१७ जिल्लामा मतपत्र ढुवानी बाँकी

Read Time = 2 mins

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मतपत्र ढुवानी गर्न अब १७ जिल्ला मात्र बाँकी रहेको छ । सिन्धुली, रामेछाप र दोलखामा १९ गते बिहान ढुवानी हुनेछ भने अन्य जिल्लामा यसै सातामा पठाइने निर्वाचन आयोगले जनाएको छ ।

वैशाख १७ गतेसम्ममा ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएकामा १८ गते लुम्बिनी प्रदेशका सबै जिल्लाका लागि मतपत्र पठाइएको छ । बाँकी रहेका जिल्लामा मधेस प्रदेशका आठ जिल्ला, प्रदेश नं. १ को मोरङ, बागमती प्रदेशको रसुवा, चितवन, ललितपुर, काठमाडौँ र भक्तपुरमा मतपत्र पठाउन बाँकी रहेको छ ।

कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला, प्रदेश नं. १ का मोरङबाहेक सबै जिल्ला र गण्डकीको पोखरा महानगरबाहेक सबै स्थान, बागमती प्रदेशका पाँच जिल्लामा मतपत्र पुगिसकेको छ ।

मनाङ र मुस्ताङ जिल्लामा हेलिकोप्टरबाट मतपत्र ढुवानी गरिएको छ । निर्वाचन आयोगले यही वैशाख १३ गतेबाट मतपत्र ढुवानी शुरु गरेको थियो । यसअघि छ वटा महानगर र भक्तपुर जिल्लाबाहेक ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ भइसकेकामा आइतबार भक्तपुर जिल्लाका लागि मतपत्र छपाइ भएको छ ।

महानगरहरू र भक्तपुरका लागि छापिने मतपत्र उम्मेदवारी मनोनयनपत्र दर्ताको अन्तिम नामावलीका आधारमा पूर्ववत् डिजाइनमा निर्वाचन चिन्ह थपघट गरेर छपाइ हुँदैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?