गठबन्धनको त्रास र आस

Read Time = 6 mins

वास्तवमा भन्ने हो भने नेकपा एमालेले आफूलाई बाघ ठानिरहेको छ र त्यही अहंकारमा उक्त पार्टीका अध्यक्ष विभिन्न टुक्कासहितको अभिव्यक्ति दिँदै गर्जिरहनु भएको छ । यसबाट नेकपा एमाले नै नेपालको सबैभन्दा ठूलो शक्ति हो जस्तो पनि देखिएको छ तर त्यसलाई यो नेकपा एमालेको दम्भ मात्र हो भन्ने कुरा नेपाल बार एसोसिएसनको गत निर्वाचनमा देखिएको परिणामबाट प्रष्ट भएको छ । त्यो गठबन्धनको प्रारम्भिक परिणाम थियो र अब स्थानीय निकायमा हुनै लागिरहेको निर्वाचनमा जहाँ जहाँ गठबन्धन भएको छ ती ती ठाउँमा बारकै जस्तो परिणाम आउने पक्का छ तर धेरै ठाउँमा गठबन्धन हुन सकेको छैन । गठबन्धनमा चित्त नबुझेर धेरै ठाउँमा तत् तत् पार्टीका कार्यकर्ताहरूले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

सत्ता गठबन्धन यसबाट त्रसित बनेको छ भने एमालेमा खुसीको सञ्चार भएको छ । किनभने स्वतन्त्र उम्मेदवारहरूले धेरैजसो गठबन्धनमा रहेका पार्टीहरूकै मत काट्ने हुन् न कि एमालेको । त्यसैले एमालेमा खुसीको सञ्चार हुनु स्वाभाविक हो तर त्यसको अझै अन्तिम निष्कर्ष भने १६ गतेपछि मात्र आउने हो । यसरी व्यापक रूपमा स्वतन्त्र उम्मेदवारी पर्नु र धेरै ठाउँमा गठबन्धन हुन नसक्नुले गठबन्धनमा रहेका पार्टीहरूमा भने हाल सोचे जति उत्साह देखिएको छैन । एक पार्टीले हाम्रो राम्रो पकड भएका ठाउँमा अर्कालाई भाग छुट्याउनुपर्‍यो भन्ने ठानेर यसरी पार्टीको निर्देशनको अवज्ञा गर्दै स्वतन्त्र उम्मेदवारी दिएका हुन् तर गठबन्धनमा रहेको पार्टीनेताहरूले भने यसरी परेका उम्मेदवारीहरू फिर्ता गर्न पाउने समयसम्ममा फिर्ता हुने विश्वास गरेका छन् ।

केही ठाउँहरूमा भने त अझै केन्द्रको सहमतिविपरीत एमालेसँग समेत गठबन्धनका पार्टीहरूले चुनावी तालमेल गरेका हुँदा भोलिका दिनमा समेत त्यस्तै खालको सहमति कायम रहिरहृयो भने त्यसले निश्चय पनि परिणाममा तलमाथि पर्न जान्छ । गठबन्धनका दलहरू केही ठाउँमा एमालेसँग तालमेल गर्न तँछाडमछाड गरेको समाचारले कि पार्टी निर्देशनको अवज्ञा गर्ने कार्यकर्ताहरूको संख्या बढिरहेको भन्ने देखिन्छ कि नेताहरूलाई धम्क्याउन कार्यकर्ताहरूले यसरी व्यापक रूपमा स्वतन्त्र उम्मेदवारी दिने र गठबन्धन बाहिरको पार्टी एमालेसँग सहमति गर्ने गरेका कारण पार्टी निर्देशन र गठबन्धनको निर्णय तथा उम्मेदवारी चयनमा उनीहरूको असन्तुष्टि रहेको देखिन्छ । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले आफूखुसी दिएका यस्ता उम्मेदवारी फिर्ता गराउन पहल भइरहेको बताउनुभएको छ ।

अब समय छोटो छ । कार्यकर्ताहरूको असन्तुष्टिलाई समयमै सम्बोधन गर्न सकिएन भने निर्वाचनको परिणाम सोचे जस्तो नआउन सक्छ । होला भोलि पार्टीले कारबाही गर्नेछ भनेर उनीहरूलाई त्रास देखाउन सकिएला तर पहिले पहिलेका निर्वाचनमा पनि आधिकारिक उम्मेदवारका विरुद्धमा बागी उम्मेदवारी दिनेहरूलाई अनुशासनको कारबाही गरेको देखिएकै हो र केही समयपछि तिनलाई आममाफी नभन्ने हो भने पार्टीका कार्यकर्ताहरूकै संख्या घट्दै जान्छ । त्यसरी नेपाली कांग्रेस पार्टीका हकमा भने धेरैपटक यस्ता बागी उम्मेदवारी दिने र तिनलाई सघाउनेहरूलाई पहिले कारबाहीको घोषणा गरिएको र पछि आममाफी दिएको उदाहरणहरू छन् । त्यसले त्यति सफल काम गर्दैन । पार्टी कार्यकर्ताहरूले पार्टीलाई नसघाउनु भनेको राष्ट्रिय स्तरमा प्रहरी कारबाही गर्न मिल्ने अपराध होइन ।

त्यसैले तिनलाई पार्टीले पछि कुनै जिम्मेवारी नदिने र सदस्यता खारेज गर्ने काम गर्न सक्छ । त्यसको त्रासबाट नडराएर नै कार्यकर्ताहरूले अर्को पार्टीलाई सघाएका हुन्छन् पार्टीले निष्कासन गरे बरु आफ्नै खेतीकिसानी गर्छु व्यापार गर्छु भन्ने तिनीहरूको मानसिकता रहेको हुन्छ । त्यसैले गठबन्धनमा रहेको पार्टीहरूले यसरी स्वतन्त्र उम्मेदवारी दिने वा एमालेसँग सहकार्यको सहमति गर्ने कार्यकर्ता तथा स्थानीय नेताहरूलाई मनाइहाल्नु पर्छ । समय बितेपछि पछुताएर हुँदैन । बरु पैसाको परिचालन गर्नेहरूलाई कारबाही गर्ने र आफू स्वच्छ ढंगले सक्रियतापूर्वक निर्वाचनमा लाग्नु बुद्धिमत्तापूर्ण कार्य हुन जान्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?