लुलाङ-गुर्जा सुरुङमार्गको प्रारम्भिक सर्वे रोकियो

Read Time = 4 mins

धु्रवसागर शर्मा
म्याग्दी । लागत खर्च जुटाउन नसकेपछि म्याग्दीको अति विकट गुर्जा जोड्न प्रस्ताव गरिएको लुलाङ–गुर्जा सुरुङमार्गको प्रारम्भिक सर्वेको काम रोकिएको छ । लुलाङको जओढादेखि गुर्जाको लट्टेवानसम्मको २.६ किलोमिटर सुरुङमार्गका लागि दुई अर्ब ६ करोड रुपैयाँ लाग्ने र सो रकम जुटाउन सक्ने अवस्था नभएपछि प्रारम्भिक सर्वेको काम नै रोकिएको धवलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष भकबहादुर छन्त्यालले बताउनुभयो । ‘सुरुङ मार्गको सर्वे अत्यधिक लागतका कारण प्रक्रियामा नै लैजान नसकिँदा अहिले अवरुद्ध भएको छ, सुरुवाती प्रक्रियामा मात्रै साढे चार लाख खर्च भएको छ,’ वडाध्यक्ष छन्त्यालले भन्नुभयो । ‘स्रोत जुटाउन नसक्ने अवस्था देखिएपछि सुरुङ मार्ग सर्वेको काम अगाडि बढाउन सकिएन, सुरुङमार्ग यहाँका लागि अति महŒवपूर्ण भए पनि आर्थिक अभावका कारण योजनाबाट नै हटाउन बाध्य भयौँ,’ अध्यक्ष छन्त्यालले भन्नुभयो ।

जिल्लाकै अति विकट गुर्जा गाउँमा सडक सञ्जालको विकल्पका रूपमा लिइएको सुरुङमार्गका बारेमा प्रदेश र संघीय सरकारमा समेत जानकारी गराइए पनि चासो नदेखाएको वडाध्यक्ष छन्त्यालको भनाइ छ । प्रारम्भिक सर्वेको जिम्मा पाएको स्टन्थ डललर्प प्रालिका इन्जिनियर कृष्ण गौतमको टोलीले पटक–पटक गरेको स्थलगत अनुगमनका आधारमा लुलाङदेखि गुर्जासम्मको पहाडमा भूकम्प र पहिरोको सम्भावनासमेत रहेको बताएको थियो ।

फिजिबिलिटी अध्ययनमा प्रस्तुत गरिएको लागतमा जलविद्युत्को टनेलको आकारमा एक मिटरलाई सुरुङ बनाउन १० लाख लागत लाग्ने देखिएको वडाध्यक्ष छन्त्यालले जानकारी दिनुभयो । तत्काल छिमेकी वडाबाट सडक विस्तार गर्न सकिने अवस्था नभएकाले वडा अध्यक्ष छन्त्यालले उक्त प्रस्तावलाई गाउँपालिकाबाट पारित गराई प्रारम्भिक सर्वेको प्रक्रियाका लागि बजेटसमेत विनियोजन गर्न सफल हुनुभएको थियो । गुर्जा जिल्लाको सदरमुकाम बेनीबाट करिब २६ कोस टाढा रहेको छ ।

लुलाङबाट देउरालीको उकालीओराली हुँदै गुर्जा पुग्न आठ घण्टा लाग्ने गर्छ । यस्तो दुर्गम ठाउँलाई सुरुङ मार्गमार्फत् करिब आधा घण्टाको दूरीमा जोड्न सकिने सम्भावना रहेको भए तापनि लगानीको अभावका कारणले हात झिक्नुपर्ने अवस्था आएकोमा अध्यक्ष छन्त्यालले दुःख व्यक्त गर्नुभयो ।

म्याग्दीको लुकेको बस्ती भनेर चिनिने गुर्जाबाट गुर्जा हिमाल, चुरेन हिमाल र पुर्जा हिमाल नजिकै पर्दछन् । यहाँ तामाखानी, कर्ज स्टोनको खानीलगायतका बहुमूल्य धातुका खानीहरू र जडिबुटीको अपार भण्डार रहेको छ । गुर्जाका स्थानीयले गाउँलाई सडक सञ्जालसँग जोड्न वर्षौंदेखि माग गर्दै आइरहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?