विश्वकप फुटबल : चार पटकको विश्वविजेता जर्मनी जापानसँग पराजित

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । कतारमा भइरहेको विश्वकप फुटबलमा बुधबार भएको दोस्रो खेलमा जापान विजयी भएको छ । कतारको खलिफा अन्तरराष्ट्रिय रंगशालामा भएको खेलमा चार पटकको विश्वकप विजेता जर्मनी जापानसँग दुई-एक बाट पराजित भएको हो । खेलको ३३ औँ मिनेटमा इल्के गुन्डोगानले पेनाल्टीमार्फत गोल गर्दै पहिलो हाफमा जर्मनीलाई अग्रता दिलाउनुभएको थियो । तर, खेलको दोस्रो हाफमा गोल गर्दै जापान खेलमा फर्कियो । ७५ औँ मिनेटमा जापानका रित्सु दोआनले गोल गर्दै खेल बराबरीमा ल्याउनुभयो ।

पहिलो हाफको इन्जुरी समयमा जर्मनीका काई हार्वेत्जले गोल गरे पनि अफसाइड भएको भन्दै रेफ्रीले मान्यता नदिएपछि जर्मनी अग्रता दोब्बर बनाउनबाट चुक्यो । यसपछि तोकुमा आसानोले खेलको ८३औँ मिनेटमा दर्शनीय गोल गरी जापानको अग्रता दोब्बर पार्नुभयोे । उहाँले गोलपोस्टको छेउबाट निकै कठिन कोणबाट जर्मन गोलकिपर म्यानुअल नुएरलाई बिट गर्दै उहाँको टाउकोमाथिबाट पोस्टमा बल छिरेको थियो ।
जर्मनीले सन् १९५४, सन् १९७४, सन् १९९० र सन् २०१४ मा विश्वकप जितेको छ । सन् २०१८ को रुस विश्वकपमा जर्मनी समूह चरणबाटै बाहिरिएको थियो । त्यसैले यो पटक चार वर्षअघिको खराब प्रदर्शन बिर्सने प्रयासमा रहेको जर्मनीलाई जापानसँगको पराजयले समूह चरणमा कठिन स्थितिमा धकेलेको छ ।

यता, जापानले सन् १९९८ बाट विश्वकपमा डेब्यु गरेको थियो । त्यसयता जापान हरेक संस्करणको विश्वकप खेल्दै आईरहेको छ । रुस विश्वकपमासमेत जापानले उत्कृष्ट प्रदर्शन गरेको थियो ।

जापानले समूह चरण पार गरेको थियो भने जर्मनी पहिलो चरणबाटै घर फर्केको थियो । यस पटक पनि जापानले जर्मनीलाई पराजित गरेर पुरानो विरासत जोगाउने योजनामा एक पाइला अघि बढेको छ ।

जर्मनी र जापानबीच यसअघि दुई पटक प्रतिस्पर्धा भएको छ । जसमा सन् २००४ मा जर्मनीले जापानलाई तीन-शुन्यले पराजित गरेको थियो भने सन् २००६ मा दुवैबीच दुई-दुई गोलको बराबरी भएको थियो । फिफा विश्वकपमा भने यी दुई टिमबीच प्रतिस्पर्धा भएको यो नै पहिलो पटक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?