अर्थसचिवले नै राष्ट्र बैंकका सूचना चुहाएको आरोप

Read Time = 7 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विदेशी मुद्रा सञ्चिति अझै घट्ने भन्दै बाहृय चाप कम गर्न राष्ट्र बैंकले थप उपाय अवलम्बन गर्ने बताउनुभएको छ । बुधबार आयोजित राष्ट्र बैंकको ६७औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । आव २०७९ को सुरुमा अधिक कर्जा गएको, त्यो कर्जा आयातमा खर्च हुँदा आयात बढ्न गएको र विदेशी मुद्रा सञ्चिति घटेर बाहृय क्षेत्रको दबाब परेको उहाँको भनाइ छ । लकडाउनले आर्थिक गतिविधि ठप्प भए पनि लकडाउनपछि चलायमान हुनुको कारण राष्ट्र बैंकले अघि सारेको नीतिगत उपाय र सहजीकरण रहेको पनि उहाँले जिकिर गर्नुभयो ।

रेमिट्यान्समा एक प्रतिशत बढी व्याज, नगद मार्जिन, एनआरएनलाई डलर खाता, चाँदी र सुन आयात कडाइ, रिपोदर वृद्धि, पुनर्कर्जा दर सात प्रतिशत कायम, घरजग्गा सेयर कर्जा जोखिम भार वृद्धि र आठ महिनामा ७२ अर्ब रुपैयाँ तरलता उपलब्ध गराएको उहाँले तथ्य प्रस्तुत गर्नुभयो । गभर्नर अधिकारीले कोरोना खोपका कारण अर्थतन्त्र केही सहज भए पनि रुस र युक्रेनबीचको युद्धका कारण महंगी बढ्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘विश्वभर महामारीका रूपमा फैलिएको कोरोना खोपको उपलब्धताका कारण महामारीको असर क्रमशः कम हुँदै गएको अनुभव गरेका छौँ । कोरोना असर कम भएसँगै आर्थिक गतिविधिमा सुधार आएको छ । उद्योग तथा होटलको अकुपेन्सीमा सुधार आएको अवस्था छ ।’

राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले पनि अर्थतन्त्र बाहृय क्षेत्रका कारण दबाबमा परेको बताउनुभयो । उहाँले बाहृय क्षेत्रबाट अर्थतन्त्रमा परेको असरलाई समाधान गर्न राष्ट्र बैंकले कहिले कसिलो त कहिले लचिलो नीति लिनुपरेको बताउनुभयो । तथापि पछिल्लो समय कोरोना संक्रमणको दर कम हुँदै गएकाले अब आर्थिक क्षेत्र चलायमान हुने उहाँले विश्वास गर्नुभयो ।

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका कर्मचारीहरूले गभर्नरविरुद्धको सूचना संकलन गरी छरपष्ट गर्ने काम अर्थसचिव मधु मरासिनीले गरेको आरोप लगाए । मरासिनीले राष्ट्र बैंकको सञ्चालक समितिमा बसेर राष्ट्र बैंककै स्वायत्तताविरुद्ध गलत हल्ला फिँजाएको उनीहरूको आरोप छ । कर्मचारी संगठनका नेताहरूले गभर्नरलाई कपोकल्पित र निराधार आरोप लगाएर चलिरहेको सिस्टमलाई अराजकतातर्फ धकेल्ने, प्रणालीलाई ध्वस्त पार्ने काम भएको बताए । राष्ट्र बैंक कर्मचारी संघका अध्यक्ष रुद्र तिम्सिनाले सूचना चुहाउने काम राष्ट्र बैंककै सञ्चालकबाटै हुने गरेको आरोप लगाउनुभएको हो । उहाँले भन्नुभयो, ‘राष्ट्र बैंकको सञ्चालक समितिमा बस्ने, राष्ट्र बैंककै विरुद्धमा गलत अफवाह फैलाउने काम भएको छ, शक्तिको बलमा वित्तीय माफिया र भ्रष्टहरूले सरकारलाई प्रभावमा पारेर राष्ट्र बैंकमाथि प्रहार गरेका छन्, त्यसमा सञ्चालकले नै सहयोग गरेको पाइएको छ ।’ तत्कालीन गभर्नर डा. तिलक रावल, विजयनाथ भट्टराई पनि वित्तीय माफियाको शिकार बनेको उहाँले स्मरण गराउनुभयो । नेपाल वित्तीय संस्था कर्मचारी संघ, नेपाल राष्ट्र बैंक अध्यक्ष राजीव शर्मा रेग्मीले सम्पूर्ण कर्मचारी राष्ट्र बैंकको स्वायत्तताको पक्षमा रहेको र केही घटनाक्रमले आफूहरू दुखित भएको बताउनुभयो । उहाँले गभर्नरको पक्षमा आएको अल्पकालीन आदेश एउटा पक्षको जित र अर्कोको पराजय नभएको बताउँदै जित गभर्नर र राष्ट्र बैंकको भएको बताउनुभयो । नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल राष्ट्र बैंक अध्यक्ष रेशमबहादुर बल्छौँडीले सरकारलाई राष्ट्र बैंकले सहयोग गरे पनि राष्ट्र बैंकप्रति विश्वास नगरेको बताउनुभयो ।

सो अवसरमा पूर्व गभर्नर डा. तिलक रावललाई सम्मान गरिएको थियो भने सेवानिवृत्त पूर्वकार्यकारी निर्देशक र २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई पनि सम्मान गरिएको थियो ।

थप १० वटा वस्तु आयातमा प्रतिबन्ध
सरकारले थप १० प्रकारका सामान आयातमा कडाइ गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै विलासी उपभोग्य सामान आयातमा रोक लगाएको हो । आयात रोक लगाइएका सामानमा तयारी मदिरादेखि निजी सवारीसाधन मोटरसाइकल, गाडी, हिरा, मोबाइल, टिभी, चुरोट तथा सुर्तीजन्य, तास, खेलौना र कुरकुरे, कुरमुरे, लेजलगायत रहेका छन् ।

उल्लेखित वस्तुको आयातमा रोक लगाइए पनि नेपालस्थित कूटनीतिक नियोगले आफ्नै प्रयोजनका लागि आफैंले पैठारी गर्न बाधा नपर्ने र वैशाख १३ गतेअघि बैंकिङ माध्यमबाट पैठारीको प्रक्रिया पूरा भइसकेको हकमा भने नयाँ व्यवस्था लागू हुने छैन । आयात रोकिएका वस्तुमा कुरकुरे, कुरमुरे, लेज र त्यस्तै उत्पादन, सबै प्रकारका तयारी मदिरा (कच्चा पदार्थबाहेक), चुरोट तथा सुर्तीजन्य वस्तु (कच्चा पदार्थबाहेक), हिरा (औद्योगिक कच्चा पदार्थबाहेक), मोबाइल सेट, रंगिन टिभी (३२ इन्चभन्दा माथि), जिप, कार र भ्यानहरू (एम्बुलेन्स र शव बाहनबाहेक), २५० सिसीभन्दा माथिका मोटरसाइकल, सबै प्रकारका खेलौना र खेल्ने तास रहेका छन्् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?