सांगीतिक साँझमा गुञ्जिन् गीता खत्री

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । काठमाडौंमा एक विशेष समारोहबीच ‘गीतकार गीता खत्री सांगीतिक साँझ’ सम्पन्न भएको छ । जमलस्थित राष्ट्रिय नाचघरमा गीतकार संघ नेपालको आयोजनामा भएको कार्यक्रममा स्रष्टा खत्रीका एक दर्शनभन्दा बढी गीति सिर्जनाहरू गुञ्जिएका थिए । माटोको माया, देश प्रेम, बुबाआमा तथा प्रकृतिप्रेम, जीवन साथीसँगको आत्मीयता, भरोसा, परदेशको कथा, घरदेश रित्तिँदै गरेको चिन्ता जस्ता विविध संवेदनाले ओतप्रोत उहाँका १६ वटा सिर्जनाहरूले माहोललाई भावुक बनाएको थियो ।

खत्रीका बुवाआमा कमलबहादुर खड्का र आमा मखमली खड्काको शुभाशिष र गणेश स्तुति भजन थालनी गरिएको कार्यक्रममा खत्रीका ‘पिरतीको फूल’, ‘किन आज उदास’, ‘भरोसा छैन जीवनको’, ‘राती फुल्ने फूल’, ‘समय बगिरहेछ’ सिर्जनाहरू प्रस्तुत भएका थिए ।

कार्यक्रमको वाद्यवादनमा बरिष्ठ संगीतकार राजु सिंह (संगीत संयोजक), दिनेश राज रेग्मी-किबोर्ड साथै सहायक संगीत संयोजक, रविन कार्की ढली-सोलो भाइलिन, सुरज प्रधान-लिड गीतार, कुशल थापा-बेस गीतार, सञ्जीव मैनाली- बाँसुरी, सुधीर चौधरी-तबला र मादल, जेपी जोशी-ढोलक, भुपेन्द्र रसाइली- अक्टोप्याडको भूमिकामा रहनुभएको थियो ।

सांगीतिक साँझमा प्रस्तुत भएका सबै गीतहरू स्वरूपराज आचार्य, नरेन्द्र प्यासी, पविता परियार, हरि लम्साल, सिर्जना लामा, सपनाश्री, दीपक लिम्बू जस्ता स्थापित गायकहरूको स्वरमा रेकर्ड भइसकेका छन् ।

‘भरोसा छैन जीवन’को बोलको गीत खत्रीकै स्वरमा रेकर्ड भएको छ भने ‘मखमली मखमली’ बोलको गीत गीताका बुबाको स्वरमा रेकर्ड भएको छ ।

कार्यक्रममा ‘गीतकार संघ नेपाल’का अध्यक्ष वसन्त वित्यासी थापाले गीता खत्रीलाई ‘डायस्पोरा गीतकार सम्मान-२०७८’ बाट १५ हजार रुपैयाँ नगदसहित दोसल्ला र सम्मानपत्रले सम्मान गर्नुभएको थियो । साथै उहाँको जीवन साथी राम खत्रीलाई पनि खादा मालाले सम्मान गरिएको थियो । चलचित्र निर्देशक तथा साहित्यकार राजेन्द्र शलभको डिजाइनमा भएको कार्यक्रममा संगीत तथा साहित्य क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *