भिल्लारियलमाथि बार्सिलोनाको रोमाञ्चक जित

Read Time = 4 mins

लण्डन । स्पेनिस ला लिगाअन्तर्गत आइतबार भएको खेलमा बार्सिलोनाले भिल्लारियलमाथि चार-तीनको रोमाञ्चक जित हासिल गरेको छ । बार्सिलोनाको जितमा गाभी, फ्रेंकी डी योङ, रोबर्ट लेवान्डोस्की र फेरान टोरसले एक-एक गोल गर्नुभयो । भिल्लारियलका लागि जुआन फोइथ, अलेक्जेन्डर सर्लठ र एलेक्स बाएनाले एक-एक गोल गर्नुभयो ।

बार्सिलोनाले खेलको १२औँ मिनेटमा गाभीको गोलबाट अग्रता लियो । १५औँ मिनेटमा फ्रेन्की डी यङले अग्रता दोब्बर पार्नुभयो । २५औँ मिनेटमा कर्नरमा भिल्लारियलका फोइथले एक गोल फर्काउनुभयो । ४०औँ मिनेटमा सरलठले गोल गर्दै खेल बराबरीमा ल्याउनुभयो ।
५०औँ मिनेटमा भिल्लारियलले पेड्राजाको पासमा खेलमा अग्रता लियो । ६८औँ मिनेटमा फेरान टोरेसले गोल गर्दै खेललाई तीन-तीनको बराबरीमा ल्याउनुभयो । त्यसको दुई मिनेट बित्न नपाउँदै बार्सिलोनाका लागि लेवान्डोस्कीले विजयी गोल गर्नुभयो ।

यस जितपछि बार्सिलोनाले तीन खेलमा सात अंक जोड्दै तेस्रो स्थानमा रहन सफल भएको छ । पराजित भिल्लारियल एक जित र दुई हारका साथ तीन अंकसहित १३औँ स्थानमा रहेको छ । रियल म्याड्रिड ९ अंकसहित तालिकाको पहिलो स्थानमा रहेको छ ।

लिभरपुलको जित
यता, इंग्लिस प्रिमियर लिगमा डार्विन न्युनेजले बेन्चबाट आएर गोल गर्दा लिभरपुलले न्युकासल युनाइटेडमाथि अप्रत्यासित जित दर्ता गरेको छ । न्युकासलको घरेलु मैदानमा लिभरपुलले दुई-एकको जित निकालेको हो । २५औँ मिनेटमा एन्थोनी गोर्डनले गोल गर्दै न्युक्यासललाई अघि बढाउनुभएको थियो ।

७७औँ मिनेटमा प्रशिक्षक योर्गेन क्लोपले मिडफिल्डर एलेक्सिस म्याकएलिस्टरलाई निकालेर न्युनेजलाई मैदान पठाउनुभयो । ८२औँ मिनेटमा न्युनेजले पेनाल्टी क्षेत्र भित्रबाट बराबरी गोल गर्नुभयो । इन्जुरी समयमा मोहमद सलाहले दोस्रो गोल गर्नुभयो । यस जितसँगै लिभरपुलको तीन खेलमा सात अंक भएको छ । न्युकासल भने तीन खेलमा तीन अंकसाथ १३औँ स्थानमा छ ।

पहिलो खेलमा म्यानचेस्टर सिटीले पनि अन्तिम समयमा गोल गर्दै सेफिल्ड युनाइटेडलाई दुई-एकले हराएको थियो । त्यस्तै, एस्टनभिल्लाले बर्नलीलाई तीन-एकले पराजित गर्‍यो ।

यस्तै, अर्को खेलमा म्यानचेस्टर सिटीले आइतबारको खेलमा सेफिल्ड युनाइटेडविरुद्ध दुई-एकको जित निकाल्यो । सिटीको जितमा हालाण्ड र रोड्रीले एक–एक गोल गर्नुभयो । सेफिल्डका लागि जेडन बोगलले एक गोल फर्काउनुभयो । यससँगै सिटीले लिगमा शतप्रतिशत जितको सिलसिला कायम राख्दै शीर्षस्थानमा उक्लिएको छ । सिटीको ३ खेलमा नौ अंक छ ।

अर्को खेलमा एस्टनभिल्लाले बर्नलीलाई तीन-एकले हरायो । म्याटी क्यासले दुई तथा मौसा डियाबीले एक गोल गरेपछि भिल्ला दोस्रो जित दर्ता गर्न सफल रहृयो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?