बर्दिया १ मा सञ्जय गौतम लक्ष्मण ज्ञवालीसँग भिड्दै

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 8 mins

बर्दिया । नेकपा एमाले र माओवादी केन्द्र एउटै भएको बेला वामदेव गौतमलाई पराजित गर्दै चर्चा बटुल्नुभएका नेपाली कांग्रेसका नेता सञ्जय गौतम यसपटक वामदेव गौतमकै ज्वाइँसँग प्रतिस्पर्धा गरिरहनुभएको छ । देशको राजनीतिक भूगोलमा बर्दिया क्षेत्र नं. १ को निर्वाचन जहिले पनि चर्चाको विषय बन्ने गर्दछ । २०४६ सालको प्रजातन्त्रपछि एमालेको लालकिल्लाका रूपमा परिचित बर्दिया माओवादीको उदयसँगै एमालेबाट खोसिएको थियोे । माओवादी र नेकपा एमालेको बलियो पकट भएको यो क्षेत्रमा पछिल्लोपटक २०७४ सालको निर्वाचनमा एमाले र माओवादी एउटै पार्टी भएका बेला नेकपाबाट उम्मेदवार बन्नुभएका वामदेव गौतमको मतान्तर हेर्दा २५ हजारको फरक देखिन्थ्यो तर निर्वाचनमा नेपाली कांग्रेसका सञ्जय गौतमले ७५३ मत अन्तरले पराजित गरेपछि वामदेव गौतम छाँगाबाट खसेजस्तै हुनुभएको थियो । तर, अहिले परिस्थिति फरक भएको छ । नेकपा एमाले एक्लै चुनावी मैदानमा छ भने सञ्जय गौतमलाई माओवादी केन्द्रको साथ रहेको छ अर्थात् गौतम सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएको छ ।

नेकपा एमालेबाट लक्ष्मण ज्ञवाली चुनावी मैदानमा रहनुभएको छ । २०७४ सालको निर्वाचनमा पराजित हुनुभएका वामदेव गौतमका सहोदर ज्वाइँ ज्ञवालीसँग प्रतिस्पर्धा गर्न लाग्नुभएका सञ्जय गौतमले यो संयोग भएको बताउनुभएको छ । स्थानीय तहको नतिजालाई हेर्ने हो भने गुलरिया नगरपालिकामा नगरप्रमुख र उपप्रमुख नेपाली कांग्रेसले जितेको छ । बारबर्दिया नगरपालिकामा पनि नेपाली कांग्रेसले प्रमुख र उपप्रमुख जितेको छ । बढैयाताल गाउँपालिका अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेकपा एमाले र बासगढी नगरपालिकामा प्रमुख र उपप्रमुख नेकपा एमालेले जितेको छ । नेकपा एमाले स्थानीय तहमा पराजित भएको मतान्तर भने कम रहेको छ । यसले गर्दा २०७९ साल मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने निश्चित देखिन्छ ।

कुनै समयमा नेकपा एमालेको बलियो क्षेत्र रहेको अवस्थामा पछिल्लोपटक नेकपा एमाले विभाजन भएसँगै त्यसको प्रभाव नेकपा एमालेभित्र परेको देखिन्छ । त्यसको परिणाम नै गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिकामा एमालेका उम्मेदवारले कम मतान्तरमा हार बेहोरेका थिए । निर्दलीय पञ्चायती शासनका विरुद्ध संघर्षकै क्रममा जेलजीवन व्यतित गर्नुभएका नेकपा एमालेका नेता लक्ष्मण ज्ञवाली राजनीतिक तथा बौद्धिक नेताका रूपमा परिचित हुनुहुन्छ । तत्कालीन अवस्थामा माले हँुदै एमाले प्रवेश गर्नुभएका ज्ञवाली राजनीतिक व्यक्तित्व समेत हो । नाताले वामदेव गौतमका सहोदर ज्वाइँ रहनुभएका ज्ञवालीलाई निर्वाचनमा जित निकाल्न सहज नभए पनि गठबन्धनका उम्मेदवार सञ्जय गौतमलाई पनि सहज देखिँदैन । गएको पाँच वर्षको अवधिका गौतमले गरेका क्रियाकलापबाट असन्तुष्ट रहेका मतदाताहरूले यसपटक फेरि पनि नयाँ अनुहार ल्याउन सक्ने राजनीतिक विश्लेषकहरूले अनुमान गरेका छन् ।

प्रदेशसभामा नेपाली कांग्रेसका पुराना नेता स्वतन्त्र उम्मेदवार बनेपछि त्यसको असर संघीय निर्वाचन क्षेत्रमा पर्ने धेरैको अनुमान रहेको छ । आफ्नो क्षेत्रमा राम्रो प्रभाव पार्नुभएका र पार्टीभित्र पनि राम्रो पहिचान बनाउनुभएका सुभाष पोखरेल क्षेत्र नं. १ को ‘ख’ बाट उम्मेदवार बन्नुभएका कारण गठबन्धनबाट सोही क्षेत्रमा उम्मेदवार बन्नुभएका माओवादी केन्द्रका अञ्जु दहितलाई अप्ठेरो हुने र त्यसको प्रभाव संघीयमा समेत पर्ने बताइएको छ । प्रदेशसभामा गठबन्धनबाट उम्मेदवार बन्नुभएकी माओवादी नेतृ दहितको व्यक्तिगत प्रभाव गुलरिया नगरपालिकामा शून्य रहेको छ भने उहाँले पाउने मत भनेको माओवादी र नेपाली कांग्रेसको मत हो । नेपाली कांग्रेसले इमानदारिता देखाउँदै सुभाष पोखरेललाई मत नदिएर अञ्जु दहितलाई भोट दिएमा अञ्जु दहितको जित निश्चित देखिन्छ । तर, इमानदारिता भएन भने नेकपा एमालेका उम्मेदवारहरूले जित निकाल्ने स्थान पनि बलियो बनेको छ । नेपाली कांग्रेसले सुभाष पोखरेललाई मनाउन नसक्नु कांग्रेसका लागि बाधा पुग्ने देखिएको छ । सुभाष पोखरेललाई प्रदेशमा भोट हाल्ने मतदाताहरूले संघमा पनि कांग्रेसलाई भोट नहाल्ने बुझिएको छ । यता नेकपा एकीकृत समाजवादीका बखतबहादुर खड्का पनि चुनावी मैदानमा रहनुभएको छ । खड्काले नेकपा एमाले र नेपाली कांग्रेसको मत काट्ने देखिन्छ ।

यसैबीच राष्ट्रिय एकता अभियानका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज तोफा यादवले जिल्लामा केही दिनभित्र बैठक बसेर कसरी जाने, गठबन्धनलाई सहयोग गर्ने वा नेकपा एमालेलाई सहयोग गर्ने भन्ने विषयमा निर्णय हुने बताउनुभयो । अभियानको बैठकले गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने भए सञ्जय गौतमको जित सुनिश्चित देखिन्छ तर नेकपा एमालेका उम्मेदवार लक्ष्मण ज्ञवालीलाई समर्थन गर्ने भयो भने लक्ष्मण ज्ञवालीले बाजी मार्ने देखिन्छ । यसरी हेर्दा वामदेव गौतमको समर्थन कता जान्छ त्यसले बाजी मार्ने निश्चित छ । नेकपा एमालेका नेताहरूका अनुसार वामदेवले लक्ष्मण ज्ञवालीलाई सहयोग गर्ने सम्भावना धेरै देखिएको छ ।

गठबन्धनबाट १ को ‘क’ बाट नेपाली कांग्रेसका भुवनेश्वर चौधरी चुनावी मैदानमा रहनुभएको छ । उहाँले नेकपा एमालेका शालिकराम अधिकारीसँग प्रतिस्पर्धा गर्ने हुनुभएको छ भने १ को ‘ख’ बाट गठबन्धनका उम्मेदवार बन्नुभएकी नेकपा माओवादी केन्द्रकी अञ्जु दहित र नेकपा एमालेका भक्तबहादुर विक चुनावी मैदानमा रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?