18th January | 2020 | Saturday | 5:22:14 PM

नेपालको तयारी सुरु

हिमालय टाइम्स   POSTED ON : कार्तिक १५, २०७६ (१०:२१ AM)

नेपालको तयारी सुरु

काठमाडौं । फिफा विश्वकप छनोटअन्तर्गत घरेलु खेलका हुने खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले तयारी सुरु गरेको छ । नेपाली टोलीले बुधबारबाट एन्फा टेक्निकल सेन्टरमा औपचारिक तयारी सुरु गरेको हो ।

नेपालले कतारमा सन् २०२२ मा आयोजना हुने विश्वकपका लागि एसियाको दोस्रो चरणका सम्पूर्ण अवे खेल खेलिसकेको छ । बाँकी रहेका घरेलु खेल खेल्न नेपालले तयारी थालेको हो । नेपालको पहिलो घरेलु खेल मंसिर ३ गते दशरथ रंगशालामा कुवेतसँग छ । त्यसअघि नेपालले म्यानमारसँग कात्तिक २१ गते मैत्रीपूर्ण खेल खेल्दैछ । 

विश्वकप छनोटको समूह ‘बी’मा रहेको नेपालले ४ अवे खेलहरूबाट ३ अंक जोडेको छ । नेपाल समूहको चौंथो स्थानमा छ । नेपालले कुवेत, अष्ट्रेलिया र जोर्डनसँग पराजय भोग्दा चाइनिज ताइपेलाई उसैको मैदानमा हराएको थियो । मुख्य प्रशिक्षक जोहान कालिनले घरेलु खेलका लागि तीन नयाँ खेलाडीलाई प्रशिक्षणमा बोलाएका छन् । कालिनले भरत खवास, एलेन न्यौपाने र सुभाष गुरुङलाई बोलाएका हुन् । यस्तै प्रशिक्षणमा भरत खवास फर्किएका छन् । उनी यसअघि विभागीय ट्रेनिङका लागि थाइल्याण्डमा रहेका कारण टोलीमा थिएनन । 

यसपटक पनि मुख्य प्रशिक्षक कालिनले पूर्वकप्तान तथा डिफेन्डर विराज महर्जनलाई प्रशिक्षणमा बोलाएनन । यस्तै कप्तान किरण चेम्जोङ भारतमा र रोहित चन्द इन्डोनेसियामा व्यावसायिक लिग खेलिरहेकाले प्रशिक्षणमा उपस्थित हुने छैनन् ।

यसैगरी राष्ट्रिय खेलकुद प्रतियोगिताले बिहीबार देखि आयोजनास्थल दशरथ रंगशालामा कुर्सीहरू राख्ने काम सुरु गरेको छ । दशरथ रंगशालाको भिआइपी प्यारापिटको निर्माण कार्य जारी रहे पनि कुर्सीहरू राख्ने काम थालिएको हो । रंगशालाको सामान्य प्यारापिटमा चार रंगको सिट राखिने छ । सिट निलो, पहेलो, रातो र हरियो रंगको हुने राखेपले जनाएको छ ।


Views: 73