कविता : देश रोइरहेछ, रुने नै भयो

हिमालय टाइम्स
Read Time = 5 mins

✍️ प्रतीक अधिकारी

विद्रोहका नाममा सोझा नेपाली दाजुभाइलाई बलि चढाई
देशभक्तिका भाषण छाँट्दै
महाकालीमा राष्ट्रियता साट्यौ ।
तिम्रा कर्मले सोझा पितालाई अपुतो बनाएको थियो
खेतमा बारी गोड्दै गरेकी माताको काख रित्याएको थियो
दैव पनि के कम हुन्थ्यो र ?
तिम्रा घरमा लालाबाला खेल्ने मौकै दिएन ।
लासमाथिको राजनीति गर्न सिकायौ
आफैले कोरेको लासको व्याजमा
सत्ता चढ्यौ, गन्तव्य भुल्यौ र रमायौ
देख्यौ मात्र सत्ताको कुर्सी
देख्यौ मात्र सत्ताको कुर्सी ।
++++
अरुको अन्धकार हटाउने भन्छौ तिमी
एकपटक ऐनामा हेर त !
आफ्नै अनुहार कालो पाउने छौ
आफैँलाई अन्धकारमा पाउँने छौ
नैतिकता त पहिल्यै बेचेका थियौ
वाचा कसम बिर्सेर
जनतालाई सत्ताको भर्‍याङ बनायौ
सत्तामा पुगेर अरू त के गर्‍यौ र ?
उही आफँैलाई बचायौ
तर देश त रुने नै भयो
तर देश त रुने नै भयो ।
++++
प्रजातन्त्रका लागि लडेका तिमी
कुनै समयका आशालाग्दा युवा थियौ अरे
सत्तामा पुग्ने बित्तिकै बन्दुक चलायौ
भ्रष्टाचार बढायौ, नैतिकता जलायौ
दलाल र तस्करका साथमा
आफ्नो सत्ता जोगाउन
सांसद्लाई खसीबोका बनायौ
संसद्लाई वेश्यालय जस्तै बनायौ
संसद्लाई वेश्यालय जस्तै बनायौ ।
++++
धर्मको रक्षा र अधर्म नाश गर्न
तिम्रा बाबाले भगवान केशवकै नाम रोजेथे
तिमीले त धर्म परिवर्तन गरेर
आफू मात्रै होइन, साथीसँगी सबैलाई डुबायौ
शहीदका कोटामा नेताका छोराछोरी पढायौ
गरिबको जग्गा मिचेर आफ्नो घर जाने बाटो बनायौ
काष्ठमण्डपमा दरबार ठड्यायौ
पार्टी धुजधुजा पारेर, देश धुजाधुजा पारेर
आफूलाई सत्तामा जाने भर्‍याङ बनायौ
आफूलाई सत्तामा जाने भर्‍याङ बनायौ ।
++++
नाम अनुसारको काम गरेको भए
देशमा रामराज्य हुन्थ्यो होला
पढे अनुसार काम गरेको भए
देश स्वर्ग हुन्थ्यो होला
धिक्कार छ तिमीलाई
आफू र आफ्नाको सत्तामोहमा
हजारौँलाई विधवा र टुहुरा बनायौ
अरुका आमाबाबुको सहारा लुट्यौ
अनि आफ्ना बाबुआमालाई तीर्थाटन गरायौ
आफ्ना बाबुआमालाई तीर्थाटन गरायौ ।
++++
हिलोमा फुलेको कमल जस्तै हुनुपर्ने तिमी
कुकर्मै कुकर्ममा डुबेर
सिधासादाहरुलाई विभिन्न प्रलोभनमा फसायौ
हजारौँ नेपाली छोरा गिँड्न लगायौ
सयौँ छोरी बुहारी लुट्न लगायौ
नेपाली छोरीको अस्मितामा ब्वाँसाहरू लगाई दियौ
युद्धका नाममा रगतको होली चलायौ
भाइभाइ विभक्त बनायौ
आफू राजा र छोरा युवराज हुने लालसामा
देशलाई तिमीले अन्तहिन द्वन्द्वमा फसायौ
देशलाई तिमीले अन्तहिन द्वन्द्वमा फसायौ ।
++++
मेरो छोरा बाँच्न पाएको भए
तिम्रो जस्तै डाक्टर पढ्थ्यो होला
मेरी छोरी बलात्कृत नभएको भए
तिम्रा जस्तै मेयर या सांसद्मा लड्थिन् होला
तिम्रै लालाबाला जस्तै धेरै पढेको हुन्थिन् होला
म पनि तिमी जस्तै फेसबुकमा
नातिसँग रमाएको फोटो पोष्ट्याउँथे होला
तिमीहरूका जस्तै मेरो छोरो
कुकुर मरे झैँ मरेको होइन
मारिएको हो, छिनिएको हो ।
मेरी छोरी बुहारीको सिन्दुर पुछेर
आफ्नाको रंग्याउने तिमीहरूको सपनामा
यसपटक सानै भए पनि पर्खाल ठडिएको छ
मेरी छोरीलाई बन्दुक बोकाउने
आफ्नी छोरी विदेश पढाउने
अनि ममाथि राज गर्ने
तिमीहरूको योजनामा
कम्तीमा यसपटक जनताले
कालो पोतेका छन् ।
तर तिमी अझै छौ
अझै मेरा लागि निर्णय गर्छौ
थाहा छैन कुन दिन तिमीलाई
चौबाटोमा राखेर नुनचुक छर्नेछन्
तर के गर्नु
देश रोइरहेछ, रुने नै भयो
देश रोइरहेछ, रुने नै भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?