बागलुङमा एक हजार ९१ जना चुनावी मैदानमा

Read Time = 20 mins

बागलुङ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन कार्यतालिका अनुसार शुक्रबार उम्मदवारी फिर्ता लिने समय थियो ।
बागलुङमा विभिन्न पदका लागि उम्मेदवारी दिएका ११९ जनाले फिर्ता लिएका छन् । बागलुङको १० स्थानीय तहमा आवश्यक पद ४४५ हो । तर यहाँ झण्डै तीन गुण बढी उम्मेदवारी परेको थियो । नगर प्रमुख/उपप्रमुख, गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, वडा अध्यक्ष, खुल्ला सदस्य, महिला सदस्य र दलित महिला सदस्यका लागि १२१० जनाको उम्मेदवारी परेको थियो ।

बसैभन्दा बढी उम्मेदवारी फिर्ताले ढोरपाटन नगरपालिका रहेको छ । यस पालिकामा ३५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् भने सबैभन्दा थोरै तमानखोला गाउँपालिकामा रहेको छ । यस पालिकामा जम्मा १ जनाले मात्र आफ्नो उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालय तमानखोलाले जनाएको छ । बागलुङ नगरपालिकामा २९ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले जानकारी दिनुभयो ।

गलकोट नगरपालिकमा ८ जना, जैमिनी नगरपालिकमा ११ जना, ताराखोला गाउँपालिकामा ३ जना, बडिगाड गाउँपालिकामा ७ जना, निसीखोला गाउँपालिकमा ९ जना, बरेङ गाउँपालिकमा ८ जना र काठेखोला गाउँपालिकमा ९ जनाले उम्मेदवार फिर्ता लिएको निर्वाचन कार्यालयहरुले जनाएका छन । तर गठबन्धनबाट ताराखोला र गलकोटको प्रमुखमा परेको बागी उम्मेदवारी फिर्ता भएको छैन । ११९ जनाले उम्मेदवारीले फिर्ता लिए पनि १०९१ जना चुनावी मैदानमा उत्रिएका छन् ।

बागलुङ नगरमा २९ को उम्मेदवारी फिर्ता

बागलुङ नगरपालिकामा नगरप्रमुखका लागि स्वतन्त्र उम्मेदवार दिनेश पन्तले उम्मेदवारी फिर्ता लिएका छन् । नेपाल विद्यार्थी संघ धौलागिरी बहुमुखी क्याम्पसको एकाई सभापति समेत रहेका पन्तले नेपाली काँग्रेसकाको तर्फबाट नगरप्रमुखमा उम्मेदवारी दिएका बसन्त कुमार श्रेष्ठ र गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने भन्दै उम्मेदवारी फिर्ता लिएको बताएका छन् । राप्रपाको तर्फबाट नगरप्रमुखका उम्मेदवार सञ्जु नेपालीले पनि उम्मेदवारी फिर्ता गरेकी छन । उनले नेकपा एमाले र राप्रपाका उम्मेदवारलाई सहयोग गर्ने बताएकी छिन् ।

नेकपा एमालेबाट उपप्रमुख पदमा उम्मेदवारी दर्ता गराएकी पवित्रा रोकाले पनि उम्मेदवारी फिर्ता गराएकी छिन् । नेकपा एमाले र राप्रपा बीच तालमेल भए पश्चात रोकाले उम्मेदवारी फिर्ता गरेकी हुन् । बागलुङ नगरपालिकामा वडा नम्बर १ मा वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार राजेश श्रेष्ठ, वडा नम्बर ३ का वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार निशान खड्का, वडा नम्बर ४ का वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार हरिबहादुर जिसी, डिल्ली प्रसाद आचार्य, वडा नम्बर ७ का वडा अध्यक्षका उम्मेदवार मानबहादुर कार्की, हेमराज गौतमले उम्मेदवारी फिर्ता गरेको मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले जानकारी दिए ।

वडा नम्बर १० को राप्रपाको तर्फबाट अध्यक्षमा उम्मेदवारी दर्ता गरेका रोमन्त मल्ल, स्वतन्त्र उम्मेदवार विष्णुप्रसाद शर्माले पनि आफ्नो उम्मेदवारी फिर्ता गराएका छन् । नेपाली काँग्रेस विपीबाट वडा नम्बर १३ का वडा अध्यक्षका उम्मेदवार बनेका रामप्रसाद अधिकारी र वडा अध्यक्षकै स्वतन्त्र उम्मेदवार रुद्र प्रसाद शर्माले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

बानपा १४ मा गठबन्धन भित्रकै दलका नेताले वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका उमानाथ सिग्देल र योगेन्द्रराज शर्मा पौडेलले पनि उम्मेदवारी फिर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बागलुङ नगरपालिकमा वडा सदस्यमा उम्मेदवारी दर्ता गराएका बानपा ३ बाट अमृत प्रसाद सापकोटा, बानपा ७ का माधव प्रसाद उपाध्याय, बानपा ८ का प्रियंका कार्की, बानपा १० का कृष्णबहादुर विक, मनोज थापा, गोमा थापा, बानपा ११ का सम्मर बहादुर थापा, बानपा १२ का शेख सखिना खातुन, सुस्मा घमाल विक, बानपा १३ का चित्रराज शर्मा र रेशमबहादुर थापा खत्री र बानपा १४ का खेमकान्त पौडेलले पनि आफ्नो उम्मेदवारी फिर्ता गराएका छन ।

बागलुङ नगरपालिकमा गठबन्धनमा पाँच दल एकातिर छ भने नेकपा एमालेसँग राप्रपा रहेको छ । गठबन्धनकै दल नेकपा एकीकृत समाजवादीबाट उपप्रमुखको उम्मेदवारी दिएका जिवन आचार्य र वडा नम्बर ३ का वडा अध्यक्षका उम्मेदवार पिंगलराज गौतमले पनि उम्मेदवारी फिर्ता लिएनन् । त्यसैगरी नेकपा एमालेमा बागी उम्मेदवारी दिएका वडा नम्बर ३ का स्वतन्त्र उम्मेदवार पुनम शर्मा र वडा नं. २ का स्वतन्त्र उम्मेदवार रामराज गुरुङले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएनन् । बागलुङ नगरपालिकको वडा नम्बर १२ अमलाचौरमा पनि नेपाली काँग्रेसले छुट्टै समुह बनाएर स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेको थियो । नेपाली काँग्रेसका वडा सभापति कोपिलामणी शर्माको नेतृत्वमा वडामा छुट्टै स्वतन्त्र उम्मेदवार खडा गरेको थियो । ति कुनै पनि उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छैनन् ।

बागी नगर प्रमुख र उपप्रमुखको भएन फिर्ता

गलकोट नगरपालिकामा बागी उम्मेदवार दिएका दुई जनाले उम्मेदवारी फिर्ता लिएका छैनन् । फिर्ता नलिने दुबै जना पाँच दलीय गठबन्धनकै नेता हुन् । नगर प्रमुखको उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी नेतृ मञ्जु शर्मा चालिसे र माओवादी केन्द्र गलकोट नगर कमिटि अध्यक्ष तिलक उप्रेती रहेका छन् । चालिसेले नगर प्रमुख र उप्रेतीले उपप्रमुखमा उम्मेदवारी दिएका थिए ।
यस पालिकामा नेपाली कांग्रेसका नेता भरत शर्मा गैरे नगर प्रमुख र माओवादी केन्द्रका नेता फमलाल निउरे उपप्रमुखका उम्मेदवार छन् । गलकोट नगरपालिकामा ८ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । नगरप्रमुखका स्वतन्त्र उम्मेदवार गुमानसिंह बुढासहित ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । २ जना वडा अध्यक्ष र ५ जना वडा सदस्यले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत नेत्र प्रसाद भुषालले जानकारी दिए ।
फिर्ता लिनेमा वडा नम्बर ५ का वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार ललित बहादुर श्रीष मगर, वडा नम्बर ६ का वडा अध्यक्षका उम्मेदवार भिमबहादुर विश्वकर्मा रहेका छन् । नेकपा एकिकृत समाजवादीको तर्फबाट वडा नम्बर २ मा उम्मेदवारी दर्ता गरेका लालबहादुर भण्डारीले पनि फिर्ता लिएको निर्वाचन अधिकृत भुषालले जानकारी दिए । उम्मेदवारी फिर्ता लिनेमा वडा नम्बर १ का वडा सदस्य कृष्ण बहादुर गुरुङ, वडा नम्बर २ का वडा सदस्य हर्कबहादुर थापा, वडा नम्बर ३ का वडा सदस्य ताराबहादुर अधिकारी र वडा नम्बर ८ का वडा सदस्य इन्द्रमणी उपाध्याय रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

ढोरपाटनमा ३५ जनाको उम्मेदवारी फिर्ता

ढोरपाटन नगरपालिकामा सबैभन्दा बढी उम्मेदवारी फिर्ता भएको छ । यस पालिकामा ३५ जनाले उम्मेदवारी फर्ता लिएका छन् । चार जना नगर प्रमुख, दुई जना नगर उपप्रमुख, ९ जना वडा अध्यक्ष र ११ जना वडा सदस्य, ६ जना महिला सदस्य र तीन जना दलित महिला सदस्यले उम्मेदवारी फिर्ता लिएको ढोरपाटन नगरपालिकाका निर्वाचन अधकृत लालसिंह थापाले जानकारी दिए ।
नगर प्रमुखमा उम्मेदवारी दिनुभएका गणेशकुमार थापा, गंगाबहादुर घर्ती, शैलेस घर्ती मगर, दलबहादुर भण्डारीले उम्मेदवारी फिर्ता लिएको थापाको भनाई छ । उपप्रमुखमा उम्मेदवारी दिएका दिलमाया पौवी र भीमकुमारी क्षेत्रीले पनि उम्मेदवारी फिर्ता लिनु भएको छ ।
ढोरपाटनमा प्रमुखका लागि १० जना, उपप्रमुखका लागि ५ जना, वडा अध्यक्षमा ३९ जना, खुल्ला सदस्यमा ६५, महिला सदस्यमा २८ र दलित महिला सदस्यमा २३ जनाले उम्मेदवारी दिएका थिए ।

जैमिनीमा १० जनाको फिर्ता

जैमिनी नगरपालिकामा २ जना नगरप्रमुख, २ उपप्रमुखसहित १० जनाले उम्मेदवारी फिर्ता लिएका छन् । नगर प्रमुखमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका शिवलाल सापकोटा, जयराम आचार्य र उप्रमुखको स्वतन्त्र उम्मेदवारी दर्ता गराएका रुद्रकुमारी रोका क्षेत्री र कृष्णराज पौडेलले उम्मेदवारी फिर्ता लिएका हुन् । सापकोटा नेपाली काँग्रेसका नेता हुन् भने रोका क्षेत्री राष्ट्रिय जनमोर्चाका हुन् ।
वडा नम्बर ८ का वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार पदमबहादुर पुन, वडा नम्बर १० का वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार पुरन श्रीष, वडा नम्बर १ का वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार डिल्ली प्रसाद शर्मा र ताराबहादुर थापाले उम्मेदवारी फिर्ता गरेको जैमिनी नगरपालिकाका मुख्य निर्वाचन अधिकृत सुर्यप्रसाद भण्डारीले जानकारी दिए । वडा नं. १ का देवनारायण शर्मा, वडा नम्बर २ का सदस्यका स्वतन्त्र उम्मेदवार नारायण प्रसाद सापकोटाले उम्मेदवारी फिर्ता गरेका छन् ।

काठेखोलामा ९ जनाले गरे उम्मेदवारी फिर्ता

काठेखोला गाउँपालिकामा ९ जनाले उम्मेदवारी फिर्ता गरेका छन् । मनोनयन दर्ताको क्रममा पालिकाको विभिन्न पदमा उम्मेदवारी दिएका ९ जनाले उम्मेदवारी फिर्ता लिएको काठेखोला गाउँपालिकाका निर्वाचन अधिकृत हर्क बहादुर क्षेत्रीले जानकारी दिए ।
उम्मेदवारी फिर्ता लिनेमा स्वतन्त्रबाट गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका डिल बहादुर विक, नेपाली कांग्रेसबाट उपाध्यक्षका बागी उम्मेदार बनेका चित्र बहादुर कार्की, काठेखोला गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्ष पदमा नेपाली कांग्रेस परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका गणेश नेपाली, स्वतन्त्रबाट सोही वडाको अध्यक्षमा उम्मेदवारी दिएका टिका बहादुर थापा र वडा नम्बर ६ को अध्यक्षमा स्वतन्त्रबाट उम्मेदवारी दिएका धनपती न्यूरेले उम्मेदवारी फिर्ता लिएका हुन् ।

वडा नम्बर ५ मा स्वतन्त्रबाट दलित महिला सदस्य उम्मेदवार गिता विक, दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार गंगा बहादुर विक वडा नम्बर ४ का सदस्यका उम्मेदवार विष्णु कंडेल, ८ नम्बर वडाका सदस्य झक बहादुर सुनार र काठेखोला १ बाट नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका महिला सदस्य रिता नेपालीले उम्मेदवारी फिर्ता गरेकी हुन् ।

बागी अध्यक्षले लिएनन् उम्मदवारी फिर्ता

निसीखोला गाउँपालिकामा ९ जनाले उम्मेदवारी फर्ता लिएका छन् । पाँच जना वडा अध्यक्ष र चार जना वडा सदस्यले उम्मेदवारी फिर्ता लिएको निसीखोला गाउँपालिकाका निर्वाचन अिधकृत गोविन्द गिरीले जानकारी दिए ।
निसीखोला अध्यक्ष र उपाध्यक्षमा चार÷चार जना, वडा अध्यक्षमा ३४ जना, खुल्ला सदस्यमा ४५, महिला सदस्यमा १९ र दलित महिला सदस्यमा १८ जनाले उम्मेदवारी दिएका थिए ।

बडिगाडमा सात जनाको फिर्ता

बडिगाड गाउँपालिकाको लागि अध्यक्षसहित विभिन्न पदमा उम्मेदवारी दिएका ७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । राष्ट्रिय जनमोर्चाको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका अनिल गिरी, स्वतन्त्र रुपमा उपाध्यक्षमा उम्मेदवारी दिएका कांग्रेस नेता यामेन्द्र कुमार घर्ती, स्वतन्त्र रुपमा वडा नम्बर ३ को अध्यक्षमा उम्मेदवारी दिएका लोक बहादुर घर्तीले उम्मेदवारी फिर्ता लिएका हुन् ।
स्वतन्त्र रुपमै वडा नंम्बर ५ को अध्यक्षमा उम्मेदवारी दिएका ध्रुब बहादुर घिमिरे, वडा नम्बर ५ कै सदस्य पदका उम्मेदवारी दिएका धर्मराज घिमिरे, वडा नम्बर ९ बाट वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका मुक्त बहादुर श्रीस र राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट वडा नम्बर १० को अध्यक्षमा उम्मेदवारी दिएका धन बहादुर बुढाले उमेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालय बडिगाडले जनाएको छ ।

निवर्तमान अध्यक्षको भएन उम्मेदवारी फिर्ता

ताराखोला गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रकाश घर्ती मगरले उम्मेदवारी फिर्ता लिएका छैनन् । पार्टी नेतृत्वले हचुवाको भरमा टिकट वितरण गरेको भन्दै बागी उम्मेदवार दिएका घर्तीले चुनाव लडेर जित्ने दाबी गरेका छन् । उनले गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका नेता धनबहादुर विकका विरुद्धमा बागी उम्मेदवारी दिएका हुन् ।

यस गाउँपालिकामा ३ जनाले मात्रै उम्मेदवारी फिर्ता गराएका छन् । वडा नम्बर ३ का वडा अध्यक्षका उम्मेदवार तुलसीराम घर्ती मगरसहित वडा नम्बर ३ कै महिला सदस्य पूर्णमाया रोका र वडा नम्बर ५ का खुल्ला सदस्य लालमती घर्तीले उम्मेदवारी फिर्ता गरेको निर्वाचन अधिकृत गोपाल प्रसाद ढकालले जानकारी दिए । तीन जना उम्मेदवार नै सबै स्वतन्त्र रहेका थिए ।

बरेङमा आठ र तमानखोलामा एकको फिर्ता

जिल्लाको बरेङ गाउँपालिकामा पालिका उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका आठ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालय बरेङ गाउँपालिकाले जनाएको छ । तमानखोला गाउँपालिकामा एक जनाको मात्रै उम्मेदवारी फिर्ता लिएका छन् ।
गाउँपालिका अध्यक्षको पदमा स्वतन्त्र उम्मेदवारी दिएका नरेन्द्रकुमार छन्त्यालले उम्मेदवारी फिर्ता लिएको तमानखोला गाउँपालिकाका निर्वाचन अधिकृत लालप्रसाद लामिछानले जानकारी दिनुभयो । तमानखोलामा अध्यक्षका लागि ५ जना, उपाध्यक्षका लागि ४ जना, वडा अध्यक्षमा १७ जना, खुल्ला सदस्यमा ६५, महिला सदस्यमा १९ र दलित महिला सदस्यमा १४ जनाले उम्मेदवारी दिएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?