श्रम दिवसमा श्रमिक सम्मानित

Read Time = 4 mins

विराटनगर । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर उद्योग संगठन मोरङले शुभकामना आदानप्रदान तथा श्रमिक सम्मान कार्यक्रम आयोजना गरेको छ । संगठनले विश्वभरका श्रमिकको महान् दिनका रूपमा रहेको मई दिवस श्रमिक र रोजगारदाताले साझारूपमा एकाकार गर्दै मनाउने सन्दर्भमा यस वर्ष पनि १३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना आदानप्रदान तथा श्रमिक सम्मान कार्यक्रम आयोजना गरिएको जनाएको छ ।

आइतबार संगठनको सचिवालयमा आयोजित कार्यक्रममा संगठनका कार्यवाहक अध्यक्ष प्रदीप मुरारकाले श्रमिक र रोजगारदाताको सम्बन्ध नङ र मासुजस्तो भएकाले रोजगारदाता र ट्रेड युनियनबीचको संवाद र सहकार्यमार्फत् श्रम सम्बन्ध सुधार र श्रमसम्बन्धी समस्याको समाधान भइरहेको बताउनुभयो ।

आगामी दिनमा पनि थप सशक्त समझदारी र सहयोगका साथ सहकार्य गर्दै असल औद्योगिक सम्बन्धको विकास एवं आर्थिक क्षेत्रका चुनौती सामना गर्न सक्षम हुने गरी काम गर्न मे दिवसले सबैलाई थप ऊर्जा प्रदान गर्ने उहाँले बताउनुभयो । संगठनका उपाध्यक्ष भोलेश्वर दुलालले श्रमिक र रोजगारदाता एकअर्कासँगको सहकार्यबिना अस्तित्वमा नरहने भन्दै संगठनले असल श्रम सम्बन्धलाई सधैं प्राथमिकतामा राखेको बताउनुभयो ।

सार्क ट्रेड युनियन महासंघका महासचिव एवं ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष लक्ष्मण बस्नेतले यस्ता कार्यक्रमले रोजगारदाता र श्रमिकको सम्बन्धमा थप निकटता ल्याउने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा नेपाल ट्रेड युनियन महासंघका प्रदेश अध्यक्ष किशोर धमला, नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश अध्यक्ष नारायणबाबु कार्कीलगायत ट्रेड युनियनका नेता एवं दुई सय ५० भन्दा बढी श्रमिकको सहभागिता थियो ।

संगठनले एक महिला र एक पुरुष श्रमिकलाई सम्मान गरेको छ । सम्मानित हुनेमा हिमगिरि हाइजिन प्रालि बुढिगंगामा विगत २५ वर्षदेखि कार्यरत महिला श्रमिक द्रोपदी राय र जयश्री कम्पनी प्रालिमा विगत ३७ वर्षदेखि कार्यरत श्रमिक महेश चौधरी रहेको संगठनले जनाएको छ । संगठनका कार्यवाहक अध्यक्ष मुुरारकाले खादा, माला, सम्मानपत्रका साथै जनही ११ हजार पुरस्कारसहित सम्मान गर्नुभएको थियो । कार्यक्रममा संगठनका पूर्वअध्यक्षहरू अशोक मुरारका, शिवशंकर अग्रवाल र मुकेश उपाध्याय, उपाध्यक्षहरू राजकुमार गोल्छा, नन्दकिशोर राठी, सदस्य सुरेन्द्र गोल्छा, तारानाथ निरौला, प्रतिभा रिजाल ओली, इन्द्र खत्री, सौरभ सारडालगायतको उपस्थिति थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?