वडाध्यक्षमा शिक्षक र विद्यार्थीबीच चुनावी भिडन्त

Read Time = 5 mins

डम्मर बुढा मगर/हिटा
बागलुङ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बागलुङमा दलहरू निकै कस्सिएका छन् । आफ्ना उम्मेदवारलाई जिताउनका लागि मतदाता भेट्ने, भोट माग्ने र चुनावी सभामा उनीहरू व्यस्त छन् । चुनावी प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारमध्ये कसले जित्छ, कसले हार्छ अनुमान गर्न थालिसकेका छन् ।

चुनावी प्रतिस्पर्धा राजनीतिक दल, आस्था र विचारमा मात्र सीमित छैन । स्थानीय तहको निर्वाचन भएको हुँदा एउटै छरछिमेक, भुगोल, समाजका व्यक्तिबीच प्रतिस्पर्धा हुन्छ । अझै वडा तहको निर्वाचन हेर्ने हो भने एउटै टोल, साँधमा पर्ने छिमेकीबीचको प्रतिस्पर्धा अझै रोचक बन्न सक्छ ।

जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर-२ भीमापोखरामा वैशाख ३० गते त्यस्तै रोचक प्रतिस्पर्धा हुँदैछ । भीमापोखरामा शिक्षक र विद्यार्थी चुनावी मैदानमा होमिएका छन् । नेकपा एमालेले विद्यापति शर्मा र नेपाली कांग्रेसले गंगा थापा ‘भिक्षु’ लाई वडाध्यक्षमा उम्मेदवार बनाएको छ । यसले गर्दा पूर्वशिक्षक र विद्यार्थीबीच चुनावी प्रतिस्पर्धा निश्चित भएको छ ।

पूर्वशिक्षक विद्यापति शर्माले अर्काे उम्मेदवार गंगा थापालाई शिवालय आधारभूत विद्यालयमा पढाउनुभएको थियो । आफैंले पढाएको विद्यार्थी अहिले चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ । पूर्वशिक्षक र विद्यार्थी चुनावी मैदानमा उत्रिएको हुँदा दुवैजना व्यक्तिगत गालीगलौजमा उत्रिएका छैनन् । दुवैजनाले आ-आफ्नो योजना सुनाएर मतदातालाई आफ्नो पक्षमा लिने प्रयास गरेका छन् ।

यसअघिका निर्वाचनमा समान उमेर र सांगठनिक हैसियतका व्यक्ति उम्मेदवार हुँदा चुनावी भाषणमा व्यक्तिगत टिकाटिप्पणीसम्म हुने गर्थे । यसपटक दुवै पक्षबाट तल्लो तहको टिकाटिप्पणी भएका छैनन् । शर्मा पहिलो स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै वडाध्यक्षमा विजयी हुनुभएको थियो ।

शिक्षाशास्त्र संकाय अंग्रेजी विषयबाट स्नाकोत्तर तहसम्मको पढाइ पूरा गर्नुभएकी ३० वर्षीय थापा पनि अध्ययनपछि शिक्षण पेसामा आबद्ध हुनुभएको थियो । अस्थायी सेवामा कार्यरत थापा उम्मेदवार बन्नकै लागि शिक्षकबाट राजीनामा दिएर चुनावी प्रतिस्पर्धामा आउनुभएको हो । पूर्वशिक्षक र विद्यार्थीको चुनावी प्रतिस्पर्धा रोचक, सभ्य र राजनीतिक संस्कारले भरिपूर्ण हुने अपेक्षा गरेको स्थानीय प्रेमप्रसाद शर्माको विश्वास छ ।

एमालेका तर्फबाट उम्मेदवार रहनुभएका विद्यापति शर्माले आफूले पढाएको विद्यार्थी आफंैसँग प्रतिस्पर्धा गर्न सक्नु ठूलो सफलताका रूपमा लिएको बताउनुभयो । ‘प्रतिस्पर्धी मेरो पूर्वविद्यार्थी र छिमेकी दुवै पर्नुहुन्छ,’ उम्मेदवार शर्माले भन्नुभयो, ‘हामी आ-आफ्नो एजेन्डा, विचार र संगठनका साथ जनतामा पुग्छौँ, चुनाव संस्कारपूर्ण हुनेछ ।’

अर्काे उम्मेदवार थापाले पनि शिक्षकसँगको चुनावी प्रतिस्पर्धालाई जिम्मेवारपूर्ण ढंगबाट लिएको प्रतिक्रिया दिनुभयो । उहाँले संस्कारीरूपमा राजनीतिक र विकासका एजेन्डा लिएर मतदातासमक्ष पुग्ने बताउनुभयो । आफूहरू छिमेकी र पूर्व विद्यार्थी शिक्षक भएको हुँदा नकारात्मक खालका टिकाटिप्पणी नगरेको भन्दै अन्य उम्मेदवारले पनि अनावश्यक टिप्पणी गर्न नहुने बताउनुभयो ।

‘उहाँ मलाई पढाउनुभएको सर हो, संयोगले अहिले उहाँसँग चुनावी प्रतिस्पर्धा गर्नुपरेको छ, हामीले एकअर्कालाई नकारात्मक आरोप-प्रत्यारोप लगाउनेभन्दा पनि आ-आफ्नो एजेन्डा लिएर मतदातासँग भोट माग्छौँ,’ थापाले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?