लाप्राकका भूकम्प पीडितले पाए लालपुर्जा

हिमालय टाइम्स
Read Time = 2 mins

पोखरा । गोरखाको लाप्राकस्थित एकीकृत बस्तीका नागरिकहरूले लालपुर्जा पाएका छन् ।

२०७२ को भूकम्पपछि गैर आवासीय नेपाली संघले गुप्सीपाखामा घर बनाइदिए पनि उनीहरुले लालपुर्जा पाएका थिएनन् । हालसम्म ५ सय ५४ घरधुरीले लालपुर्जा पाएका र बाँकीले केही समयभित्र पाउने वडाध्यक्ष किसान गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार त्यहाँ ५ सय ७३ घर निर्माण भएको छ ।

सरकारी जग्गा मन्त्रिपरिषदबाट निर्णय गरेर घरधनीलाई २०७७ सालबाट लालपुर्जा वितरण गर्न थालिएको हो । पहिलो चरणमा २०७७ सालमा २ सय ८० घरधनीलाई लालपुर्जा वितरण गरिएको थियो । दोश्रो पटक पुस ९ देखि १६ गतेसम्म थप लालपुर्जा वितरण गरिएको हो ।

लालपुर्जा वितरणका लागि मालपोतका कर्मचारी लाप्राक नै पुगेका थिए । अब १९ जनाको मात्रै वितरण बाँकी रहेको र अधिकांश विदेश भएकाले रोकिएको पालिका अध्यक्ष लक्ष्मण गुरुङले बताउनुभयो ।

उहाँका अनुसार केही घरधनीको मृत्युसमेत भैसकेको छ । सरकारले प्रत्येक परिवारलाई ३ आना जग्गा वितरण गरेको थियो । सोही जग्गामा एनआरएनएले ४ कोठाको दुईतले घर निर्माण गरिदिएको हो ।

उक्तबस्ती निर्माणका लागि एनआरएनए र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा सहरी विकास मन्त्रालय बीच २०७३ साल वैशाख १२ गते त्रिपक्षीय सम्झौता भएको थियो । तर घर भने निकै ढिलो गरि सम्पन्न भएको हो ।

गुप्सी पाखामा घर बनाइएपनि लाप्राकीहरू नयाँ घरमा सर्न भने आनाकानी गरिरहेका पुर्व वडाध्यक्ष राज गुरुङले बताउनुभयो । अहिले पनि सबैजसो घरहरू खाली छन् । लाप्राकीहरु पूरानै घरमा बसिरहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?