Date:2017/08/18 |Friday

स्थगित एन्फा बैठक साउन ३२ गते

Posted on: August 05, 2017 | views: 16 |

हिमालय टाइम्स

काठमाडौं । रुस्लान थ्रीस्टार क्लबलाई क्षतिपूर्ति दिने विषय र तीन वर्षदेखि हुन नसकेको ‘ए’ डिभिजन लिगको विषयलाई टुंगोमा पु¥याउन अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको बैठक यही साउन ३२ गते बस्ने भएको छ ।

यही विषयलाई टुंगोमा पु¥याउन एन्फा कार्य समितिको बैठक गत साउन ११ गते बैठक बसेको थियो । ११ गते यही दुई विषयमा चर्काचकी परेपछि निर्णयमा पुग्न नसक्दा बैठक १२ गतेको लागि डाकिएको थियो । तर, १२ गते एन्फाको बैठक सुरु नै नभई अनिश्चितकालका लागि स्थगित भएको थियो । ३२ गते बस्ने बैठक यही विषयबाट सुरु हुने अपेक्षा गरिएको छ । साउन ३२ गते डाकिएको बैठकले भने विवादित विषयको टुंगो लाग्ने एन्फाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधरले जानकारी गराए । 

पहिलो चरण पार गरेर पनि एन्फाको अक्षम्य गल्तिका कारण थ्रीस्टारले गत वर्ष एएफसी कपको दोस्रो चरण खेल्न नपाएपछि एन्फा विवादमा पर्दै आएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले तीन पटकसम्म इमेल पठाए पनि एन्फाले थ्रीस्टारको खेलाडीको नाम नपठाउदा थ्रीस्टार दोस्रो चरण खेल्नबाट वञ्चित बनेको थियो । 

दोस्रो चरण खेल्न नपाएसँगै थ्रीस्टारले दोषीमाथि कारबाही र ६ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेर आफ्नो माग पूरा नभएसम्म एन्फाका कुनै पनि प्रतियोगिता भाग नलिने निर्णय गरेको थियो । जस अनुसार थ्रीस्टारले गत जेठमा आफ्नै स्वर्गीय अध्यक्ष ललिलकृष्ण श्रेष्ठको सम्झनामा भएको ललित मेमोरियल यु–१८ फुटबल प्रतियोगितामा समेत भाग लिएको थिएन । 

एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ र अन्य पदाधिकारीको टोलीले थ्रीस्टारसँग पटकपटक छलफल गरी १ करोड ५० लाख रुपैयाँ क्षतिपूर्ति दिने गरी भद्र सहमति गरेको थियो । त्यो भद्र सहमतिलाई एन्फा कार्यसमितिबाट पास गराउन कठिन देखिएपछि अध्यक्ष श्रेष्ठले बैठक स्थगित गरेको अनुमान गरिएको छ । बैठकको पहिलो दिन दोषीमाथि कारबाही नगरी क्षतिपूर्तिमात्र दिन नसकिने आवाज चर्को रूपमा उठेपछि अध्यक्ष श्रेष्ठसहित दबाबमा परेको छ । 

एन्फाका प्रवक्तासमेत रहेका सिइओ तुलाधरले अध्यक्ष, प्रथम उपाध्यक्ष मणि कुँवर, महासचिव धीरेन्द्र प्रधान र आफूको टोलीलाई कार्यसमितिले अघिल्लो बैठकमा थ्रीस्टारसँग वार्ता गर्न जिम्मा दिएको र त्यहिअनुरूप भद्र सहमति गरेको यसअघि नै बताइसकेका छन् । तर, महासचिव प्रधान र एन्फाका वरिष्ठ अधिकृत गोकुल थापालाई कारबाही गर्नुपर्ने माग बैठकमा उठेको थियो । केही सदस्यले कारबाही गरेपछि थ्रीस्टारलाई क्षतिपूर्ति दिन आवश्यक नहुने तर्क गरेका थिए भने केहीले यो विषयलाई साधारणसभाबाट टुंगाउने पर्ने भनाइ राखेका थिए ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं