Date:2017/11/23 |Thursday

नेपाल पुलिस क्लब टिम च्याम्पियन

Posted on: November 11, 2017 | views: 45 |

हिमालय टाइम्स

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब ५० औं संस्करणको राष्ट्रिय कराते प्रतियोगिताको टिम च्याम्पियन बनेको छ ।

राजधानीमा बिहीबारबाट सुरु भएको च्याम्पियनसिपमा विभागीय नेपाल पुलिस क्लबले ८ स्वर्ण, ३ रजत र २ कास्य हात पार्दै टिम च्याम्पियन बन्न सफल भएको हो । 

च्याम्पियनसिपको पहिलो दिन ४ स्वर्ण, समान १–१ रजत र कास्य जितेको पुलिसले दोस्रो तथा अन्तिम दिन थप ४ स्वर्ण, २ रजत र १ कास्य जित्न सफल भए । ६ स्वर्ण, २ रजत र ५ कास्य हात पारेको नेपाली सेना दोस्रो भयो । ४ स्वर्ण, ५ रजत र ६ कास्य जितेको नेपाल एपीएफ क्लबले तेस्रो स्थान हात पा¥यो । शुक्रबार १ स्वर्ण जित्न सफल मध्यमाञ्चलले २ रजत र ६ कास्य जित्दै चौथो, ३ रजत र २ कास्य जितेको पश्चिमाञ्चल पाँचौं, २ रजत र ५ कास्य हात पारेको पूर्वाञ्चल छैटौं र समान १ रजत र ४ कास्य हात पारेको मध्यपश्चिम र सुदूरपश्चिम संयुक्तरूपमा सातौं स्थानमा रहे । 

शुक्रबार महिलातर्फको कुमुतेको ६१ केजी तौल समूहमा पुलिसकी सुनिता महर्जनले स्वर्ण जितिन् । सुनिताले नेपाली सेनाकी सनि लामाको चुनौती पन्छाइन् । यस विधामा मध्यमाञ्चलकी निरुपा लामा र एपीएफकी सपना लामाले कास्य पाए । 

महिला ६८ केजी तौल समूहमा एपीएफकी रोजी ओझाले स्वर्ण हात पारिन् । रोजीले नेपाली सेनाकी विभुषा थापालाई पराजित गरिन् । यस विधामा पश्चिमाञ्चलकी पूजा पुलामी र पूर्वाञ्चलकी कृति दुलालले कास्य हात पारिन् ।  महिला ४० केजी तौल समूहमा मध्यमाञ्चलकी जिया खड्कीले स्वर्ण जित्न सफल भइन् । जियाले नेपाल पुलिस क्लबकी एन्जिला धिमालको चुनौती सहजै पन्छाइन् । यस विधामा नेपाली सेनाकी मिस्लि श्रेष्ठ र पूर्वाञ्चलकी ओसिस श्रेष्ठले कास्य पाए । महिलाको ६८ केजी तौल समूहमाथि नेपाली सेनाकी रीता कार्कीले स्वर्ण जित्न सफल भइन् । रीताले एपीएफकी कल्पना बस्नेतको चुनौती पन्छाइन् । यस विधामा सुदूर पश्चिमकी सावित्री महरा र पूर्वाञ्चलकी मिस डोना राईले कास्य हात पारिन् । महिला ४५ केजीमा सेनाकी कुसुम खड्काले स्वर्ण हात पारिन् । कुसुमले एपीएफकी वर्षा बुढामगरको चुनौती पन्छाउँदै स्वर्ण हात पार्न सफल भएकी हुन् । पुलिसका कविता पौडेल र सुदूरपश्चिमकी वर्षा साउदे कास्य हात पारिन् । 

पुरुष ७५ केजी तौल समूहमा नेपाल प्रहरीका गंगाराम कुशुवारले स्वर्ण जिते । उनले मध्यमाञ्चलका किशोर लामालाई पराजित गरे । सेनाका सुवास घताने र एपीएफका सन्तोष चौधरीले कास्य पाए । पुरुष ८४ केजीमा एपीएफका भीम तामाङले नेपाल प्रहरीका विप्लव श्रेष्ठलाई पराजित गर्दै स्वर्ण जित्न सफल भए । पश्चिमाञ्चलका जीवन मल्ल र मध्यमाञ्चलका सुमन तामाङले कास्य हात पारे । पुरुष ५५ केजीमा पुलिसका सोनामा लामाले स्वर्ण जिते । उनले पूर्वाञ्चलका नवीन राईलाई पराजित गरे । मध्यमाञ्चलका अनिष लामा र मध्यपश्चिमकी सन्दीप चौधरीले कास्य पाए । ६७ केजी तौल समूहमा एपीएफका विजय लामाले मध्यपश्चिमका प्रकाश घर्तीमगरलाई पराजित गर्दै स्वर्ण हात पारे । सेनाका निकेश मानन्धर र पुलिसका बादल श्रेष्ठले कास्य जिते । ८४ केजीमाथि पुलिसका दिवस श्रेष्ठले स्वर्ण हात पारे । दिवसले एपीएफका दिगम्बर पन्तलाई पराजित गरे । मध्यमाञ्चलका साजिव पुन र सेनाका सुरज थारूले कास्य पाए । 

सम्झना ल्याबोरेटरी क्लिनिकको मुख्य प्रायोजनमा नेपाल कराते महासंघद्वारा आयोजित प्रतियोगितामा पुरुषतर्फ पुलिसका रविन्द्र खड्का स्वर्णसहित सर्वाधिक ३२ अंक हासिल गर्दै प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । 

यस्तै महिलातर्फ नेपाली सेनाकी कुसुम खड्का स्वर्णसहित सर्वाधिक ३० अंक प्राप्त गर्दै उत्कृष्ट खेलाडी घोषित भइन् । उत्कृष्ट खेलाडीले जनही १०–१० हजार, जेबी टेलर्सबाट सुट, फाइभ ब्रदर्शबाट ट्रयाकसुट प्राप्त गरे । विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्ट र प्रतियोगिताको मुख्य प्रायोजक सम्झना ल्याब्रोटरीका प्रमुख उदिप्त जोशीले पुरस्कृत गरे । 


दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा तीन विभागीयसहित आठ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताअन्तर्गत महिलामा ७ र पुरुषमा ८ तौल समूहमा र पुरुष÷महिलाको एकल र टिम काता तथा टिम फाइट सञ्चालन भएको थियो । 

करातेको राष्ट्रिय टिममा फेरबदल

५० औं संस्करणको कराते च्याम्पियनसिपबाट राष्ट्रिय टिममा केही फेरबदल भएको छ । राष्ट्रिय टिम निर्माणको आधार मानिएको प्रतियोगिताबाट पुरुषतर्फ २ र महिलातर्फ चार खेलाडीमा फेरबदल भएको हो । महिला ५५ केजी तौल समूहमा पुलिसकी मल्लिका थापाले मनिषा चौधरीलाई विस्थापित गर्दै राष्ट्रिय टिममा स्थान बनाइन् । महिला ६८ केजी तौल समूहमा एपीएफकी रोजी ओझाले सेनाको विभुषा थापा विस्थापित गरिन् । महिलामै ६८ केजीमाथि रीता कार्कीले कल्पना बस्नेतलाई विस्थापित गरिन् भने, ६१ केजीमा सुनिता महर्जनले सपना लामालाई विस्थापित गरिन् । यस्तै पुरुषतर्फ गंगाराम कुशुवारले सुवास घतानेलाई तथा भीमबहादुर तामाङले विप्लव श्रेष्ठलाई विस्थापित गरेको प्रतियोगिता संयोजक दीपक श्रेष्ठले जानकारी गराए । 

राष्ट्रिय टिममा स्थान बनाउन सफल खेलाडी 

जिया खड्की ४० केजी तौल समूह (मध्यमाञ्चल)

कुसुम खड्का ४५ केजी तौल समूह (सेना)

अनु अधिकारी ५० केजी तौल समूह (एपीएफ)

मल्लिका थापा ५५ केजी तौल समूह (नेपाल प्रहरी)

सुनिता महर्जन ६१ केजी तौल समूह (पुलिस)

रोजी ओझा ६८ केजी तौल समूह (एपीएफ)

रीता कार्की ६८ केजीमाथि (सेना)

आकाश पाल ४५ केजी तौल समूह (सेना)

मणिकुमार सुनुवार ५० केजी तौल समूह (सेना)

सोनाम लामा ५५ केजी तौल समूह (पुलिस)

रविन्द्र कार्की ६० केजी तौल समूह (नेपाल प्रहरी)

विजय लामा ६७ केजी तौल समूह (एपीएफ)

गंगाराज कुशुवार ७५ केजी तौल समूह (पुलिस)

भीम तामाङ ८४ केजी तौल समूह (सेना)

दिवस श्रेष्ठ ८४ केजीमाथि (पुलिस)

परशुराम बास्तोला (एकल काता, सेना)

निर्मला तामाङ (एकल काता, पुलिस) 

डम्बर आलेमगर, सुभाष कार्की र जवारीलाल खत्री (टिम काता, आर्मी)

चञ्चला दनुवार, कोपिला विष्ट र सरु कार्की (टिम काता, पुलिस)



Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं