मूर्तिया जंगलमा युवकको नांगो शव फेला, कुकुर झिकाएर अनुसन्धान शुरु

Read Time = 3 mins

प्रकाश मैनाली/सर्लाही

सर्लाहीको हरिपुर नगरपालिका-१, मूर्तिया जंगलमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेपछि प्रहरीले तालिम प्राप्त कुकुर झिकाएर अनुसन्धानलाई तिब्रता दिएको छ ।

शनिबार अपरान्ह साँढे ४ बजे रौतहट जिल्लाको गुजरा नगरपालिका-२ निवासी ३१ वर्षीय विष्णु घिसिङको शव मूर्तिया जंगलमा फेला परेको थियो । बागमती सिचाईं आयोजनाको गढैया शाखा नहरभन्दा केही पश्चिम मुक्तेश्वर सामुदायिक वन क्षेत्रमा माथिल्लो भागमा भित्री गञ्जी मात्रै लगाएको र शरिरका अन्य भाग पूरै नांगो अवस्थामा घिसिङको शव फेला परेको हो ।

वन क्षेत्रमा दाउरा काट्न जानेले घाँटी रेटिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक घिसिङ रौतहटबाट बरहथवा नगरपालिका-९, मूर्तिया निवासी दिदी-भिनाजु पर्ने आफन्तकोमा आउनुभएको थियो । शनिबार दिउँसो जंगलमा दिदीसँगै दाउरा काट्न जानुभएका घिसिङको घाँटी रेटिएको अवस्थामा शव फेला परेको हो ।

घटनाबारे गम्भिर ढंगले अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक उमाशंकर यादवले जानकारी दिनुभयो । शनिबार राती ७ बजेदेखि झण्डै दुईघण्टा कुकुरलाई जंगल क्षेत्रमा छाडिएको थियो । राती जंगलमा कुकुर दौंडिदा प्रहरीहरु पनि पछिपछि दौडिनु पर्दा सुरक्षाकर्मीहरुले निकै हैरानी ब्यहोर्नु परेको थियो ।

कुकुरले गरेको शंका तथा प्रहरी अधिकारीहरुको समेत शंकाका आधारमा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाईएको प्रहरीले जनाएको छ । स्रोतका अनुसार प्रहरीले मृतकका भिनाजु नाता पर्नेसहित तीनजनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको हो । नांगो अवस्थामा शव फेला पर्नुले घटनालाई अन्य विविध पक्षबाट समेत अनुसन्धान अगाडी बढाईएको प्रहरी स्रोतले जनाएको छ ।

शवको प्रकृति हेर्दा ती युवकको शनिबार दिउँसो नै दाउरा काट्ने दवियाले घाँटी रेटेर हत्या गरिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । शवलाई पोष्टमार्टमका लागि सदुरमुकाम मलंगवास्थित प्रादेशिक अस्पताल मलंगवा पठाईएको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?