निर्वाचनको वास्तविक सरगर्मी सुरु

Read Time = 6 mins

निर्वाचन आयोगले स्थानीय निर्वाचनको कार्यतालिका प्रकाशित गरेको पहिले नै हो । प्रकाशित तालिका अनुसार शुक्रबारबाट दाबी, विरोध र नाम फिर्ताको समय समाप्त भएको छ । यसबीच उम्मेदवारी दर्ता गरेका धेरै उम्मेदवारले नाम फिर्ता लिएका छन् । सरकारमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले समाजवादी, जनता समाजवादी पार्टी तथा संयुक्त जनमोर्चा नेपालको प्रतिबद्धतापूर्ण गठबन्धन छँदैछ । नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको ज्यादतीका कारण पाँच दलीय मोर्चा तयार भएर कानुनी बाटोबाट हटाएपछि सरकारमा विभिन्न सिद्धान्त र विचारका पार्टी भए तापनि एकता कायम गरेर सरकार सञ्चालन हुँदै आएको छ ।

सरकारमा भएको यो एकता निर्वाचनमा कायम गरेर जाने र नेकपा एमालेलाई पराजित गर्ने रणनीतिबमोजिम हाल स्थानीय तहको आसन्न निर्वाचनमा गठबन्धन कायम हुनेगरी कार्यक्रम अघि बढाइएको छ । गठबन्धनको कार्यक्रम अनुसार जहाँ जसको बाहुल्य छ त्यहाँ त्यसैलाई अघि बढाउँदै र सबैको समान हैसियत देखिएका ठाउँमा तालमेल कायम गरी सबै पार्टीका उम्मेदवारहरूलाई मनोनयन दर्ता गर्न लगाइएको छ । यसो गर्दा पनि कतिपय ठाउँमा स्वतन्त्र उम्मेदवारी दिने पार्टी कार्यकर्ता तथा स्तानीय नेताहरूको संख्या उल्लेख्य देखियो । पार्टी निर्देशनविपरीत उम्मेदवारी दिने पार्टीका कार्यकर्तालाई कारबाही गर्ने भनेपछि ती मध्ये केही कार्यकर्ता दच्किए र उम्मेदवारी फिर्ता लिए । आफ्नो उम्मेदवारी फिर्ता लिने कार्यकर्ताको संख्या पनि उल्लेखनीय छ ।

तर, केही ठाउँमा केही कार्यकर्ताले भने अडान छोडेका छैनन् र आफ्नो उम्मेदवारी फिर्ता गरेका छैनन् । एक प्रकारले भन्ने हो भने त्यो तिनीहरूको हठ हो तर अर्को कोणबाट यसलाई हेर्नुपर्ने हुन्छ । पार्टीले उनीहरूको चाहनालाई सम्बोधन गर्न नसकेको रूपमा हेर्नुपर्छ । पार्टीमा निरन्तरको योगदान गरिरहेका कार्यकर्ताले केही चाहना गर्नु अस्वाभाविक अवश्य होइन । राजनीति पनि निरन्तर त्यागमात्र होइन तर पार्टीले जहिले पनि कार्यक्रर्तामाथि अन्याय गर्नाले उनीहरूको चित्त दुख्ने नै भयो । अर्कातिर कुनै ठाउँमा कुनै पार्टीको राम्रो वर्चस्व रहँदारहँदै ती स्थानहरू अर्को पार्टीलाई बण्डा लगाउनु पर्दा त्यहाँका स्थानीय नेता तथा कार्यकर्ताको पालो चाहिँ कहिल्यै नआउने देखिन जान्छ ।

भरतपुरको जड समस्या यही नै हो । नेपाली कांग्रेसको राम्रो पकड भएको ठाउँ भएर पनि गत निर्वाचनमा त्यहाँका नेपाली कांग्रेस पार्टीका शुभचिन्तक कार्यकर्ताले कांग्रेसको रूख चिहृनमा मत हाल्न पाएनन् । यस पटक पनि त्यही समस्या त्यहाँ देखा प¥यो । सधैं अरू पार्टीकै चुनाव चिहृनमा भोट दिँदै जाने हो भने हामीले कहिले रूख चिहृनमा भोट हाल्न पाउने भन्ने त्यहाँका स्थानीय नेता कार्यकर्ताको भनाइ हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको गृहजिल्ला हो चितवन । त्यसैले दाहालकै छोरी रेणु दाहालको स्थान सुरक्षित बनाउन नेपाली कांग्रेसका कार्यकर्ता तथा मतदाताले नै आफ्नो सिद्धान्तको बलिदानी दिनुपर्ने अवस्था आएबाट कांग्रेस कार्यकर्ताको चित्त दुखेको हो भन्नुपर्ने हुन्छ ।

यस्ता समस्या अन्त धेरैतिर होलान् तर प्रतिनिधि ठाउँ भनेको भरतपुर नै देखिन आएको छ । जो होस् समस्याविनाका कुनै विषय हुँदैनन्, आइपरेको समस्यालाई समाधान गर्दै जानु बुद्धिमत्तापूर्ण हुनजान्छ । एमालेका ओली र ओली प्रवृत्तिलाई परास्त गर्नु अन्य ठूला दलको अभिष्ट हो । शुक्रबार कार्यालय समयपछि सकिएको दाबी विरोध र नाम फिर्ताको समयको समाप्ति भएको छ । अबको अजुनदृष्टि भनेको निर्वाचनलाई स्वच्छ, भयरहित, निष्पक्ष रूपमा सम्पन्न गर्नु हो र यो दायित्व सबैको हो । सबैले आ–आफ्नो दायित्व पूरा गर्नुपर्ने हुन्छ र पूरा गर्नसके निर्वाचन सफलतापूर्वक सम्पन्न हुन नसक्ने कुरै हुँदैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?