लुम्बिनी प्रदेश सरकारको सय दिनको उपलब्धि सार्वजनिक

विवेक खड्का दाङ, संवाददाता
Read Time = 4 mins

दाङ । लुम्बिनी प्रदेश सरकारले सय दिनको उपलब्धि सार्वजनिक गरेको छ । स्थानीय उत्पादनका सामाग्रीको ब्राण्डिङ्ग गर्दै दुई लाख व्यक्तिलाई रोजगारी सृजना गर्नेगरी काम भइरहेको सार्वजनिक गरिएको छ । कानुन निर्माण संगै आर्थिक समृद्धिको आधार तयार पार्ने सम्मका कामहरु सरकारले प्रमुख उपलब्धीको रुपमा लिएको छ । तर, यो एक सय दिनको अवधिमा सरकारले पूर्णता भने पाउन सकेन ।

अझैं तीन जना मन्त्री थप गर्न बाँकी छ । तर, सत्ता साझेदार दलहरुको विचमा कुरा नमिल्दा सरकारलाई पूर्णता दिन नसकिएको हो । प्रदेश सरकारले एक सय दिनको उपलब्धि सार्वजनिक गर्दै संघियता कार्यान्वयनमा रोल मोडेल बन्नेगरी काम अघि बढाएको बताएको छ । स्थानीय सामाग्रीको उत्पादन र त्यसको बजारीकरणबाट मात्रै गाउँ गाउँमा रोजगारी सृजना गर्न सकिने भन्दै चालु आर्थिक बर्षमा दुई लाख व्यक्तिलाई रोजगारी दिने योजना रहेको मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताउनुभयो ।

‘सरकारको प्रमुख ध्यान भनेकै आर्थिक विकासमा छ । त्यसका लागी स्थानीय उत्पादनको सामाग्रीको बजारीकरण र त्यसको ब्राण्डीङ्गनै आधार हो’ उहाँले भन्नु भयो,‘अहिले हामीले आर्थिक विकासलाई प्राथमिकतामा राखेर मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम अघि सारेका छौं । बजेट पनि प्रशस्त छ । केन्द्र सरकार संग पनि डेढ अर्ब बजेट मागेका छौं । अर्काे कुरा दातृ निकायसंग पनि अनुरोध गरेका छौं ।’ गत बैशाख १५ मा लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन भएको थियो ।

सरकार गठन भएको एक सय एक दिन पुगेको सन्दर्भमा उपलब्धि सार्वजनिक गरिएको हो । जसमा कानुन निर्माण तर्फ निजामती कर्मचारी विधेयक संसदमा दर्ता गरेको देखी भौतिक पूर्वाधार तर्फ भएका प्रगतीहरु रहेका छन् । यो सय दिनमा एक सय ७५ किलोमिटर सडक कालोपत्रे भएको, एक सय ५० किलोमिटर सडक ग्राभेल गरिएको, १५ वटा पक्कि सडक सम्पन्न भएको योजना सार्वजनिक गरिएको हो । सडक तथा पुलका विभिन्न १५ वटा आयोजनाहरुको बहुबर्षिय खरिद गुरुयोजना स्वीकृत भएर खरिद प्रक्रिया अघि बढेको छ ।

यस्तै लम्पी स्किन रोगको रोकथामका लागी स्थानीय तह समेतको सहकार्यमा हाल सम्म ४४ हजार पशुहरुमा खोप र एक लाख १६ हजार पशुहरुको उपचार गरिएको छ । थप एक लाख ५० हजार खोप र ६५ हजारलाइ उपचार गर्ने व्यवस्था सरकारले मिलाएको छ । प्रदेश सरकार लयमा हिडिरहेको र जनताको दैनिक समस्याहरु समाधान गर्नेगरी काम भइरहेको गृहमन्त्री सन्तोषकुमार पाण्डेले बताउनुभयो ।‘सरकारले लय पकडेको छ । जनताको दैनिकी समस्या समाधान गर्नेगरी हामीले काम गरिरहेका छौं’उहाँले भन्नुभयो,‘यो सय दिनको अवधिमा प्रदेश सरकार भएको महशुस प्रदेशबासीले गर्नु भएको छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?