेपाल, संसाक मासिक, नेपाल साहित्यिक पत्रकार संघ, सिद्दिश्वरमान अक्षयलोक साहित्यिक केन्द्र लगायतका रहेका छन् । यस्तै, समाजका विभिन्न व्यक्तित्वहरूले उहाँको निधनमा सामाजिक सञ्जाल लगायतमा शोक व्यक्त गरेका छन् ।
सादा जीवन, सक्रिय जीवन, सकारात्मक सोच राख्ने, भाषा, साहित्य, कला र संस्कृतिको अनवरत साधनारत उहाँ अब हामीमाझ रहनुभएन । अग्लो उचाइ, गर्विलो आवाज अब सार्वजनिक समारोहमा देखिने छैन तर, हाम्रो सम्झनामा, उहाँले छोडेर गएका कृतिहरूमा सधैँ रहिरहनु हुनेछ । अलबिदा शताब्दी पुरुष !
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच