काठमाडौं । नेपाल भलिबल संघको आयोजनामा आठौँ प्रधानमन्त्री कप÷एनभिए पुरुष तथा महिला भलिबल लिग जेठमा हुने भएको छ । जेठ १९ गतेदेखि सुरु हुने प्रतियोगितामा पुरुषमा आठ र महिलामा ६ गरी १४ टिमको सहभागिता रहने भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । गत चैतमा काठमाडौंमा भएको आठौँ आरबिबी÷एनभिए पुरुष तथा महिला भलिबल प्रतियोगितालाई आधार मानी टिम छनोट गरिएको हो । पुरुषमा शीर्ष आठ तथा महिलामा शीर्ष ६ स्थान हात पार्ने टोली लिगमा सहभागी हुनेछन् ।
पुरुषमा टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब, नेपाल एपिएफ क्लब, नेपाल आर्मी, नेपाल प्रहरी क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बुढानीलकण्ठ भलिबल क्लबको सहभागिता रहनेछ । महिलामा प्रहरी, एपिएफ, न्यु डायमण्ड, आर्मी, एभरेष्ट भलिबल क्लब, बुटवल र कर्णाली प्रदेशले खेल्नेछन् । पुरुषमा टिपटप र महिलामा प्रहरी डिफेन्डिङ च्याम्पियन हुन् । पुरुष/महिलामा सहभागी टिमले राउण्ड रोविन लिगमा एकआपसमा खेल्नेछन् । शीर्ष दुई स्थानमा रहने टोली पुनः उपाधिका लागि भिड्नेछन् ।
पुरुष/महिला दुवैमा शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः आठ लाख, चार लाख र दुई लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार नगद पुरस्कार दिइनेछ । विधागत उत्कृष्टतर्फ लिब्रो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकलाई जनही २० हजार नगदसहित पुरस्कृत गरिनेछ । उपत्यकाबाहिरका टिमलाई एक लाख २० हजार रुपैयाँ उपलब्ध गराइनेछ । उपत्यकाका टिमको हकमा खाजा खर्चबापत प्रत्येक दिन प्रत्येक खेलाडीलाई जनही २५० रुपैयाँ प्रदान गरिनेछ ।
प्रतियोगिताको कुल पुरस्कार राशि ३१ लाख ४० हजार रुपैयाँ रहेको छ । २०६९ सालमा लिगको पहिलो संस्करण हुँदा कुल पुरस्कार राशि करिब दुई लाख रुपैयाँ रहेकोमा हाल आएर उल्लेखनीय वृद्धि गरिएको अध्यक्ष चन्दले बताउनुभयो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आठ दिनसम्म चल्ने प्रतियोगिता सञ्चालन गर्न करिब ७५ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । त्यसमा राष्ट्रिय खेलकुद परिषद्ले ३५ लाख रुपैयाँ उपलब्ध गराउनेछ । बाँकी रकम प्रायोजन, बोर्डकास्टिङ, टिकटिङ, शुभचिन्तकलगायतबाट प्राप्त हुने आयोजकले जनाएको छ । आयोजक भलिबल संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक युवराज श्रेष्ठले विगतका कमीकमजोरीलाई सुधार्दै प्रतियोगिता अझ व्यवस्थित ढंगले आयोजना गर्ने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच