जुम्लामा प्रमुख पदमा दुई महिलाको उम्मेदवारी

Read Time = 4 mins

विजय रावत/हिटा
जुम्ला । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जुम्लाका आठवटै स्थानीय तहमध्ये चन्दननाथ नगरपालिकाको नगर प्रमुखमा चन्दननाथ-७ की २८ वर्षीया जयालक्ष्मी चौलागाईंले एकीकृत समाजवादी पार्टीबाट नगर प्रमुख पदमा उम्मेदवारी दिनुभएको छ । नगर उपप्रमुखमा समाजवादीले भीम थापालाई उम्मेदवारीको मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ । यस्तै, नेकपा एमाले जुम्लाले गुठीचौर गाउँपालिकामा महिलालाई अध्यक्षको उम्मेदवार बनाएको छ । झुनमाया जैसीले एमालेको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएको बताउनुभयो ।

चन्दननाथमा २६८ जनाको उम्मेदवारी
जिल्लाको एक मात्र चन्दननाथ नगरपालिकामा ५२ पदका लागि २६८ जनाको उम्मेदवारी परेको छ । नगर प्रमुख, उप्रमुख, वडाध्यक्ष, दलित सदस्य, महिला सदस्य र खुला सदस्य गरी ५२ पदका लागि २६८ जनामध्ये ५४ जना महिलाको उम्मेदवारी परेको मुख्य निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।

एक नगर प्रमुखका लागि नौ जनाले उम्मेदवारी दिएका छन् । एक नगर उपप्रमुखका लागि आठ जनामध्ये ६ जना महिलाले उम्मेदवारी दर्ता गरेका छन् । यस्तै, नगरपालिका १० वडामा विभाजित छ । १० वडाध्यक्षको पदका लागि ७० जनामध्ये तीन जना महिलाको उम्मेदवारी परेको छ । नगरपालिकाको १० वडामध्ये सबैभन्दा बढी १० नम्बर वडामा १० जनाको उम्मेदवारी परेको छ ।

सबैभन्दा कम ६ नम्बर वडामा चार जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ । सदस्यमा १० वडाबाट ९४ जनाको उम्मेदवारी परेको छ । महिला सदस्यमा ४७ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका सहायक मुख्य निर्वाचन अधिकृत तोयानाथ उपाध्यायले जानकारी दिनुभयो ।

तिलामा १९९ जनाको उम्मेदवारी
जुम्लाको तिला गाउँपालिकामा यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी परेको हो । गाउँपालिको निर्वाचन कार्यालयका अनुसार पालिकाको अध्यक्षमा ६ र उपाध्यक्षमा आठ जनाको उम्मेदवारी परेको छ ।

वडाध्यक्षमा ४७, महिला वडा सदस्यमा ३८, दलित महिला सदस्यमा २५ र खुला सदस्यमा ७५ जनाको उम्मेदवारी परेको तिला गाउँपालिकामा रहेको निर्वाचन कार्यालयले जनाएको छ । २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा तिला गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट रतननाथ योगी विजयी हुनुभएको थियो । २२ मतको अन्तरले माओवादी केन्द्रका जंगबहादुर बस्नेत पराजित हुनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?