एकै घरका दाजुभाइ चुनावी प्रतिस्पर्धामा

Read Time = 7 mins

शुभाकर विश्वकर्मा/हिटा
नेपालगञ्ज । बाँकेको नेपालगञ्ज र कोहलपुरमा एकै घरका चार दाजुभाइ चुनावी मैदानमा होमिएका छन् । नेपालगञ्ज उपमहानगरपालिका–१ को वडाध्यक्षमा एकै घरका दुई दाजुभाइले फरक पार्टीबाट उम्मेदवारी दिएका छन् । वडाध्यक्षमा नेपाली कांग्रेसबाट विनोद रिजाल र नेकपा एमालेका तर्फबाट प्रमोद रिजालको उम्मेदवारी परेको हो । प्रमोद वडा नम्बर १ को निवर्तमान अध्यक्ष हुनुहुन्छ । विनोदले भने पहिलोपटक वडाध्यक्षका लागि उम्मेदवारी दिनुभएको हो । उहाँहरू दुवैजना सहोदर दाजुभाइ हुनुहुन्छ । विनोद दाइ र प्रमोद भाइ हुनुहुन्छ ।

कांग्रेसबाट उम्मेदवारी दिनुभएका विनोद २०४६ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । उहाँले नेविसंघ नगर सभापति हुँदै हाल तरुण दलको बाँके सचिव रहेर काम गरिरहनुभएको छ । उहाँ विकास निर्माणदेखि जनताका पिरमर्कामा आफू जनतासँगै रहेको दाबी गर्नुहुन्छ । पार्टीभित्र र जनतामाझ काम गरेर देखाएको क्षमताका आधारमा मतदाताले आफूलाई रोज्ने उहाँको अपेक्षा छ । उहाँले अघिल्लो पटक पनि वडाध्यक्षमा आकांक्षा देखाउनुभएको थियो ।

उहाँ भन्नुहुन्छ, ‘मसँग जोसजाँगर छ । स्पष्ट भिजन पनि छ । युवा पनि हो । यसकारण मतदाताले मलाई मत दिनुहुन्छ भन्ने विश्वास छ ।’ विनोदले वडामा बाटो, नाली, बालउद्यान, सीपमूलक तालिम, शिक्षा र खानेपानीको विकास आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो ।
विनोदसँग वडाध्यक्षको चुनावमा लडिरहनुभएका भाइ प्रमोद वडा नम्बर १ को निवर्तमान वडाध्यक्ष हुनुहुन्छ । उहाँले नेपालगञ्ज उपमहानगरपालिकाको प्रवक्ता भएर पनि अनुभव हासिल गर्नुभएको छ । वडाध्यक्ष हुनुअघि कानुन व्यवसायी पृष्ठभूमिका रिजाल सामाजिक अभियन्ताका रूपमा समेत परिचित हुनुहुन्थ्यो । प्रमोदले आफूहरू वडाध्यक्ष भएपछि वडा नम्बर १ मा प्रशस्त कामहरू भएको बताउनुभयो । हरेकजसो टोलमा नालीसहितको कालोपत्रे सडक, ग्राभेल, पिसिसी, कोरोनाकालमा जनताको घरदैलोमा पुगेर स्वास्थ्य सेवा प्रदान, एन्फा ग्रासरुट स्पोर्ट्स एकेडेमी, ब्याडमिन्टन कोर्ट, नेपालगञ्जकै पर्यटकीय क्षेत्र वाटरपार्कको सौन्दर्यकरण, बालउद्यान, वडा सौन्दर्यकरणका लागि सडकमा फूल, मठमन्दिर जीर्णोद्धार, खेलाडी उत्पादन र पुराना खेलाडीलाई सम्मानलगायत कामहरू गरेको दाबी गर्नुभयो । अब थप काम गर्न र नमुना वडा बनाउने आफ्नो योजना पूरा गर्न वडाध्यक्षमा दोहोरिन चाहेको रिजालले बताउनुभयो ।

दाजुभाइको दोस्रो ‘जम्काभेट’
बाँकेको कोहलपुर-३ मा रोचक प्रतिस्पर्धा हुने भएको छ । वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा दुई सहोदर दाजुभाइ वडाध्यक्षको दौडमा हुनुहुन्छ । उहाँहरूमध्ये ताराकेशर रिजाल (दाजु) र माधव रिजाल (भाइ) हुनुहुन्छ । माधव २०७४ साल असार १४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचित वडाध्यक्ष हुनुहुन्छ । त्यतिबेला नेकपा एमालेबाट कोहलपुरकै कान्छो वडाध्यक्षमा निर्वाचित उहाँ दोस्रोपटक पनि सोही पार्टीबाट उम्मेदवार बन्नुभएको हो । नेकपा माओवादी केन्द्रका तारा केशर त्यतिबेलाको उपविजेता हो । उहाँलाई माधवले १८७ मतान्तरले पराजित गर्नुभएको थियो । यसपटक पनि उहाँहरूबीच दोस्रोपटक वडाध्यक्षका लागि प्रतिस्पर्धा हुँदैछ । एमालेबाट माधव दोहोरिनुभएको छ भने माओवादीले पनि तारा केशरलाई नै दोहो¥याएको छ । दुवैजनाले मंगलबार फरक पार्टीबाट उम्मेदवारी दर्ता गराउनुभएको थियो ।

उम्मेदवारी दर्ता गरेसँगै दुई दाजुभाइको भिडन्त पक्का भएको छ । दोस्रोपटकको जम्काभेटलाई दुवैजना पारिवारिकभन्दा पनि दलीय प्रतिस्पर्धा भएको बताउनुहुन्छ । दोस्रोपटक आफ्नै दाइसँग चुनावी प्रतिस्पर्धाको मैदानमा उत्रिनुभएका माधव भन्नुहुन्छ, ‘पहिला पनि प्रतिस्पर्धा भएको हो । अहिले पनि हुनेवाला छ । तर, यो पार्टीगत लडाइँ हो । व्यक्तिगत होइन ।’ दाजुभाइ दोस्रोपटक एउटै पदमा भिड्दै हुनुहुन्छ नि भन्ने प्रश्नमा रिजालले यसपटक व्यक्तिगत र पार्टीगतरूपमा दाइ र आबद्ध दलसँग मुख्य प्रतिस्पर्धा नरहेको बताउनुभयो । रिजालका अनुसार यसपटकको मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेससँग हो । तारा केशर र माधवबीच १६ वर्षको अन्तर छ । उहाँहरू परिवारका दुईजनामात्र दाजुभाइ हुनुहुन्छ । उहाँहरू २०५४ सालमा बर्दियाबाट कोहलपुर बसाइँ सर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?