तीव्र गतिमा सवारीसाधन चलाउने चालकहरूलाई सचेतना कक्षा दिइने

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । तीव्र गतिमा सवारीसाधन चलाउने चालकहरूलाई ट्राफिक प्रहरीले अनिवार्य रूपमा सचेतना कक्षा दिने भएको छ । ट्राफिक प्रहरीले मंसिर १५ गतेदेखि अनिवार्य रूपमा एक घण्टाको सचेतना कक्षा दिने भएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले शुक्रबार पत्रकार भेटघाट कार्यक्रम गर्दै सो कुराको जानकारी दिएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले तीव्र गतिमा सवारीसाधन चलाउनेहरूलाई ट्राफिक नियमअनुसार कारबाही गर्दै एक घण्टाको सचेतना कक्षामा सहभागी भएपछि मात्रै छोडिने बताउनुभयो ।

उहाँले उपत्यकामा हुने धेरै सवारी दुर्घटनाहरू तीव्र गतिका कारण हुने गरेको भन्दै सवारी दुर्घटनालाई न्यूनीकरण गर्नका लागि सचेतना कक्षा दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले यसअघि मादक पदार्थ सेवन गरेर चलाउने, लेन अनुशासन पालना नगर्ने र रातो बत्ती क्रस गर्नेहरूलाई मात्रै सचेतना कक्षा दिइँदै आएको उल्लेख गर्नुभयो ।

प्रवक्ता भट्टले गत साउन महिनादेखि हालसम्म सडकमा गुडिरहेका यान्त्रिक अवस्था ठिक नभएका ३५२ वटा सवारी साधनलाई परीक्षण तथा कारबाहीका लागि यातायात व्यवस्था विभागमा पठाइएको बताउनुभयो । ठूलो ध्वनि निकाल्ने १८ वटा मोटरसाइकललाई पनि नियन्त्रणमा लिएर परीक्षण गरी कारबाही गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले कुनै पनि सवारी साधनमा ‘बम्पर गार्ड’ नराख्न अनुरोध गर्नुभयो । राखिएको भए पनि मंसिर १५ गते सम्ममा हटाउन आग्रह गर्नुभयो । सो अवधिसम्म नहटाएमा कारबाही प्रक्रिया अगाडि बढाइने पनि उहाँले जानकारी दिनुभयो ।

उहाँले स्कुल बस निर्देशिका २०७४ बमोजिम स्कुल बस नचलाउनेलाई १७० जना चालकहरूलाई कारबाही गरिएको जानकारी दिनुभयो । जसमध्ये मादक पदार्थ सेवन गरेर सवारी चलाउने ३७ जना चालक परेको उहाँको भनाइ छ । १२ वटा स्कुल बसहरू भने मापदण्ड अनुरूपको स्वरूपमा नचलेकाले नियन्त्रणमा लिई मापदण्ड अनुरूपको स्वरूप बनाउन लगाइएको उहाँले बताउनुभयो । त्यस्तै, दर्ताबिना चलाइएको विद्युतीय मोटरसाइकललाई पनि कारबाही गरिएको उहाँले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?