बुटवल खराब कामको मानक बनेको छ, सुधार गर्नुपर्छ : खेलराज पाण्डे, उम्मेदवार, बुटवल उपमहानगरपालिका प्रमुख

Read Time = 14 mins

बुटवल । बुटवल उपमहानगरपालिकामा प्रमुख पदका लागि खेलराज पाण्डे चुनावी मैदानमा हुनुहुन्छ । नेपाली कांग्रेसका बुटवल नगरसभापतिसमेत रहनुभएका उहाँलाई नेपाली कांग्रेस सहितका सत्तारुढ दलहरू नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन प्राप्त छ । पाँच दलीय संयुक्त गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका पाण्डे बुटवलबासीमाझ सुपरिचित नाम हो । बुटवलका टोलटोलमा परिचित पाण्डे बुटवलको विकासका पर्याय हुनुहुन्छ । यसअघिको निर्वाचनमा झिनो मतअन्तरले पराजित भए पनि उहाँ बुटवलका हरेक विकास निर्माणका काममा जोडिनुभएको छ । २०२६ साल फागुनमा स्याङ्जाको कालीगण्डकी–२ मा जन्मिनुभएका पाण्डे पछिल्लो तीन दशकदेखि बुटवलमा सक्रिय राजनीतिमा संलग्न छन् । २०३९ सालमा स्याङ्जाकै आदर्श मावि स्याङ्जामा नेपाल बिद्यार्थी संघको सदस्य भएपछि उहाँको राजनीतिक यात्रा सुरु भएको हो । रुपन्देहीमा २०५२ सालमा नेविसंघको सचिव, २०५९ सालमा तरुण दल रुपन्देहीको अध्यक्ष हुँदै २०६० सालमा तरुण केन्द्रीय सदस्य हुनुभएका पाण्डे २०६७ सालमा नेपाली कांग्रेस बुटवल नगर सभापति निर्वाचित हुनुभएको थियो । बुटवल उपमहानगरपालिकामा प्रमुख पदका उम्मेदवार खेलराज पाण्डेसँग हाम्रा बुटवल संवाददाता चन्द्रकान्त खनालले गर्नुभएको कुराकानीको संक्षिप्त अंश :-

  • बुटवल उपमहानगरपालिकाको प्रमुखमा लड्दै हुनुहुन्छ ? जनताको घरमा पुग्दा कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
    बुटवलबाट अहिले म प्रमुख पदमा उठेर जनतासँग प्रत्यक्ष भेटघाट हुँदै गर्दा उहाँहरूले ठिक मान्छेले टिकट पाउनुभयो । हामीले एकपटक तपाईंलाई अवसर दिन्छौँ जिताउने छौँ ढुक्क भएर लाग्नुस् भन्नुभएको छ । नगरको निर्वाचन जित्नुस् र हामीले चाहेको सफा सुन्दर, हरियालीयुक्त र समृद्ध बुटवल बनाउनुस् भनेर आशीर्वाद शुभकामना दिइरहनुभएको छ । सबैको माया पाएको छु । तपाईंलाई एकपटक मौका दियौँ भने राम्रो काम गर्नुहुनेछ भन्ने विश्वास छ भनेर जितको शुभकामना दिइरहनुभएको छ । यसअघि पटक–पटक विश्वास गरेका दलहरूले निराश बनाएको, ठूला ठूला सपना देखाएर केही पनि काम नगरेकोमा एकखालको निराशा पनि देखिन्छ । जनताले चुनावमा भोट हालेर जिते पनि मन जित्न नसकेको नगरबासीको अनुभूति मैले सुन्न पाएको छु । म फरक दलको भएका कारणले यसो भनिरहेको छैन, बुटवलका अधिकांश बासिन्दालाई तपाईंले सोध्नुभयो भने उहाँहरू हालका जनप्रतिनिधि र उहाँहरूको पार्टीप्रति असन्तुष्ट हुनुहुन्छ । जनताको यो माया सदभाव प्रति म आभारी छु र त्यो माया र सद्भाव भोटका रूपमा व्यक्त हुन्छ भन्ने विश्वासमा छु ।
  • तपाईंलाई किन जिताउने ?
    यो अन्तर्वार्तामा म सबैकुरा भनेर त सक्दिनँ । कतिपय कार्यक्रमहरू विस्तृतमा उल्लेख गर्नुपर्ने हुन्छ । तरपनि, म केही मुख्य योजनाहरू भन्न चाहन्छु । म बुटवललाई देशकै समृद्ध आर्थिक केन्द्रका रूपमा विकास गर्न चाहन्छु । यहाँका नदी किनारका बासिन्दाले सुरक्षित रूपमा आफ्नै जग्गा जमिनमा बस्न पाउने अधिकार दिलाउनु मेरो मूल कर्तव्य हो । यो नागरिकको मौलिक हक हो । यहाँको सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोबासलाई समाधान गर्नेछु । त्यो पनि बुटवलभित्र नै व्यवस्थापन गरेर समाधान गरिनेछ । आवश्यकताका आधारमा प्राथमिकता तय गरेर कार्यक्रमहरू ल्याइनेछन् । यस्ता अरू धेरै कार्यक्रम र योजनाहरू हामीले लिएका छौँ । हामी पाँच दलीय गठबन्धनबाट चुनावी मैदानमा छौँ । गठबन्धनका एजेण्डाहरू पनि मैले साझा रूपमा अघि बढाउनेछु । हाम्रो पार्टीको बुटवलको घोषणापत्र र राष्ट्रिय एजेण्डाहरू र कार्यक्रमहरू छन् । तीनलाई पनि म समावेश गरेर सबै दलहरूलाई अपनत्व हुनेगरी सहभागी गराएर अघि बढ्नेछु । यो मेरो प्रतिबद्धता हो ।
  • तपाईंले गठबन्धनको कुरा गर्नुभयो ? गठबन्धनका दलहरूबीचको तालमेल कस्तो छ ?
    सुरुसुरुमा बुझाइमा केही समस्याहरू थिए । ती सबै समाधान भएका छन् । यो गठबन्धन राष्ट्र जोगाउनका लागि, संविधानको रक्षाका लागि, मुलुकलाई अस्थिरता र अराजनीतितर्फ धकेलिनबाट जोगाउनका लागि निर्माण भएको हो । जतिबेला नेकपा विघटन र एमाले विभाजन भयो, त्यसले उत्पन्न गराएको परिस्थितिले मुलुक नै संकटग्रस्त अवस्थामा पुग्न थालेको थियो । यदि नेपाली कांग्रेसले त्यसको अगुवाइ नगरेको भए र पाँच दल एकैठाउँमा नआएको भए हाम्रो संविधान अहिलेको अवस्थामा रहदैनथ्यो । जनताको बलिदानीले प्राप्त गरेको यो उपलब्धि गुम्ने खतरा थियो । जनतामाझ यसबारे भ्रम फिजाउन खोजिएको छ । एमालेले जनतालाई आफ्ना कमजोरी लुकाएर गठबन्धनको खेदो खनेको छ । किनभने अहिले एमालेसँग अरू कुनै एजेण्डा छैनन् । देशलाई अस्थिर बनाउने र अराजनीतिक बाटोमा लैजाने उसको योजना असफल भएको छ । यो कुरा उसले लुकाउनका लागि गठबन्धनविरोधी नारा लिएर जनतामाझ गएको छ । नेपाली कांग्रेस सत्तामा आउन चाहिरहेकै थिएन । पाँच वर्षको कार्यकाल पूरा होस् भन्ने नै थियो । हामी जनताको मतलाई सम्मान गर्छौं । हामी अराजनीतिक गतिविधिलाई कहिल्यै पनि प्राथमिकता दिँदैनौँ । तर, मुलुकको अवस्था संकटतर्फ जान थालेपछि मुलुकलाई बचाउनका लागि कांग्रेस काँध थाप्न आएको हो । त्यसमा अरू चार दल सहभागी भए । यो गठबन्धनका दलहरूबाट केही साथीहरूले उम्मेदवारी दिए पनि मलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता गर्नुभएको छ । यसले यो गठबन्धनलाई अरू धेरै बलियो बनाएको छ । हामीबीचमा आपसी सम्बन्ध र सद्भाव बढेको छ । कुनै पनि समस्या छैन । सबै दलका साथीहरूले हामीले निर्वाचन जित्छौँ, जित्नुपर्छ र हाम्रो जित सुनिश्चित छ भन्ने कुरा गर्नुभएको छ । हामी फराकिलो अन्तरले बुटवलमा चुनाव जित्छौँ । बुटवलबासीलाई साँच्चिकै जनप्रतिनिधि आएको अनुभूति दिलाउनेछौँ ।
  • चुनाव सहजै जित्छौँ भन्नुभयो, त्यसका आधारहरू के हुन् ?
    म २०७४ को चुनाव लडेँ । मेरो २३०० जति भोट कम भयो । त्यो चुनावदेखि यो चुनावसम्म मैले जनताका समस्या समाधानका लागि निरन्तर लडिरहेको छु । जतिले मलाई भोट दिनुभएन उहाँहरू वास्तवमै पछुताउनुभएको मैले पाएँ । हामीले गलत व्यक्तिलाई जिताएछौँ भन्ने अनुभव बुटवलबासीले गरेको मैले पाएको छु । अघिल्लो चुनावमा भ्रममा परिएछ भन्नेहरू अहिले मलाई नै जिताउन खटिनुभएको छ । किनभने, जति काम जितेका मान्छेले गर्न सकेनन्, मैले नजितेरै पनि गरेँ । मैले जितेको भए त्यसको कैयौँ गुणा धेरै काम म गर्न सक्थेँ भन्ने कुरा जनताले बुझ्नुभएको छ । अर्को कुरा, बुटवल नयाँ शहर होइन । यहाँका बासिन्दाको आफ्नै खालको अपनत्व छ । पूराना बासिन्दाको लगाव फरक खालको छ । नयाँ बासिन्दाको फरक खालको लगाव छ । ती दुवै खालका बासिन्दाको मन जित्न सक्नुपर्छ । उहाँहरूको भावनाको सम्मान गरेर काम गर्न सक्नुपर्छ । यो काम म गर्न सक्छु । बुटवलमा हाम्रो पार्टी अहिले एकजुट छ । कुनै समस्या छैन । संगठन बलियो छ । प्रत्येक टोलका समितिहरू सक्रिय छन् । एकजुट छन् । अहिले थपिएका नयाँ मतदाता २३ हजार जति छन् । यी मतदातामा धेरै युवा हुन् ।
  • अन्य पार्टीका उम्मेदवारहरूले बुटवललाई आफ्नो गढ भनेर प्रचार गरिरहेका छन् नि ?
    कसैले गढ भन्दैमा त्यो सत्य नै हुन्छ भन्ने छैन । मैले अघिल्लो चुनावमा २३०० जति भोट कम ल्याएकोे हुँ । अहिले ९० हजारभन्दा बढी मतदाता छन् । कसरी गढ भयो ? यो नागरिकमा भ्रम फिँजाउनका लागि फैलाइएको हल्ला मात्रै हो । हामीले बुटवलमा त्यसअघि सुर्यप्रसाद प्रधानदाईले चुनाव जित्नुभएकै थियो । हामीले हाम्रो गढ भनेर भ्रम त फिँजाएनौँ । संघीय सरकारको नेतृत्व गर्दैमा देश हाम्रो गढ भयो भन्दिने त ? यसपटक पाँचदलीय गठबन्धनका तर्फबाट म चुनाव जित्छु । म गढ भनेर भ्रम फिँजाउन्न । किनकि यो कुनै पार्टीको गढ हैन । बुटवलबासीको उपमहानगर हो । यसलाई बुटवलबासीको साझा सम्पत्तिका रुपमै रहन दिनुपर्छ । पार्टीको सम्पत्ति जस्तो गरिनुहुन्न । अर्को कुरा, बुटवल नगरका हरेक नागरिक सचेत हुनुहुन्छ । देशमा भएका हरेक ठूला आन्दोलनको नेतृत्व गर्ने नेपाली कांग्रेसले गरेका गतिविधिलाई एमालेसँग दाँज्नै मिल्दैन । बुटवल र बुटवलबासीको लागि यसअघि नेतृत्वमा पुगेको एमाले र तिनका जनप्रतिनिधिले केही गरेनन् । त्यो कुरा जनताले स्पष्ट बुझ्नुभएको छ । विगतमा झुटा आश्वासन बाँडेर उनीहरूले जनतालाई झुक्याएका हुन् । अब यहाँका नगरबासी कोही पनि कसैले झुक्याउँदैमा झुक्किनु हुन्न भन्ने कुरामा म विश्वस्त छु ।
  • अन्त्यमा ?
    म नगरका आदरणीय आमाबुबा दाजुभाइ दिदीबहिनी सम्पूर्णमा विशेष अनुरोध आग्रह गर्न चाहन्छु कि, तपाईंले फेरि गल्ती नदोहो¥याउनुस् । यसपटक मलाई आफ्नो मत दिएर जिताउनुस् । म तपाईंकै सेवक हुँ र बाँकी जीवन पनि नगरबासीकै सेवक भएर बिताउनेछु । बुटवल उपमहानगर पालिकालाई पश्चिम नेपालकै आर्थिक र समृद्ध नगरको रूपमा विकास गर्न निस्वार्थ भएर लाग्नेछु । यसअघि धेरैपटक एउटै पार्टीलाइ हेर्नुभयो तर उनीहरूले सत्तामा गएपछि जनतालाई सम्झेनन् । त्यसैले यो पटक नेपाली कांग्रेसलाई र गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार म खेलराज पाण्डेलाई अमूल्य मत दिएर उपमहानगर हाक्ने मौका दिनुहोस् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?