कर्णालीमाथि सुदूरको जित

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सुदूरपश्चिम प्रदेशले यू-१९ राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई पाँच विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । जितका लागि १२८ रनको विजयी लक्ष्य पछ्याएको सुदूरले २६.२ ओभरमा पाँच विकेट गुमाउँदै १२८ रन बनायो ।

सुदूरका लागि मिलन बोहराले ४७ बलमा सात चौका र एक छक्कासहित ४२ रन बनाउनुभयो । ओपनर दीपक बोहरा १६ बलमा दुई चौका र एक छक्कासहित २०, विशाल ऐर नौ, अनुराग सिंह १० र दीपक बोहराले २० रन बनाउनुभयो । गजेन्द्र बोहरा चार र सुनिल चन्दले १३ रन थप्नुभयो ।

कर्णालीका तीव्र गतिका बलर अनुज चनाराले १० ओभरमा एक मेडनसहित ४२ रन खर्चेर तीन विकेट लिनुभयो । यस्तै, सन्दीप शाही र मोहन विकले एक-एक विकेट लिनुभयो । त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णाली ३२.३ ओभरमा १२७ रनमा अल आउट भएको थियो । कर्णालीका दिनेश अधिकारी ३२ बलमा पाँच चौका र एक छक्कासहित सर्वाधिक ३५ रनमा अविजित रहनुभयो ।

ओपनर सुवास ऐर ३५ बलमा चार चौका र एक छक्कासहित ३० रन बनाएर आउट हुनुभयो । अन्यले राम्रो प्रदर्शन गर्न भने सकेनन् । ओपनर विपिन रावल र सुवास ऐरले पहिलो विकेटका लागि ९.४ ओभरमा ४८ रनको साझेदारी गर्नुभएको थियो ।

तीव्र गतिका बलर कैलाश ऐरलाई लगातार तेस्रो चौका प्रहार गर्नेक्रममा सुवास एलबिडब्लू आउट हुनुभएको थियो । राम्रो सुरुवात गरे पनि कर्णालीले ५१ रन जोड्न नौ विकेट गुमाएपछि ९९-९ रनमै समेटियो । रोशन शाही दुई, विपिन शाही १९, अभिषेक बम शून्य, सन्दीप शाही १० तथा मोहन विक, अनुज चनारा र युनिस सिंह शून्यमै पवेलियन फर्कनुभयो ।

सुदूरपश्चिमका मिलन बोहराले ७.३ ओभरमा एक मेडनसहित २१ रन खर्चेर तीन विकेट लिनुभयो । यस्तै, नरेन्द्र साउदले सात ओभरमा एक मेडनसहित २१ रन खर्चेर दुई तथा हेमन्त धामी र कैलाश ऐरले एक-एक विकेट लिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?