स्थानीय तह निर्वाचन २०७९ : आठ हजार उम्मेदवारी फिर्ता, स्वतन्त्र उम्मेदवारलाई पुतलीदेखि खसीको टाउको सम्मका चुनाव चिन्ह वितरण

Read Time = 18 mins

अनिल क्षेत्री/हिटा
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गरेको करिब आठ हजार उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिएको जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिब एक लाख ५३ हजार उम्मेदवारी परेकोमा आठ हजार जनाले फिर्ता लिएको जानकारी दिनुभयो । शनिबार आयोगमा भएको पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले भन्नुभयो, ‘उम्मेदवारी फिर्ता लिनेको संख्या करिब आठ हजार छ । एक लाख ५३ हजार उम्मेदवारी परेको थियो भने त्यसमा करिब आठ हजार जति उम्मेदवारले फिर्ता लिएका छन् । त्यसमा करिब एक लाख ४५ हजार उम्मेदवार कायम हुने देखिन्छ ।’ निर्वाचन आयोगले शुक्रबार स्थानीय तह निर्वाचनका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेको थियो ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि वैशाख ११ र १२ गते उम्मेदवारी मनोनयन दर्ता भएको थियो । निर्वाचनका लागि ९५ हजार २५३ पुरुष र ५७ हजार ९६७ महिला गरी कुल एक लाख ५३ हजार २२० जनाको उम्मेदवारी परेको थियो । ७५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, ६ हजार ७४३ वडाध्यक्ष, सोही संख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८३ सदस्य गरी कुल ३५ हजार २२१ सदस्यका लागि वैशाख ३० गते निर्वाचन हुँदैछ ।

उम्मेदवारलाई चुनाव चिन्ह वितरण
निर्वाचन आयोगले शनिबार देशभरका निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरेको छ । शुक्रबार साँझ प्रकाशित उम्मेदवारको अन्तिम नामावलीअनुसार उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिएको निर्वाचन आयोगले जनाएको छ । वैशाख ११ र १२ गते उम्मेदवारी मनोनयन दर्ता गराएर मनोनयन फिर्ता नलिएका उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिएको आयोगले जनाएको छ । राष्ट्रिय मान्यता प्राप्त ६ वटा राजनीतिक दलका उम्मेदवारलाई मतपत्रको क्रमसंख्या १ देखि ६ सम्म कायम गरी निर्वाचन चिन्ह प्रदान गरिएको छ । नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी र एकीकृत समाजवादी पार्टीले देशैभरि आफ्नो निर्वाचन चिन्ह पाएका छन् ।

स्थानीय तह निर्वाचन निर्देशिका, २०७८, को अनुसूची-२६ मा राष्ट्रिय दलको मान्यता प्राप्त नगरेका पार्टीहरूले पनि आफ्नै चिन्ह पाएका छन् । राष्ट्रिय दलको मान्यता नपाएका तर गत संसदीय निर्वाचनमा समानुपातिक प्रणालीतर्फ भाग लिएका दलहरूले पनि स्थानीय तह निर्वाचनमा आफ्नै दलको निर्वाचन चिन्ह पाएका हुन् । उनीहरूको निर्वाचन चिन्हको क्रमगत संसदीय निर्वाचनमा पाएको समानुपातिक मतको संख्याका आधारमा तय गरिएको छ । आयोगका अनुसार विवेकशील साझा, राप्रपा, राष्ट्रिय जनमोर्चा, नेमकिपासहित त्यस्ता दलहरूको संख्या २३ छ ।

गत संसदीय निर्वाचनमा समानुपातिक प्रणालीतर्फ भाग नलिएका दलहरूले पनि आफ्नो चिन्ह पाएका छन् । ती दलहरूले पेश गरेको संगठनात्मक विवरणका आधारमा संगठन रहेका जिल्लामा आयोगले निर्वाचन चिन्ह दिएको छ । निर्वाचन आयोगका अनुसार सिके राउतको जनमत पार्टी र कमल थापा नेतृत्वको राप्रपा नेपालसहित त्यस्ता दलहरूको संख्या ४० रहेको छ ।

निर्वाचन आयोगले प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार स्थानीय तह निर्वाचनका लागि देशभरि विभिन्न पदमा मनोनयन दर्ता गरेको साढे एक लाख उम्मेदवारमध्ये १२ हजार ७८९ स्वतन्त्र उम्मेदवार छन् । स्वतन्त्र उम्मेदवारहरूको लागि अनुसूची-२७ मा ४० वटा चुनाव चिन्हहरू राखिएका छन् । तीमध्ये नै एक स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह पाएको आयोगले जनाएको छ । स्वतन्त्र तथा बागी उम्मेदवारहरूले आयोगले तय गरेका विभिन्न ४० वटा नमुनामध्येबाट निर्वाचन चिन्ह पाएका छन् । स्थानीय तह निर्वाचन निर्देशिकाले स्वतन्त्र उम्मेदवारहरूलाई उनीहरूले रोजेकै चिन्ह प्रदान गर्ने व्यवस्था गरेको छ । तर, दुई वा त्यसभन्दा बढी उम्मेदवारहरूले एउटै चिन्ह रोजेको अवस्थामा भने आयोगले उनीहरूको नामको सुरुको अक्षरका आधारमा प्राथमिकता तय गर्ने नियम छ ।

निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारहरूका लागि भ्यागुतो र खसीको टाउकोदेखि गुलाबको फूलसम्म निर्वाचन चिन्ह तय गरेको छ । स्थानीय तह निर्वाचन निर्देशिकाको अनुसूची २७ मा स्वतन्त्र निर्वाचन चिन्हहरूको सूची छ । त्यसको पहिलो नम्बरमा पुतली छ भने सबैभन्दा अन्तिम नम्बरमा पानी तान्ने कल राखिएको छ । आयोगले बिरालो, खरायो, जेब्रा, भालु, अर्ना, कंगारुदेखि बँदेलसम्मका जनावर स्वतन्त्र उम्मेदवारलाई प्रदान गरेको छ ।

स्वतन्त्र उम्मेदवारले छान्न पाउने निर्वाचन चिन्हमा काग, चिल, हाँसजस्ता पन्छीदेखि आँप, भुइँकटहर र केराजस्ता फलफूल तथा गुलाबको फूल पनि राखिएको छ । चुनाव चिन्हको सूचीमा रहेका खसीको टाउको, भ्यागुतो, लाल्टिन, मुढा, घण्टाघर, ग्याससिलिण्डर, प्रेसर कुकर, चुलेँसी र कप प्लेटजस्ता घरायसी प्रयोगमा आउने सामग्रीसहित लौरो खानेपानीको धारा, टायर, रिक्सा र सिरिञ्ज पनि स्वतन्त्र उम्मेदवारलाई प्रदान गरिएको निर्वाचन आयोगले जनाएको छ ।

यस्ता छन् चर्चामा रहेका स्वतन्त्र उम्मेदवारले पाएका चुनाव चिन्ह
स्थानीय तह निर्वाचनको लागि दिएका कतिपय स्वतन्त्र उम्मेदवार निकै चर्चामा रहेका छन् । तीमध्ये एक हुन् बालेन शाह । देशको संघीय राजधानी काठमाडौं महानगरपालिकाको मेयर पदको लागि स्वतन्त्र उम्मेदवारी दिनुभएका बालेन शाहले लौरो चुनाव चिन्ह पाउनुभएको छ । काठमाडौं महानगरमा सत्ता गठबन्धनका तर्फबाट सिर्जना सिंह र एमालेबाट केशव स्थापित, राप्रपाबाट मदनदास श्रेष्ठ मेयर पदको प्रतिस्पर्धामा रहनुभएको छ ।

निकै चर्चामा रहेको चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी दिनुभएका चर्चित उम्मेदवार जगन्नाथ पौडेलले भुइँकटहर चुनाव चिन्ह पाउनुभएको छ । पौडेलको उम्मेदवारी फिर्ता गराउन कांग्रेसका नेताहरूले निकै प्रयत्न गरे पनि सफल भएनन् । भरतपुरमा सत्ता गठबन्धनका तर्फबाट रेनु दाहाल र एमालेबाट विजय सुवेदी मेयर पदका लागि मुख्य प्रतिस्पर्धी रहेका छन् ।

कास्कीको पोखरा महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिनुभएका विमलबहादुर कार्कीले लालटिन चुनाव चिन्ह पाउनुभएको छ । कांग्रेस नेतासमेत रहनुभएका कार्कीले गठबन्धनको विरोध गर्दै स्वतन्त्र उम्मेदवारी दिनुभएको हो । कार्कीलाई उम्मेदवारी फिर्ताका लागि पटक-पटक आग्रह गर्दा पनि फिर्ता नलिएपछि कांग्रेसले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिसकेको छ । गठबन्धनको विरोधमा कांग्रेसकै अन्य दुई नन्दप्रसाद तिवारी र ऋषिराम सापकोटाले दिएको स्वतन्त्र उम्मेदवारी शुक्रबार फिर्ता भइसकेको छ ।

पोखरा महानगरपालिकामा अटेरी अभियानको तर्फबाट मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिनुभएका गनेस पौडेलले लौरो चुनाव चिन्ह पाए पनि निर्वाचन आयोगले फिर्ता गरेको थियो । आयोगको उक्त निर्णयले त्यहाँ विवाद भयो । पोखरा महानगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनको तर्फबाट धनराज आचार्य र एमालेको तर्फबाट कृष्ण थापा उम्मेदवार हुनुहुन्छ ।

मोरङको विराटनगर महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिनुभएका उमेश यादवले लालटिन चुनाव चिन्ह पाउनुभएको छ । यादव आफ्नो पार्टी जसपाबाटै मेयरको उम्मेदवार बन्न चाहनुभएको थियो । तर, पार्टीले टिकट नदिने भएपछि पार्टी नै परित्याग गरेर यादवले स्वतन्त्र उम्मेदवारी दिनुभएको हो ।

यस्तै, विराटनगर महानगरपालिकाको उपमेयर पदमा स्वतन्त्र उम्मेदवारी दिनुभएकी नमिता न्यौपानेले पनि लालटिन चुनाव चिन्ह पाउनुभएको छ । विराटनगर महानगरपालिकाको मेयर पदको लागि सत्ता गठबन्धनका तर्फबाट नागेश कोइराला र एमालेको तर्फबाट सागर थापा प्रतिस्पर्धामा रहनुभएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिकाको मेयर पदको लागि स्वतन्त्र उम्मेदवारी दिनुभएका गोपाल हमालले चुनाव चिन्ह आँप पाउनुभएको छ । धनगढी उपमहानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट नृपबहादुर वड र एमालेको तर्फबाट रणबहादुर चन्दले मेयर पदको लागि उम्मेदवारी दिनुभएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि हमालले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । त्यतिबेला हमाल कांग्रेसका वडसँग पराजित हुनुभएको थियो ।

बनेपा नगरपालिकाको मेयरको उम्मेदवार बन्न अधिकृतबाट राजीनामा दिनुभएका कञ्चनराज गिरीले पुतली चुनाव चिन्ह पाउनुभएको छ । बनेपा नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिनुभएका गिरीले कालीगण्डकी ‘ए’ को प्रशासन प्रमुखबाट राजीनामा दिनुभएको थियो । २२औँ पटकमा लोकसेवामा नाम निकाल्नुभएका गिरीले जागिर खाएको पाँच महिना नबित्दै राजीनामा दिनुभएको थियो ।

तनहुँको ब्यास नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिनुभएका कांग्रेस नेता दीपकराज जोशीले कैँची चुनाव चिन्ह पाउनुभएको छ । कांग्रेस नेता तथा पूर्व-गृहमन्त्री गोविन्दराज जोशीका छोरा दीपकराजले एमालेसँग गठबन्धन गर्नुभएको छ ।

चुनाव चिन्हको लागि आयोग र उम्मेदवारबीच लडाइँ
पोखरा महानगरपालिकाका स्वतन्त्र उम्मेदवार गनेस पौडेललाई दिएको चुनाव चिन्ह ‘लौरो’ निर्वाचन अधिकृतको कार्यालयले फिर्ता मागेको पछि प्रदर्शन भएको थियो । शनिबार दिउँसो स्वतन्त्र उम्मेदवार पौडेललाई चुनाव चिन्ह छान्न लगाएर मागेअनुसार लौरो दिए पनि अधिकृतको कार्यालयले तीन घण्टापछि फिर्ता माग्दै अर्को चिन्ह रोज्न भनेको थियोे ।

निर्वाचन अधिकृतको कार्यालयबाट सो चिन्ह दिन नसकिने भन्दै फोन आएपछि उम्मेदवार पौडेलले आपत्ति जनाउनुभएको थियो । पौडेलले आयोगका कर्मचारीले षड्यन्त्र गरेको भन्दै आफैँले दिएको सूची मध्येबाट पाएको चिन्हलाई पछि आएर दिन नमिल्ने भन्नुमा अन्य राजनीतिक दलसँग मिलेर षडयन्त्र गर्न खोजेको पौडेलको आरोप थियो । पोखरा महानगरपालिकामा एमालेको भोट धेरै काटिने ठानेर आयोगले एमालेसँग मिलेर षडयन्त्र गरेको उहाँको जिकिर थियो ।

सो विषयमा विरोध भएपछि कार्यालयले आयोगमा जानकारी गराएको थियो । आयोगले कास्कीको हकमा लौरो चिह्नसहितको मतपत्र प्रकाशन गर्ने भएपछि उक्त चिह्न उमेदवार खडकराज पौडेल (गनेस)लाई दिइएको कार्यालयका सूचना अधिकारी नील पनेरुले जानकारी दिनुभयो ।

नमुना मतपत्र सार्वजनिक
आसन्न स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले जिल्लागत नमुना मतपत्र सार्वजनिक गरेको छ । आयोगले शनिबार वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नमुना मतपत्र सार्वजनिक गरेको हो । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरको नमुना मतपत्र भने सार्वजनिक गरेको छैन । यस्तै, आयोगले विराटनगर, वीरगञ्ज र भरतपुरको नमुना मतपत्र पनि सार्वजनिक गरेको छैन । आयोगले यसअघि नै ६ वटा महानगरपालिका र भक्तपुरमा अन्तिम नामावली प्रकाशन गरेपछि मात्र छपाइ गर्ने जानकारी दिएको थियो ।

४९ जिल्लामा मतपत्र ढुवानी
निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका लागि शनिबारसम्म ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिसकेको जनाएको छ । कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला, प्रदेश नं १ का मोरङबाहेक सबै जिल्ला र गण्डकीको पोखरा महानगरबाहेक सबै स्थान, बागमती प्रदेशका पाँच जिल्लामा मतपत्र पुगिसकेको निर्वाचन आयोगले जनाएको छ । काठमाडौंबाट लामो दूरीमा रहेका पूर्व र पश्चिमका अधिकांश जिल्लामा मतपत्र पुगिसकेको र अन्य जिल्लामा पुग्नेक्रम जारी रहेको आयोगले जनाएको छ । मनाङ र मुस्ताङ जिल्लामा हेलिकप्टरबाट मतपत्र ढुवानी गरिएको छ । निर्वाचन आयोगले यही वैशाख १३ गतेदेखि मतपत्र ढुवानी सुरु गरेको थियो । हालसम्म छवटा महानगर र भक्तपुर जिल्लाबाहेक ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ भइसकेको जनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?